नेपालगन्ज।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालगन्ज रंगशालामा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाए ।
यसअघि उनले सन् २०२६ मा भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए । महिलातर्फको ४०० मिटर (आइएम) एनआरएनए लिली बोहराले ५ मिनेट १७.०१ सेकेण्डको नयाँ कीर्तिमान बनाएकी छन् । यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औँ सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
सोफियाको कीर्तिमान १०औँ राष्ट्रिय खेलकुदको हिटचरणमा नै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले भंग गरेका थिए । तर लिलीको नाममा भने ५ मिनेट १७. ०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनेको छ । हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान तोड्न सफल भएकी थिइन भने डुआनाले पनि राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै ५ मिनेट २५.१७ सेकेन्डमा पूरा गरेकी थिइन् ।
१५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण (१७ मिनेट.४८.६१ सेकेन्ड), सुदूरपश्चिमका अर्थभ सिंहले रजत (१८ मिनेट ०६.९४ सेकेन्ड) र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले कास्य (१९ मिनेट ५५.६० सेकेन्ड) पदक जिते । महिला ४०० मिटर व्यक्तिगत मिडलेमा एनआरएनए लिलीले स्वर्ण (५ मिनेट १७.०१ सेकेन्ड), आर्मीकी डुआनाले रजत (५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले (६ मिनेट ४२ सेकेन्ड) कास्य पदक प्राप्त गरिन् ।
५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकासले स्वर्ण (३०.८४ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड)ले कास्य पदक जिते । ५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआनाले स्वर्ण, बागमतीकी रोयल प्रजापतिले रजत र बागमतीकै प्रज्ना ताम्राकारले कास्य पदक जितिन् ।
१०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले रजत र आर्मीका अल्भीन महर्जनले कास्य पदक हासिल गरे ।
१०० मिटर महिला फ्रिस्टाइलमा एनआरएन मिखा काया थापाले स्वर्ण, आर्मीकी डुआनाले रजत र एनआरएन लिलीले कास्य पदक हासिल गरिन् । २ सय मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण, सुदूरपश्चिमका अर्थव सिंहले रजत र बागमतीका रिभान्त बहादुर श्रेष्ठले कास्य जिते । महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनए मिखाले स्वर्ण, पुलिसकी देभान्सीले रजत र बागमतीकी आर्या महर्जनले कास्य पदक जितिन ।
४ गुणा १०० मिटर पुरुष मिडलेभ रिलेमा आर्मीले स्वर्ण, बागमतीले रजत र पुलिसले कास्य जित्यो । महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेभमा बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य जित्यो । त्यस्तै मिक्स ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेभमा बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य प्राप्त गरेको छ । नेपालगन्ज रंगशालामा चार दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्