महेन्द्र बहुमुखी क्याम्पसमा थपिँदै भौतिक पूर्वाधार



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित पश्चिम नेपालको अग्रणी शैक्षिक संस्था महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भौतिक पूर्वाधारहरूको सुधारमा उल्लेख्य प्रगति भएको छ । २०१२ सालमा स्थापित र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेकोे उक्त क्याम्पसमा पुराना भवनहरू जीर्ण हुँदा जोखिमपूर्ण अवसथामा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने अवस्था रहेकोमा अहिले भवन पूर्वाधारमा उल्लेख्य प्रगति भएको हो ।

क्याम्पसमा पछिल्लोपटक ३० कोठे शैक्षिक भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वयन इकाईमार्फत ठेक्का आह्वान भई निर्माण भएको उक्त भवन अब हस्तान्तरण हुन मात्रै बाँकी रहेको क्याम्पसले जनाएको छ । उक्त भवनमा आवश्यक फर्निचरसमेतको व्यवस्थापछि यही वर्षभित्रै उक्त नयाँ भवनबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीमा क्याम्पस प्रशासन रहेको छ ।

क्याम्पस प्रमुख लालमणि आचार्यले भने, ‘अहिले हामीले पुराना जीर्ण भवनमै शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नु परिरहेको छ । जोखिम छ तर के गर्ने, उच्च शिक्षाका धेरैजसो परीक्षाहरू समेत क्याम्पसमै हुने हुँदा पुराना भवन प्रयोग नगर्ने हो भने ठाउँकै अभाव हुने गरेको छ । अब नयाँ भवन हस्तान्तरण हुनेबित्तिकै हामी शैक्षिक कार्यक्रम त्यही नयाँ भवनबाट सञ्चालनमा ल्याउँछौँ ।’ क्याम्पस प्रमुख आचार्यले नयाँ भवन सञ्चालनमा आएसँगै पुराना जीर्ण भवनहरू भत्काइने पनि जानकारी दिए ।

पुराना भवनहरू अत्यन्तै जीर्ण हुँदा छत उप्किएर खस्ने गरेको छ । कतिबेला छत उप्किएर खस्छ र विद्यार्थीहरूलाई चोट लाग्छ भन्ने चिन्तामै कक्षामा बस्न पर्ने गरेको विद्यर्थाीहरू बताउँछन् । नयाँ भवन चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउनुपर्ने विद्यार्थीहरू बताउँछन् । क्याम्पसमा थपिन लागेको अर्काे भौतिक पूर्वाधार पुस्तकालयको नयाँ भवन पनि हो । क्याम्पसमा नेपालकै ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयको क्षेत्रीयस्तरको पुस्तकालयको रूपमा २०३४ सालमा स्थापना भएको पुस्तकालय अहिले व्यवस्थापन र उचिव भवनको अभावमा जर्जर अवस्थामा छ ।

२०५९ सालमा निर्माण भएको हालको भवन निर्माणका क्रममा कमसल सामार्गी प्रयोग गरिँदा र सही तरिकाले निर्माण नगरिँदा अहिले जीर्ण बनिसकेको छ । भवनको छतबाट पानी चुहिएर किताबहरू नष्ट हुने अवस्था सिर्जना भएको छ । यतिमात्रै नभई पुस्तकालयको व्यवस्थापनमा क्याम्पस प्रशासनले लापरबाही र जनशक्ति व्यवस्थापन गर्दा विश्वविद्यालयको क्षेत्रीयस्तरको पुस्तकालय हो भन्दा पनि लजाउनुपर्ने अवस्था छ ।

यस विषयमा मिसन टुडे दैनिकले विस्तृत समाचार प्रकाशित गरेपछि विद्यार्थीहरूले क्याम्पसमा इ–लाइब्रेरीसमेत व्यवस्थित पुस्तकालयको माग अघि बढाएका थिए ।विद्यार्थीहरूको माग तथा पुस्तकालय व्यवस्थापनको आवश्यकतालाई महसुस गर्दै क्याम्पस प्रशासनले अहिले रहेको पुस्तकालय भवनकै छेउमा नयाँ भवन निर्माण गरिरहेको छ । उक्त भवन पनि अब निर्माणको अन्तिम चरणमा रहेको क्याम्पस प्रमुख आचार्यले जानकारी दिए । पुस्तकालयको नयाँ भवनमा लागि आफूले विशेष जोडबलका साथ पहल गरेको आचार्यको भनाइ छ ।

अत्याधुनिक ‘इ–लाइब्रेरी’ बनाउने गरी नयाँ भवनका लागि स्रोत जुटाइएको उनले मिसन टुडेसँग बताए । क्याम्पस प्रशासनको निरन्तरको पहलपछि संघीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेको प्रशासनिक भवन निर्माण योजनामै रकम थप गर्न लगाएर र उक्त आयोजनाबाट बच्न आउने बजेटबाट पुस्तकालयको भवन निर्माण गर्ने गरी योजना निर्माण गरिएको उनले बताए । अहिले तीन करोडको लागत लाग्ने अनुमानसहित क्याम्पसको तीनतले नयाँ प्रशासनिक भवन र पुस्तकालयको एक तलाको भवन पनि सँगै निर्माण भइरहेको छ ।

पुस्तकालयको भवनमा थप तला थप्ने उद्देश्यले अहिले पनि आफूले पहल गरिरहेको आचार्य बताउँछन् । यसरी ३० कोठाको शैक्षिक भवन निर्माण पूरा भइसकेको, नयाँ प्रशासनिक भवन र पुस्तकालयको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा रहेको क्याम्पसमा अर्काे करिब ११ करोड लागत लाग्ने अनुमानसहितको भवनका लागि स्वीकृति आइसकेको क्याम्पस प्रमुख आचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त भवनको लागि डीपीआर तयार भइसकेको छ भने टेण्डर आह्वानका लागि तयारी भइरहेको छ । आचार्यले आफ्नो कार्यकालमा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति भएको दाबीसमेत गरे । ‘मेरो करिब ७ वर्षको कार्यकालनमा क्याम्पसमा दुईवटा शैक्षिक भवन बने, एउटा प्रशासनिक भवन र पुस्तकालयको नयाँ भवन बन्दैछन् । नयाँ भवनका लागि पनि योजना आएको छ । यी परिणामले हाम्रो पहल सार्थक भएको महसुस गरेका छौँ,’ आचार्यले भने ।

सुधारिएन छात्रावास 

महेन्द्र बहुमुखी क्याम्पसको छात्रावास सुधारमा भने क्याम्पस प्रशासन अझै सफल भएको छैन । क्याम्पसको छात्रहरूको लागि बनाइएको छात्रावास करिब २० वर्षदेखि बेवारिसे छ । यसविषयमा मिसन टुडेले पटक पटक समाचार प्रकाशित गरेको छ । गत वर्ष छात्रावासलाई क्याम्पसले बेवारिसे अवस्थामा राखेको र विद्यार्थीहरूको सुरक्षामा ध्यान नदिएको विषयमा विस्तृत समाचार प्रकाशित गरेको थियो । त्यसपछि क्याम्पस प्रशासनले जीर्ण र भत्किने जोखिममा रहेको पुरानो एक नम्बर छात्रावासको भवनबाट विद्यार्थीहरूलाई खाली गराउने र अन्य भवनमा रंगरोगन गर्नेबाहेक अरु सुधार गर्न सकेको छैन ।

अहिले पनि छात्रावासमा बसेका विद्यार्थीहरू क्याम्पसको आधिकारिक रेकर्डमा छैनन् । क्याम्पस प्रशासनले छात्रावास बस्नका लागि निश्चित प्रक्रिया कार्यान्वयन गराउने विद्यार्थीहरूको सुरक्षा प्रत्याभूति गराउन सकेको छैन । क्याम्पसबाट उत्तीर्ण भैसकेका विद्यार्थीहरू पनि छात्रावासको भवन ओगटेरै बसिरहेका छन् । छात्रावास वार्डेनले अहिले पनि आफ्नो भूमिका प्रभावकारी रूपले निर्वाह गर्न सकिरहेका छैनन् ।

छात्रावासमा बसिरहेका विद्याथीहरूले अहिले पनि आफूहरू बेवारिसेजस्तो अवस्थामा रहेको बताएका छन् । उनीहरूले होस्टेलको वार्डेनलाई समेत आफूहरूले नचिन्ने गरेको बताए । होस्टेलको वरिपरि सरसफाइ तथा सुरक्षाको व्यवस्था नभएको अवस्था अहिले पनि विद्यमान छ । विद्यार्थीहरूले मूल सडकतर्फ पर्खाल नहुँदा लागूऔषध दुव्र्यसनीहरू क्याम्पस हातामै आएर अवाञ्छित क्रियाकलाप गर्ने गरेको बताए ।

होस्टेलपछाडि रहेको झाडीमा नशा सेवन गर्नेहरू आएर बस्ने गरेको र उनीहरूबारे प्रहरी तथा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको विद्याथीहरूले बताएका छन् । ‘हामीहरू आफैँ आफैँ मिलेर बसेका छौँ । एकअर्काको भर मानेर बसेका छौँ । क्याम्पसले त सुरक्षा दिन सकेको छैन । बरु शुल्क लगाओस् तर हामीलाई सुरक्षा सबैभन्दा जरुरी छ,’ एक जना विद्यार्थीले भने ।

यसका साथै शौचालयको सुधार र फोहोर व्यवस्थापनका लागि समेत क्याम्पस प्रशासनले कुनै व्यवस्था नगरिदिएको विद्यार्थीहरू बताउँछन् । क्याम्पस प्रशासनले पनि छात्रावासमा बस्न पाउने नियम कार्यान्वयनमा सफल हुन नसकेको स्वीकार गरेको छ । क्याम्पस प्रमुख लालमणि अचार्यले छात्रावासमा बस्न चाहनेहरूबाट निवेदन लिने र निश्चित विधिबाट छनौट गरी कोठा उपलब्ध गराउने प्रयास गरिए पनि अझै सफल नभएको बताए ।

‘हामीले जीर्ण भवनमा विद्यार्थी बस्न नदिने व्यवस्था चाहीँ गरेका छौँ । अरु बाँकी भवनमा पनि मर्मतसम्भार र रंगरोगनको काम भएको छ । अब त्यहाँ बस्ने विद्याथीहरूलाई लिगलाइज भने गर्न बाँकी छ,’ आचार्यले भने । क्याम्पसकै महिला छात्रावासको भवन पनि जीर्ण छ । भारतीय दूतावासको सहयोगमा सन् २००६ जुनबाट निर्माण सुरु गरिएको उक्त भवन अलपत्र छ । अब उक्त अधुरो भवन भत्काउने र नयाँ भवनका लागि पहल गरिरहेको पनि आचार्यले दाबी गरेका छन् ।

त्रिविको क्षेत्रीय केन्द्र बनाइने 

क्याम्पस प्रमुख लालमणि आचार्यका अनुसार निकट भविष्यमा त्रिभुवन विश्वविद्यालयको पश्चिम क्षेत्रको केन्द्र महेन्द्र बहुमुखी क्याम्पसलाई बनाइँदै छ । त्रिभुवन विश्वविद्यालयले काठमाडौँबाहिर पनि विश्वविद्यालयको आधारभूत प्रशासनिक तथा केन्द्रीय कार्यालयबाट हुने सेवासमेत विकेन्द्रीकण गर्ने अवधारण अघि सारेको र त्यसमा पश्चिम क्षेत्रका लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज प्राथमिकतामा रहेको आचार्यको भनाइ छ ।

त्यसका लागि आवश्यक भौतिक संरचनाहरू थप्दै जाने विश्वविद्यालयको पनि नीति रहेको उनले बताए । विश्वविद्यालयले विद्यार्थीहरूले काठमाडौँमै पुगेर लिनुपर्ने सेवासहित दिक्षान्त समारोह र गतिविधिका लागि पनि काठमाडौँमै पुग्नुपर्ने अवस्था अन्त्य गर्ने गरी क्षेत्रीय केन्द्रहरू बनाउन लागेको आचार्यको भनाइ छ । आचार्यका अनुसार अहिले क्याम्पसले भोगिरहेको सबैभन्दा ठूलो समस्या जनशक्ति अभावको हो ।

क्याम्पसमा कार्यालय सञ्चालनका लागि ६८ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले सबै गरेर ३१ जना कर्मचारी मात्रै कार्यरत रहेका उनले बताए । अब विश्वविद्यालयको क्षेत्रीय केन्द्र बन्ने भएसँगै कर्मचारीहरू पनि थपिने अपेक्षा रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १० गते बुधबार