डा. डक्टप्रसाद धिताल
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमण केवल दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक भेटघाट थिएन । यो भ्रमण नेपालको नयाँ राजनीतिक नेतृत्वको कूटनीतिक क्षमता, राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धता, छिमेकीसँगको सम्बन्ध सञ्चालन गर्ने दृष्टिकोण र नेपालको राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने सामथ्र्यको परीक्षण पनि थियो । नेपाली जनताले यस भ्रमणलाई सामान्य कूटनीतिक कार्यक्रमका रूपमा मात्र हेरेका थिएनन् । विशेषगरी लामो समयदेखि भारतसँग जोडिएका राजनीतिक, आर्थिक, व्यापारिक, सीमा, पारवहन, जलस्रोत र असमान सन्धिसम्बन्धी समस्याहरूको समाधानतर्फ नयाँ सरकारले कस्तो पहल गर्छ भन्ने ठूलो अपेक्षा थियो । नयाँ राजनीतिक शक्तिको नेतृत्वमा बनेको सरकार, युवा प्रधानमन्त्री, परिवर्तनको आकांक्षा बोकेको जनमत र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकता दिने सार्वजनिक प्रतिबद्धताले बालेनको भारत भ्रमणलाई थप महत्वपूर्ण बनाएको थियो । नेपाली नागरिकको अपेक्षा थियो, अब नेपालले भारतसँगको सम्बन्धमा केवल सद्भाव, सहयोग र आश्वासनको भाषा मात्र बोल्ने छैन, आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट अडान राख्नेछ । विगतका सरकारले उठाउँदै आएका तर समाधान हुन नसकेका विषयमा राजनीतिक तहबाटै परिणाममुखी संवाद गर्नेछ । प्रधानमन्त्री बालेनले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म गरेको दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता, राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट, विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर र ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा पारवहनका क्षेत्रमा नयाँ सहकार्यका आधार तयार भएका छन् । भारतले नेपालको पुनर्निर्माण तथा विकासका लागि १५ हजार करोड भारतीय रूपैयाँँ बराबरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको विषय पनि यस भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा सार्वजनिक भएको छ । तर यति धेरै कार्यक्रम, घोषणा र समझदारीपछि मूल प्रश्न भने उही छ, के नेपाली जनताले चाहेको परिणाम प्राप्त भयो त ? भ्रमणलाई सफल मान्ने कि अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकेको औपचारिक कूटनीतिक यात्राका रूपमा मूल्यांकन गर्ने ? यो प्रश्नको उत्तर भावनात्मक प्रशंसा वा पूर्वाग्रही आलोचनाबाट होइन, उपलब्धि र कमजोरी दुवैको वस्तुनिष्ठ विश्लेषणबाट खोजिनुपर्छ ।
आर्थिक सहयोग ः ठूलो घोषणा, तर कार्यान्वयनको वास्तविक परीक्षा बाँकी
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा सार्वजनिक भएको १५ हजार करोड भारतीय रूपैयाँँ बराबरको आर्थिक सहयोग प्याकेज निश्चय पनि महत्वपूर्ण छ । भारतीय पक्षका अनुसार यसमा विपद्पछिको पुनर्निर्माण र पूर्वाधारका लागि ३ हजार ५०० करोड भारतीय रूपैयाँँ अनुदान तथा ऊर्जा परियोजनाका लागि ११ हजार ५०० करोड भारतीय रूपैयाँँ बराबरको ऋण सुविधा समावेश छ । नेपाली रूपैयाँँमा यसको कुल मूल्य करिब २४ हजार करोड अर्थात् २४० अर्ब रूपैयाँँ हुन्छ । पहिलो दृष्टिमा यो निकै ठूलो आर्थिक उपलब्धि हो । विशेषगरी सन् २०२६ अगस्टमा आएको बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिक, क्षतिग्रस्त पूर्वाधार, अवरुद्ध जलविद्युत् आयोजना र पुनर्निर्माणको आवश्यकतालाई ध्यानमा राख्दा यस्तो सहयोगले नेपाललाई राहत दिन सक्छ । विपद्पछिको पुनर्निर्माणमा छिमेकी मुलुकको सहयोग आवश्यक हुन्छ । भारतले तत्काल मानवीय तथा प्राविधिक सहयोग उपलब्ध गराएको विषयलाई पनि सकारात्मक रूपमा लिनुपर्छ । तर आर्थिक सहयोगको आकार हेरेर मात्र त्यसलाई राष्ट्रिय उपलब्धिको अन्तिम मापन मान्न मिल्दैन । यहाँ एउटा महत्वपूर्ण भिन्नता बुझ्न आवश्यक छ, अनुदान र ऋण एउटै कुरा होइनन् । अनुदान फिर्ता गर्नुपर्दैन, तर ऋण निश्चित सर्त, ब्याजदर र भुक्तानी व्यवस्थासहित प्राप्त हुन्छ । त्यसैले २४० अर्ब रूपैयाँँ बराबरको सहयोग आएको भन्दै सम्पूर्ण रकम नेपालले निःशर्त प्राप्त गरेको अर्थ लगाउनु गलत हुन्छ । नेपालले यस सहयोगलाई कसरी प्रयोग गर्छ, ऋणको सर्त कति अनुकूल हुन्छ, परियोजनाको छनोट कसरी हुन्छ, निर्माणमा नेपाली जनशक्ति र निजी क्षेत्रको सहभागिता कति सुनिश्चित हुन्छ तथा यसबाट नेपालको दीर्घकालीन आर्थिक क्षमता कति बढ्छ भन्ने विषयले यसको वास्तविक महत्व निर्धारण गर्नेछ ।
नेपाललाई अहिले सहयोगको घोषणा मात्र होइन, उत्पादनशील अर्थतन्त्र निर्माण गर्ने अवसर चाहिएको छ । जलविद्युत् उत्पादन, कृषि आधुनिकीकरण, औद्योगिक विकास, पर्यटन, रोजगारी र निर्यात प्रवद्र्धनमा प्रत्यक्ष योगदान पु¥याउने गरी सहयोग परिचालन गर्न सकिएमा यो भ्रमणको आर्थिक पक्ष वास्तविक उपलब्धिमा परिणत हुनेछ । अन्यथा ठूलो रकमको घोषणा कूटनीतिक उपलब्धिको समाचारमा सीमित हुन सक्छ । त्यसैले बालेन सरकारले यो प्याकेजलाई राष्ट्रिय विकासको रणनीतिसँग जोडेर कार्यान्वयन गर्न सक्नुपर्छ ।
ऊर्जा र जलस्रोत ः नेपालको समृद्धिको सम्भावना
नेपाल र भारतबीचको सम्बन्धमा जलस्रोत तथा ऊर्जा सहकार्य अत्यन्त महत्वपूर्ण विषय हो । नेपालको आर्थिक समृद्धिको एउटा बलियो आधार जलविद्युत् हो । तर विद्युत् उत्पादन क्षमता बढाउँदैमा मात्र नेपाल समृद्ध हुँदैन । उत्पादित विद्युत्को बजार, उचित मूल्य, प्रसारण पूर्वाधार र दीर्घकालीन व्यापार सम्झौता पनि उत्तिकै आवश्यक हुन्छ । बालेनको भारत भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको विषय उल्लेखनीय छ । दुई देशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण तथा ऊर्जा व्यापारलाई थप प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको छ । इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली प्रसारण लाइनसम्बन्धी सहकार्य यसका उदाहरण हुन् । यसले नेपालको ऊर्जा क्षेत्रमा लगानी र बजार विस्तारको सम्भावना बढाउन सक्छ । तर यहाँ पनि केही आधारभूत प्रश्नहरू छन् । जलविद्युत् आयोजनाबाट नेपालले कति लाभ पाउँछ ? लगानी, स्वामित्व, रोयल्टी, विद्युत् खरिद मूल्य र स्थानीय जनताको हित कसरी सुनिश्चित हुन्छ ? नेपाली जलस्रोतको उपयोगबाट दुवै देशलाई लाभ पुग्ने व्यवस्था कति न्यायपूर्ण हुन्छ ? नेपालले जलस्रोतलाई केवल विद्युत् बिक्री गर्ने वस्तुका रूपमा होइन, औद्योगिक विकास र आर्थिक रूपान्तरणको आधारका रूपमा हेर्नुपर्छ । भारतसँगको ऊर्जा व्यापार नेपालका लागि अवसर हो, तर त्यसले नेपालको आन्तरिक ऊर्जा आवश्यकता, उद्योग विस्तार र ऊर्जा सुरक्षालाई कमजोर बनाउनु हुँदैन । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, सप्तकोशी र सुनकोशीजस्ता ठूला परियोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने तथा कार्यान्वयन अघि बढाउने विषयमा पनि दुई पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् । तर यी परियोजनाहरू वर्षौँदेखि चर्चामा रहे पनि अपेक्षित गति लिन सकेका छैनन् । यसपटक पनि प्रतिबद्धता दोहोरिनु मात्र पर्याप्त छैन । निश्चित समयसीमा, जिम्मेवार निकाय र परिणामको अनुगमन प्रणाली आवश्यक छ । जलस्रोत नेपालको प्राकृतिक सम्पदा हो । यसको उपयोगमा राष्ट्रिय हित, समान लाभ र दीर्घकालीन आर्थिक स्वाधीनतालाई केन्द्रमा राख्न सकिएमा मात्रै यसले समृद्धिको आधार तयार गर्नेछ ।
सीमा विवाद र राष्ट्रिय स्वाभिमान ः भ्रमणको सबैभन्दा संवेदनशील पक्ष
नेपाल–भारत सम्बन्धको सबैभन्दा जटिल र संवेदनशील विषय सीमा विवाद हो । कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका क्षेत्रमा रहेका सीमा समस्याले नेपाली जनताको राष्ट्रिय भावना र सार्वभौमिकताको प्रश्नलाई प्रत्यक्ष रूपमा छोएका छन् । यी विषय केवल नक्सा वा भूगोलका विवाद होइनन्, नेपालको ऐतिहासिक अस्तित्व, राष्ट्रिय पहिचान र भौगोलिक अखण्डतासँग जोडिएका विषय हुन् । नेपालले आफ्नो संविधानमा समेटेको अद्यावधिक नक्सा र त्यससँग सम्बन्धित सीमा समस्याबारे भारतसँग स्पष्ट राजनीतिक संवाद हुनुपर्छ भन्ने नेपाली जनताको अपेक्षा थियो । प्रधानमन्त्री बालेनको भारत भ्रमणमा पनि यो विषयले प्राथमिकता पाउने आशा गरिएको थियो । तर भ्रमणपछि सार्वजनिक भएका विवरणले सीमा विवादमा कुनै ठोस समाधान वा निर्णायक राजनीतिक सहमति हुन नसकेको देखाउँछन् । नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले समेत सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनजस्ता महत्वपूर्ण विषयमा अपेक्षित छलफल नभएको टिप्पणी गरेका छन् । यो नै भ्रमणको सबैभन्दा ठूलो कमजोरी हो । भारतसँग सम्बन्ध बिगारेर होइन, सम्बन्धलाई समानता र पारस्परिक सम्मानको आधारमा बलियो बनाएर मात्रै नेपालको राष्ट्रिय हित सुरक्षित गर्न सकिन्छ । छिमेकीसँग मित्रता कायम राख्नु नेपालको आवश्यकता हो, तर मित्रताको नाममा राष्ट्रिय मुद्दालाई ओझेलमा पार्नु कूटनीतिक परिपक्वता होइन । बालेन सरकारका लागि यहाँ एउटा महत्वपूर्ण सन्देश छ, राष्ट्रिय स्वाभिमान भाषणमा मात्र होइन, वार्ताको टेबलमा पनि देखिनुपर्छ । सीमा समस्यालाई उठाउनु भारतविरोधी हुनु होइन । आफ्नो भूभाग, सार्वभौमिकता र राष्ट्रिय हितको पक्षमा बोल्नु कुनै पनि सार्वभौम राष्ट्रको स्वाभाविक दायित्व हो । नेपालले भारतसँग संवाद गर्दा आक्रामकता होइन, तथ्य, प्रमाण, ऐतिहासिक दस्ताबेज र अन्तर्राष्ट्रिय कानुनमा आधारित दृढता प्रदर्शन गर्नुपर्छ । सीमा विवाद समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र, नियमित वार्ता र समयबद्ध कार्ययोजना आवश्यक छ । प्रधानमन्त्री बालेनले यस विषयमा स्पष्ट पहल गर्न नसक्नुले नेपाली जनताको एउटा महत्वपूर्ण अपेक्षा अधुरै रहेको छ ।
सन् १९५० को सन्धि र ईपीजी प्रतिवेदन ः पुरानो समस्याको नयाँ समाधान कहिले ?
नेपाल–भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि लामो समयदेखि पुनरावलोकनको बहसमा छ । बदलिएको विश्व परिस्थिति, नेपालको राजनीतिक रूपान्तरण, आर्थिक आवश्यकता र दुई देशबीचको सम्बन्धको नयाँ स्वरूपअनुसार उक्त सन्धिलाई पुनरावलोकन गर्नुपर्ने आवाज उठ्दै आएको छ । त्यस्तै, दुवै देशका विज्ञहरूको सहभागितामा तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन पनि लामो समयदेखि चर्चामा छ । प्रतिवेदन तयार भएको वर्षौं बितिसक्दा पनि त्यसको कार्यान्वयन र औपचारिक ग्रहणको विषय टुङ्गिन सकेको छैन । नेपाली जनताले बालेनको भ्रमणबाट यी विषयमा कम्तीमा स्पष्ट राजनीतिक संवादको सुरुवात हुने अपेक्षा गरेका थिए । पुरानो सन्धि समयसापेक्ष बनाउने, दुई देशबीचका असमानता हटाउने र आपसी सम्बन्धलाई आधुनिक आवश्यकताअनुसार पुनर्परिभाषित गर्ने विषयमा प्रधानमन्त्री तहमा छलफल हुनु आवश्यक थियो । तर उपलब्ध विवरणमा यी विषयमा ठोस प्रगति देखिँदैन । दुई देशबीच विद्यमान सम्झौता र सम्बन्धित विषयहरूको पुनरावलोकन गर्ने सामान्य प्रतिबद्धता व्यक्त भए पनि नेपाली पक्षले अपेक्षा गरेको विशिष्ट राजनीतिक समाधान भने प्राप्त भएको देखिएन । यो कमजोरीलाई सामान्य प्राविधिक विषयका रूपमा लिन मिल्दैन । नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ पुस्ताको आवश्यकता, नयाँ आर्थिक सम्भावना र समान सार्वभौमिकताको सिद्धान्तमा आधारित बनाउन पुराना सन्धि तथा सम्झौताको पुनरावलोकन आवश्यक छ । बालेन सरकारले यस विषयलाई भ्रमणको एउटा छुटेको एजेन्डाका रूपमा स्वीकार गरेर आगामी दिनमा उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।
पारवहन र हवाई सम्पर्क ः सकारात्मक तर अपूर्ण उपलब्धि
नेपाल भूपरिवेष्ठित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि पारवहन सुविधा अत्यन्त महत्वपूर्र्ण छ । नेपालको आयात–निर्यात, औद्योगिक विकास र आर्थिक प्रतिस्पर्धात्मकता भारतसँगको पारवहन सम्बन्धसँग प्रत्यक्ष जोडिएको छ । भ्रमणका क्रममा भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह हुँदै नेपालको पारवहन व्यापारका लागि नयाँ सम्भावना खोल्ने सहमति भएको छ । यसले नेपाललाई समुद्री व्यापारका लागि थप विकल्प उपलब्ध गराउन सक्छ । त्यस्तै, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा पनि सहमति भएको छ । यसका लागि प्राविधिक परामर्शमार्फत कार्यान्वयनको प्रक्रिया अघि बढाइने उल्लेख छ ।
यी सहमति विशेषगरी पश्चिम नेपालको आर्थिक विकासका दृष्टिले महत्वपूर्ण हुन सक्छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन, लुम्बिनी पर्यटनको प्रवद्र्धन, नेपालगन्ज र पश्चिम नेपालका व्यापारिक गतिविधिको विस्तार तथा भारतसँगको हवाई सम्पर्क सहज बनाउन यसले सहयोग पु¥याउन सक्छ । नेपालगन्ज, भैरहवा, धनगढी, महेन्द्रनगर र सुदूरपश्चिमका अन्य क्षेत्रका नागरिकले लामो समयदेखि सहज हवाई सम्पर्कको अपेक्षा गर्दै आएका छन् । पश्चिम नेपालको पर्यटन, स्वास्थ्य सेवा, व्यापार र शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप हवाई मार्ग आवश्यक छ । तर हवाई मार्ग दुईतर्फी बनाउने सहमति हुनु र त्यसको व्यावहारिक सञ्चालन हुनु फरक कुरा हुन् । प्राविधिक प्रक्रिया कति समयमा सम्पन्न हुन्छ ? उडानको सङ्ख्या कति हुन्छ ? यात्रु तथा व्यापारिक सेवामा यसको प्रभाव कस्तो पर्छ ? यी प्रश्नको उत्तर कार्यान्वयनपछि मात्रै प्राप्त हुनेछ । त्यसैले यसलाई सकारात्मक सुरुवात मान्नुपर्छ, अन्तिम उपलब्धि होइन ।
शिक्षा, स्वास्थ्य, प्रविधि र प्रशासन ः भविष्यका लागि महत्वपूर्र्ण सहकार्य
भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, प्रशासनिक क्षमता अभिवृद्धि, आयुर्वेद, अन्तरिक्ष प्रविधि, स्वास्थ्य तथा औषधि, सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासलगायतका क्षेत्रमा आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन् । यी सम्झौताहरू तत्काल राजनीतिक चर्चामा धेरै आकर्षक नदेखिए पनि दीर्घकालीन दृष्टिले महत्वपूर्ण छन् । नेपालमा उच्चस्तरीय प्राविधिक जनशक्तिको अभाव छ । विश्वविद्यालयहरूमा अनुसन्धानको संस्कृति कमजोर छ । सरकारी सेवामा दक्षता, पारदर्शिता र प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा, अनुसन्धान र औषधि उत्पादनको क्षमता वृद्धि गर्नुपर्ने अवस्था छ ।
भारतमा आईआईटीको बाह्य क्याम्पस स्थापना गर्ने सहमतिले नेपालको उच्च प्राविधिक शिक्षामा नयाँ सम्भावना खोल्न सक्छ । त्यसैगरी, स्वास्थ्य, औषधि र चिकित्सा अनुसन्धानमा सहकार्य विस्तार भएमा नेपाली नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ । तर यी सम्झौताको वास्तविक सफलता कागजमा हस्ताक्षर भएको आधारमा मापन गर्न मिल्दैन । नेपाली विद्यार्थीले कति अवसर पाउँछन् ? क्याम्पस कहिले स्थापना हुन्छ ? स्वास्थ्य क्षेत्रमा कुन–कुन सेवा विस्तार हुन्छन् ? अनुसन्धानमा नेपाली संस्थाको सहभागिता कति हुन्छ ? सरकारी कर्मचारीको क्षमता विकासबाट नागरिकले कस्तो सेवा पाउँछन् ? यी प्रश्नको जवाफ कार्यान्वयनले दिनुपर्छ । नेपालले सहयोग लिने मात्र होइन, आफ्नो ज्ञान, प्रविधि, जनशक्ति र अनुसन्धान क्षमतालाई पनि विकसित गर्दै लैजानुपर्छ । भारतसँगको सहकार्यलाई यही दिशामा उपयोग गर्न सकेमा यस भ्रमणको एउटा महत्वपूर्ण उपलब्धि स्थापित हुनेछ ।
कूटनीतिमा प्रतीकात्मकता र वास्तविक उपलब्धिबीचको अन्तर
प्रधानमन्त्री बालेनको भारत भ्रमणको अर्को महत्वपूर्र्ण पक्ष यसको राजनीतिक र कूटनीतिक प्रतीकात्मकता हो । भारतको औपचारिक राजकीय भ्रमण, राष्ट्रपति भवनमा सम्मान, प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र दुई देशका नेतृत्वबीच भएको संवादले नेपालको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक मान्यता र सम्बन्ध विस्तारको अवसर दिएको छ । भारतले नेपालको नयाँ नेतृत्वसँग सम्बन्धलाई थप सुदृढ बनाउने इच्छा देखाएको छ । प्रधानमन्त्री मोदीले बालेनको नेतृत्व र नेपाली युवापुस्ताको आकांक्षालाई सकारात्मक रूपमा उल्लेख गरेका छन् । यो विषयलाई पनि कम महत्वको ठान्नु हुँदैन । कूटनीतिमा व्यक्तित्व, विश्वास, सम्बन्ध र संवादको आफ्नै महत्व हुन्छ । प्रधानमन्त्रीका रूपमा बालेनले पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरु गर्नुले नेपालको छिमेकी प्राथमिकता र क्षेत्रीय सम्बन्धप्रतिको प्रतिबद्धता देखाउँछ । तर कूटनीति केवल स्वागत, सम्मान, तस्बिर र संयुक्त वक्तव्यको विषय होइन । यसको वास्तविक मूल्य नागरिकको जीवनमा आउने परिवर्तन, राष्ट्रिय हितको संरक्षण र दीर्घकालीन समस्या समाधानमा देखिनुपर्छ । नेपाली जनताले प्रधानमन्त्री बालेनलाई केवल लोकप्रिय व्यक्तित्वका रूपमा होइन, परिणाम दिन सक्ने नेतृत्वका रूपमा हेर्न चाहेका छन् । उनीहरूको अपेक्षा थियो, पुरानो राजनीतिक शैलीभन्दा फरक, स्पष्ट दृष्टिकोण भएको र राष्ट्रिय स्वार्थमा सम्झौता नगर्ने नेतृत्व । त्यसैले भ्रमणको मूल्यांकन गर्दा प्रधानमन्त्रीले कति सम्मान पाए भन्नेभन्दा नेपालले के प्राप्त ग¥यो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
भारतको रणनीतिक स्वार्थ र नेपालको राष्ट्रिय हित
नेपाल–भारत सम्बन्धलाई बुझ्दा दुवै देशका आ–आफ्ना राष्ट्रिय स्वार्थ र रणनीतिक प्राथमिकता छन् भन्ने तथ्य बिर्सनु हुँदैन । भारतका लागि नेपाल भौगोलिक, सांस्कृतिक, आर्थिक र सुरक्षा दृष्टिले महत्वपूर्ण छ । खुला सीमा, व्यापार, जलस्रोत, ऊर्जा, क्षेत्रीय सुरक्षा र चीनसँग जोडिएको भूराजनीतिक अवस्थाले नेपालको रणनीतिक महत्व बढाएको छ । नेपालका लागि भारत ठूलो व्यापारिक साझेदार, पारवहनको मुख्य मार्ग, ऊर्जा बजार र निकटतम छिमेकी हो । त्यसैले दुई देशबीचको सम्बन्ध एकअर्काको आवश्यकता र परस्पर निर्भरतामा आधारित छ । तर परस्पर निर्भरता समान शक्ति र समान आर्थिक क्षमतामा आधारित छैन । भारत आर्थिक, सैन्य र जनसङ्ख्याका दृष्टिले नेपालभन्दा धेरै ठूलो मुलुक हो । यस्तो अवस्थामा नेपालले आफ्नो राष्ट्रिय हित सुरक्षित गर्न अझ बढी कूटनीतिक दक्षता, रणनीतिक स्पष्टता र राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्छ । नेपालले भारतसँगको सम्बन्धलाई चीन वा अन्य कुनै शक्तिसँग तुलना गरेर हेर्नु पनि उपयुक्त हुँदैन । नेपालले भारतसँग मित्रता कायम राख्दै चीन, अमेरिका र अन्य मुलुकसँग पनि सन्तुलित सम्बन्ध विस्तार गर्न सक्नुपर्छ । नेपालको परराष्ट्र नीति कुनै एउटा मुलुकको रणनीतिक प्राथमिकताको विस्तार बन्नु हुँदैन । बालेन सरकारले छिमेकीसँगको सम्बन्धमा नयाँ विश्वास निर्माण गर्ने प्रयास गर्नु सकारात्मक हो । तर नेपालको भूराजनीतिक अवस्थालाई बुझेर राष्ट्रिय हितको रक्षा गर्न सक्नु नै परिपक्व कूटनीति हो । भारतलाई नेपालको आवश्यकता छ र नेपाललाई पनि भारतको आवश्यकता छ । यही वास्तविकतालाई आधार बनाएर समानता, पारस्परिक सम्मान र लाभको सम्बन्ध निर्माण गर्नुपर्छ ।
अब बालेन सरकारले के गर्नुपर्छ ?
कुनै पनि भ्रमणको सफलता त्यसपछि सरकारले गर्ने कामबाट प्रमाणित हुन्छ । प्रधानमन्त्री बालेनले भारत भ्रमणबाट प्राप्त उपलब्धिलाई कार्यान्वयनमा लैजान अब स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्छ ।
पहिलो, भारतसँग भएका सबै सम्झौता र समझदारीको कार्यान्वयन समयतालिका सार्वजनिक गर्नुपर्छ । कुन परियोजना कहिले सुरु हुन्छ, कति बजेट लाग्छ, कुन निकाय जिम्मेवार हुन्छ र नेपाली नागरिकले त्यसबाट के लाभ पाउँछन् भन्ने विषय स्पष्ट हुनुपर्छ ।
दोस्रो, आर्थिक सहयोग प्याकेजको पारदर्शी उपयोग सुनिश्चित गर्नुपर्छ । अनुदान र ऋणको विवरण, ब्याजदर, भुक्तानी अवधि, परियोजना छनोट र कार्यान्वयन प्रक्रिया नेपाली जनतालाई जानकारी गराउनुपर्छ । ऋणको भार भविष्यका पुस्तामाथि थपिने भएकाले यसको उपयोग अत्यन्त जिम्मेवार ढंगले हुनुपर्छ ।
तेस्रो, सीमा विवादलाई उच्चस्तरीय राजनीतिक एजेन्डाका रूपमा निरन्तर उठाउनुपर्छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका विषयमा नेपालको आधिकारिक धारणा, ऐतिहासिक प्रमाण र कूटनीतिक अडान स्पष्ट हुनुपर्छ ।
चौथो, १९५० को सन्धि र ईपीजी प्रतिवेदनलाई प्राथमिकतामा राखेर भारतसँग निरन्तर संवाद गर्नुपर्छ । यी विषयलाई एउटा भ्रमणमा समाधान गर्न नसकिए पनि समाधानको औपचारिक प्रक्रिया सुरु गर्न सकिन्छ ।
पाँचौँ, ऊर्जा र जलस्रोतका परियोजनामा नेपालको राष्ट्रिय हित सुरक्षित गर्नुपर्छ । विद्युत् उत्पादन, बिक्री, मूल्य निर्धारण, प्रसारण सुविधा र नेपाली उद्योगको आवश्यकता सन्तुलित हुनुपर्छ ।
छैटौँ, पश्चिम नेपालको आर्थिक विकासलाई विशेष प्राथमिकता दिनुपर्छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, नेपालगन्ज–रुपैडिहा व्यापारिक नाका, एकीकृत भन्सार व्यवस्थापन, औद्योगिक विकास, पर्यटन र स्वास्थ्य सेवाको विस्तारमा भारतसँग भएका सहमतिलाई उपयोग गर्न सकिन्छ ।
सातौँ, सरकारले भारत भ्रमणको उपलब्धिबारे संसद्मा जानकारी गराउने, नागरिक समाज, विज्ञ, निजी क्षेत्र र सञ्चारमाध्यमसँग छलफल गर्ने तथा कार्यान्वयनको नियमित अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ । कूटनीतिक निर्णयमा राष्ट्रिय सहमति र पारदर्शिता आवश्यक हुन्छ ।
लोकप्रियता होइन, परिणामले प्रमाणित गर्नुपर्छ नेतृत्व
बालेन शाह नेपाली राजनीतिमा परम्परागत नेतृत्व शैलीभन्दा फरक छवि र जनअपेक्षाका साथ उदाएका प्रधानमन्त्री हुन् । उनको नेतृत्वमा जनताले सुशासन, विकास, पारदर्शिता, जवाफदेहिता र राष्ट्रिय स्वाभिमानको नयाँ अध्याय सुरु हुने अपेक्षा गरेका छन् । तर लोकप्रियता र शासन सञ्चालनको क्षमता एउटै कुरा होइन । सामाजिक सञ्जालमा प्राप्त समर्थन, निर्वाचनमा प्राप्त जनमत र अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त सम्मानलाई जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने क्षमतासँग जोड्न सक्नुपर्छ ।
धानमन्त्रीका रूपमा बालेनको वास्तविक परीक्षा भारत भ्रमणमा कति सम्मान प्राप्त भयो भन्ने होइन, त्यस भ्रमणबाट नेपालले कति दीर्घकालीन लाभ प्राप्त गर्छ भन्ने हो ।
नेतृत्वको सफलता कहिलेकाहीँ आफूले उठाएका विषयको तत्काल समाधान प्राप्त गर्नुमा मात्र हुँदैन । जटिल समस्यालाई समाधान गर्ने प्रक्रिया सुरु गर्नु, राष्ट्रिय हितको पक्षमा दृढ अडान कायम राख्नु र निरन्तर परिणामतर्फ अघि बढ्नु पनि सफल नेतृत्वका आधार हुन् ।
निष्कर्ष ः भ्रमण सफलताको सुरुवात हो, अन्तिम उपलब्धि होइन
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई समग्रमा हेर्दा आर्थिक, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पारवहनका क्षेत्रमा सकारात्मक सम्भावना सिर्जना गरेको भ्रमणका रूपमा लिन सकिन्छ । २४० अर्ब रूपैयाँँ बराबरको आर्थिक सहयोग प्याकेज, आठवटा समझदारीपत्र, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, हवाई सम्पर्क विस्तार र पारवहनका नयाँ विकल्प यसका उल्लेखनीय उपलब्धि हुन् ।
तर अर्कोतर्फ नेपालको राष्ट्रिय स्वाभिमानसँग जोडिएका सीमा विवाद, कालापानी–लिपुलेक–लिम्पियाधुरा, सुस्ता, १९५० को सन्धि र ईपीजी प्रतिवेदनजस्ता विषयमा ठोस राजनीतिक प्रगति हुन नसक्नु भ्रमणको गम्भीर कमजोरी हो । यसैले यस भ्रमणलाई न पूर्ण सफल भन्न सकिन्छ, न पूर्ण असफल। यो विकास र आर्थिक सहकार्यका दृष्टिले उपलब्धिमूलक तर राष्ट्रिय राजनीतिक मुद्दाको समाधानका दृष्टिले अपूरो भ्रमण हो ।
नेपालले भारतसँगको सम्बन्धलाई अविश्वास र आशंकाको घेरामा राख्नु हुँदैन । तर मित्रताको नाममा आफ्ना राष्ट्रिय मुद्दा बिर्सनु पनि हुँदैन । दुई देशबीचको सम्बन्धको वास्तविक सुन्दरता त्यतिबेला देखिन्छ, जतिबेला दुवै देशले एकअर्काको सार्वभौमिकता, स्वाभिमान र राष्ट्रिय हितलाई समान महत्व दिन्छन् । अन्ततः प्रश्न भारत भ्रमणमा प्रधानमन्त्री बालेनले कति सम्मान पाए भन्ने होइन, नेपालले कति सम्मान र अधिकार स्थापित गर्न सक्यो भन्ने हो।
प्रश्न भारतले नेपाललाई कति सहयोग घोषणा ग¥यो भन्ने मात्र होइन, त्यस सहयोगबाट नेपाली नागरिकको जीवनमा कति परिवर्तन आयो भन्ने हो । नेपालको कूटनीतिक सफलता छिमेकीको प्रशंसामा होइन, आफ्नै राष्ट्रिय हितको संरक्षणमा मापन हुनुपर्छ । मित्रता कायम राखौँ, सहकार्य विस्तार गरौँ, तर राष्ट्रिय स्वाभिमानलाई कुनै पनि सम्झौताको छायामा पर्न नदिऔँ ।








प्रतिक्रिया दिनुहोस्