माघ ३, २०७४ दाङ/ पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग गर्दै बुधबार घोराहीमा प्रदर्शन भएको छ । प्रादेशिक राजधानी सरोकार समितिको आयोजनामा भएको प्रदर्शनमा उद्योगी, व्यवसायी, राजनीतिक दल र स्थानीय नागरिकको सहभागिता थियो ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको कार्यालयबाट शुरु भएको र्याली बजार परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सचिव शंकर डाँगीले दाङ राजधानी बन्न योग्य भएकाले अन्यत्र विकल्प खोज्न नहुने बताए। माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले दाङ राजधानी घोषणा नभएसम्म आन्दोलन नरोक्ने बताए। एमाले जिल्ला सदस्य विवेक श्रेष्ठले प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थान दाङ भएको धारणा व्यक्त गरे।
कार्यक्रममा सरोकार समितिका संयोजक एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङमा राजधानीका लागि आबश्यक भवन, पूर्वाधार निर्माणको जग्गा र शान्ति सुरक्षाको सहजता भएकाले राजधानी घोषणा गर्नुपर्ने बताए। संघका पूर्व अध्यक्ष मधुसुदन बैद्य, सरोकार समितिका सदस्य सचिव सविन प्रियाशन र साहित्यकार लोकराज पराजुलीले पनि दाङ राजधानीका लागि उपयुक्त स्थान भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
अनिश्चितकालिन आमहड्तालका कारण जनजीवन कष्टकर भएको छ। यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै ठप्प छन्। जिल्ला सदरमुकाम घोराहीका साथै तुलसीपुर, लमही, गढवा, भालुबाङ लगाएतका मुख्य बजार बन्द छन्। सडकमा टायर बालेर अबरोध गरिएको छ। ठाउँठाउँमा प्रदर्शन भैरहेका छन्। पूर्व पश्चिम राजमार्ग पनि पूर्णरुपमा ठप्प भएको छ। यातयात सञ्चालन हुन नसक्दा लामो दूरीमा यात्रा गर्नेहरु सडकमै अलपत्र परेका छन्।
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्