सहरी क्षेत्रमा बढ्दो सवारी चाप व्यवस्थापन अहिले स्थानीय तहका लागि चुनौती बन्दै गएको छ । सडकको क्षमता सीमित हुने तर सवारीसाधनको सङ्ख्या निरन्तर बढ्ने अवस्थाले मुख्य चोक तथा बजार क्षेत्रमा जाम, अव्यवस्थित आवागमन र दुर्घटनाको जोखिम बढाइरहेको छ । यस्तो अवस्थामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित न्युरोड चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याइनु यसै आवश्यकताको एउटा सकारात्मक प्रयास हो । नेपालगन्ज–कोहलपुर सडकखण्डको महत्वपूर्ण चोकका रूपमा रहेको न्युरोडमा पछिल्लो समय सवारी चाप बढ्दै गएको थियो । चारैतर्फबाट आउने सवारीसाधन एकैपटक चोकमा प्रवेश गर्दा आवागमन प्रभावित हुने र ट्राफिक प्रहरीलाई प्रत्यक्ष रूपमा सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था थियो । विशेषगरी बिहान र साँझको समयमा देखिने सवारी चापले यात्रुलाई अनावश्यक समय खर्चिनुपर्ने अवस्था सिर्जना गरेको थियो । यस्तो अवस्थामा ट्राफिक लाइट सञ्चालनले सवारीसाधनलाई निश्चित संकेतका आधारमा क्रमबद्ध रूपमा अघि बढाउने आधार तयार गरेको छ । असोज १ गतेदेखि प्रारम्भिक चरणमा बढी सवारी चाप हुने समयमा ट्राफिक लाइट सञ्चालन गरिएको छ ।
प्रारम्भिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा सञ्चालन समय निर्धारण र व्यवस्थापनमा सुधार गर्दै लैजानु आवश्यक हुन्छ । ट्राफिक लाइट जडान गर्नु मात्रै पर्याप्त हुँदैन, त्यसको नियमित सञ्चालन, प्राविधिक मर्मतसम्भार र प्रभावकारी अनुगमन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । ट्राफिक लाइट प्रभावकारी हुन चालक, पैदलयात्री, ट्राफिक प्रहरी र नगर प्रहरी सबैको जिम्मेवारी महत्वपूर्ण हुन्छ । रातो बत्तीमा सवारी रोक्ने, हरियो बत्तीमा मात्र अघि बढ्ने, पहेँलो बत्तीमा सावधानी अपनाउने तथा तोकिएको लेनको प्रयोग गर्ने संस्कार विकास गर्न सकिएमा मात्र प्रविधिको वास्तविक लाभ लिन सकिन्छ । कतिपय स्थानमा ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति नै व्यवस्थापनको मुख्य चुनौती बन्ने गरेको छ । त्यसैले ट्राफिक लाइटसँगै नागरिकमा ट्राफिक अनुशासनको संस्कृति विकास गर्न निरन्तर सचेतना आवश्यक छ । यसका साथै न्युरोड चोकमा लेन व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि ध्यान दिनुपर्छ । ट्राफिक लाइट र लेन व्यवस्थापन एकअर्काका पूरक हुन् । बत्तीको संकेत पालना गरे पनि सवारीसाधनले लेन मिच्ने, चोकमै ओभरटेक गर्ने वा पैदलयात्रीले जथाभावी सडक पार गर्ने हो भने अपेक्षित सुधार हासिल हुन सक्दैन । त्यसैले सडक संकेत, जेब्राक्रसिङ, लेन तथा पार्किङ व्यवस्थापनलाई पनि समान प्राथमिकतामा राखिनुपर्छ । कोहलपुरमा ट्राफिक लाइट सञ्चालनलाई एउटा चोकको व्यवस्थापनमा सीमित प्रयासका रूपमा मात्र हेर्नु हुँदैन ।
यो बढ्दो सहरीकरण र सवारी चाप व्यवस्थापनका लागि प्रविधिमा आधारित दीर्घकालीन सोचको सुरुवात बन्न सक्छ । नगरपालिकाले आवश्यकताअनुसार अन्य व्यस्त चोकको अध्ययन गरी क्रमशः आधुनिक ट्राफिक व्यवस्थापन प्रणाली विस्तार गर्न सक्छ । त्यसका लागि सडकको अवस्था, सवारी चाप, दुर्घटनाको जोखिम र पैदलयात्रीको आवागमनसमेत समेटेर वैज्ञानिक अध्ययन आवश्यक हुन्छ । त्यसैगरी ट्राफिक लाइट सञ्चालनको प्रभाव नियमित रूपमा मूल्यांकन गर्नुपर्छ । कुन समयमा बढी प्रभावकारी भयो, कहाँ सवारी थुप्रियो, पैदलयात्रीका लागि के समस्या देखियो र प्राविधिक रूपमा कहाँ सुधार आवश्यक छ भन्ने विषयमा तथ्यमा आधारित समीक्षा गरिनुपर्छ । प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई बेवास्ता गर्नुको सट्टा समयमै सुधार गर्दै लगेमा प्रणालीप्रति नागरिकको विश्वास पनि बढ्नेछ । सडक विस्तार मात्रै गरेर सहरी ट्राफिक समस्या समाधान हुँदैन । उपलब्ध सडकको वैज्ञानिक प्रयोग, अनुशासित सवारी सञ्चालन, पैदलयात्रीमैत्री संरचना, प्रभावकारी सार्वजनिक यातायात र प्रविधिमा आधारित ट्राफिक व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्छ । कोहलपुरको न्युरोडमा सुरु भएको ट्राफिक लाइट त्यस दिशातर्फको एउटा महत्वपूर्ण अभ्यास हो । यसको सफलता बत्ती जडानमा होइन, त्यसको प्रभावकारी सञ्चालन, नियमको पालना र निरन्तर सुधारमा निर्भर हुनेछ । त्यसैले प्रविधिसँगै अनुशासन र जिम्मेवारीलाई जोडेर अघि बढ्न सके कोहलपुरको बढ्दो सवारी चाप व्यवस्थापनमा दीर्घकालीन सुधारको आधार बन्न सक्छ ।









प्रतिक्रिया दिनुहोस्