नन्दराम जैशी । सुर्खेत ।
सशस्त्र द्वन्द्व अन्त्य भएको दुई दशक पुग्न लाग्दा पनि न्यायको अनुभूति गर्न नपाएका द्वन्द्वपीडितले अब सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । वर्षौँदेखि सत्य, न्याय, परिपूरण र सम्मानपूर्ण जीवनको अधिकार माग्दै राज्यका निकाय धाइरहेका पीडितले आश्वासनबाहेक उपलब्धि हात नपरेको भन्दै आन्दोलनको विकल्प नरहेको बताएका हुन् । द्वन्द्वका घाउ बोकेर जीवन बिताउन बाध्य पीडितका लागि शान्ति प्रक्रिया राजनीतिक उपलब्धिमा सीमित भएको छ ।
मुलुकले राजनीतिक संक्रमण पार गर्दै नयाँ संविधान र शासन व्यवस्था प्राप्त गरे पनि द्वन्द्वका क्रममा आफन्त गुमाएका, बेपत्ता पारिएका, यातना भोगेका र शारीरिक तथा मानसिक रूपमा प्रभावित भएका नागरिकका पीडा भने अझै सम्बोधन हुन सकेका छैनन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष शीतलसिंह राठोरका अनुसार २० वर्ष बितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन् ।
न्याय पाउने आशामा लामो समय कुर्दासमेत न्यायको अनुभूति गर्न नपाएको भन्दै उनले अब पीडितलाई थप लामो समय प्रतीक्षामा राख्न नहुने बताइन् । ‘२० वर्ष पुग्न लाग्दासमेत पीडितले न्याय पाएका छैनन् । न्यायको अनुभूति नै हुन सकेको छैन । अब धेरै लामो समय पर्खेर बस्नुपर्ने अवस्था आउनु हुँदैन’ उनले भनिन् । द्वन्द्वपीडित पूर्णप्रसाद पौडेलले पीडितका समस्या समयमै सम्बोधन नगरिनु अहिलेको सामाजिक तथा राजनीतिक असन्तुष्टिको एउटा महत्वपूर्ण कारण भएको बताए ।
उनका अनुसार द्वन्द्वपीडितको व्यवस्थापन, न्याय र पुनःस्थापनामा राज्यले ध्यान नदिएकै कारण असन्तुष्टिहरू थपिँदै गएका हुन् । उनले भने, ‘द्वन्द्वपीडितलाई व्यवस्थापन नगरेकै कारण जेनजी आन्दोलनसम्मको परिस्थिति निर्माण भएको हो । पीडितले पीडा भोग्दाभोग्दै जीवन बिताउनुपरेको छ ।’ लामो समयसम्म पीडितका आवाज नसुनिनु र राज्यका संयन्त्रबाट प्रभावकारी सम्बोधन नहुनुले नयाँ पुस्तासमेत राज्यप्रति असन्तुष्ट हुने वातावरण निर्माण गरेको उनको बुझाइ छ ।
बेपत्ता पारिएका परिवारका ऋषि ओलीको पीडा अझै गहिरो छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट आफ्नी दिदी बेपत्ता पारिएको पीडा बोकेर उनी वर्षौँदेखि न्यायको प्रतीक्षामा छन् । उनले भने, ‘बेपत्ता आफन्तको अवस्था सार्वजनिक नहुँदा परिवारले न त मृत्युको शोकलाई स्वीकार गर्न सकेको छ, न त जीवित फर्किने आशालाई पूर्ण रूपमा त्याग्न ।’ ओलीका अनुसार पीडितले लामो समयसम्म मौनता र धैर्य अपनाए पनि राज्यबाट न्यायको प्रत्याभूति हुन नसकेपछि सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको हो ।
‘न्यायको प्रतीक्षा र धैर्यताको सीमा नाघिसकेको छ । अब पीडितहरू सडकमा आउनुपर्ने अवस्था आएको छ,’ उनले भने । द्वन्द्वको प्रभाव आफन्त गुमाउनु वा आर्थिक क्षतिमा सीमित छैन । हिंसा, यातना, धम्की, विस्थापन र अनिश्चितताले पीडितको मानसिक स्वास्थ्य तथा सामाजिक सम्बन्धमा समेत दीर्घकालीन असर पारेको छ । द्वन्द्वपीडित शर्मिला बीसीले द्वन्द्वका कारण भोग्नुपरेको पीडाले मनोविज्ञानमा गम्भीर असर पारेको बताइन् ।
उनका अनुसार पीडितको पीडा बाहिर देखिने क्षतिमा मात्र सीमित नभई जीवनभर बोकेर हिँड्नुपर्ने मानसिक चोटका रूपमा पनि रहेको छ । मानवअधिकार सञ्जाल कर्णालीका संयोजक पीताम्बर ढकालले द्वन्द्वपीडितलाई सामाजिक न्याय प्रदान गर्न राज्यले तत्काल प्रभावकारी पहल गर्नुपर्ने बताए । पीडितलाई राहत वा क्षतिपूर्तिमा मात्र सीमित नगरी उनीहरूको सम्मान, सुरक्षा, सामाजिक पुनःस्थापना र न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने उनको जोड छ ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख रमेशकुमार थापाले आयोगले द्वन्द्वपीडितका सवालमा विभिन्न पहल गर्दै आए पनि सरकारले अपेक्षित सुनुवाइ नगरेको बताए । मानव अधिकार उल्लङ्घनका घटनामा न्याय सुनिश्चित गर्ने दायित्व राज्यकै भएकाले आयोगका सुझाव र सिफारिसलाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । यस विषयमा प्रतिनिधिसभा सदस्य राधिका रम्तेलले संसद्मा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् ।
द्वन्द्वपीडितका माग र न्याय प्राप्तिको सवाललाई संसदीय बहसमा प्रवेश गराउनुपर्ने उनको धारणा छ । प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको अवस्थाका विषयमा आफूले सडकदेखि संसद्सम्म आवाज उठाउँदै आएको बताए । उनका अनुसार राजनीतिक परिवर्तनपछि पनि पीडितले न्याय पाउन नसक्नु राज्यका लागि गम्भीर विषय हो । संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन राजनीतिक दल र सरकार जिम्मेवार बन्नुपर्ने उनले बताए ।
प्रतिबद्धता र कार्यान्वयनको खाडल
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बीच २०६३ मंसिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौताले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य गरेको थियो । सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायको नयाँ दिशातर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
सम्झौतामा द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको सत्यतथ्य सार्वजनिक गर्ने, बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउने, पीडित तथा प्रभावितलाई राहत र परिपूरण उपलब्ध गराउने, दोषीलाई कानुनी जवाफदेही बनाउने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन संस्थागत सुधार गर्ने विषय समेटिएका थिए । तर, सम्झौताको दुई दशक पुग्न लाग्दासमेत ती प्रतिबद्धताको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
राजनीतिक तथा संवैधानिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि संक्रमणकालीन न्यायको प्रक्रिया अझै पूर्ण निष्कर्षमा पुग्न नसकेको सुवेदीको भनाइ छ ।
द्वन्द्वपीडितहरू अझै सत्य, न्याय, परिपूरण र सम्मानपूर्ण जीवनको अधिकारका लागि संघर्षरत छन् । न्याय पाउने आशामा बिताएका दुई दशक आफैँमा राज्यको जवाफदेहिता र संक्रमणकालीन न्यायको प्रभावकारितामाथि गम्भीर प्रश्न बनेका छन् ।
संक्रमणकालीन न्याय विगतका घटनाको अभिलेखीकरण गर्ने वा पीडितलाई आर्थिक सहायता वितरण गर्ने विषय मात्र होइन । यो गम्भीर मानव अधिकार उल्लंघनका घटनाको सत्य अन्वेषण, पीडितलाई न्याय, प्रभावकारी परिपूरण, दोषीको जवाफदेहिता र भविष्यमा मानव अधिकार उल्लंघनका घटना दोहोरिन नदिने सुनिश्चिततासँग जोडिएको समग्र प्रक्रिया हो ।
कर्णालीमा द्वन्द्वको गहिरो घाउ
नेपालको सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये कर्णाली प्रदेश पनि एक हो । भौगोलिक विकटता, कमजोर पूर्वाधार, गरिबी, सामाजिक विभेद र राज्यका सेवामा सीमित पहुँच रहेको यस क्षेत्रमा सशस्त्र द्वन्द्वले ठूलो मानवीय, सामाजिक, आर्थिक तथा मनोसामाजिक क्षति पु¥याएको थियो । इन्सेकद्वारा प्रकाशित ‘द्वन्द्वपीडित पाश्र्वचित्र’अनुसार कर्णाली प्रदेशमा सशस्त्र द्वन्द्वका क्रममा राज्य र तत्कालीन माओवादी पक्षबाट गरी दुई हजार ७०५ जनाको हत्या भएको थियो ।
त्यसैगरी ९९ जना बेपत्ता पारिएका थिए भने ४३२ जना अपाङ्गता भएका थिए । यी तथ्यांकले कर्णालीले बेहोरेको द्वन्द्वको मानवीय क्षतिको गम्भीरता देखाउँछन् । तर, तथ्यांकमा समेटिएका मृत्यु, बेपत्ता र अपाङ्गताका घटनाभन्दा बाहिर पनि पीडित परिवारले भोगिरहेका सामाजिक बहिष्करण, आर्थिक संकट, मानसिक तनाव र पुस्तान्तरण हुँदै गएको पीडा उत्तिकै महत्वपूर्ण छन् ।
विशेषगरी बेपत्ता पारिएका व्यक्तिका परिवारको अवस्था झनै जटिल छ । आफन्तको अवस्था यकिन नहुँदा उनीहरू लामो समयदेखि अन्योल र मानसिक तनावमा बाँचिरहेका छन् । कतिपय परिवारले घरमूली गुमाउँदा आर्थिक संकट झेलिरहेका छन् भने द्वन्द्वका कारण शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट समेत वञ्चित हुनुपरेको छ ।
पीडितले न्याय कहिले पाउने ?
दुई दशकको शान्ति प्रक्रियाले मुलुकलाई हिंसात्मक द्वन्द्वबाट राजनीतिक स्थायित्वतर्फ अघि बढाएको भए पनि द्वन्द्वपीडितको जीवनमा शान्तिको अनुभूति स्थापित गर्न सकेको छैन । राजनीतिक दलका प्रतिबद्धता, सरकारी आश्वासन र आयोगका सिफारिसबीच पीडितको न्यायको प्रश्न भने अझै अनुत्तरित छ । द्वन्द्वपीडितका लागि न्याय भनेको केही रकम क्षतिपूर्ति पाउनु मात्र होइन ।
आफ्ना आफन्त किन मारिए, कसले बेपत्ता पा¥यो, घटनामा को जिम्मेवार थियो र राज्यले उनीहरूको पीडा सम्बोधन गर्न के ग¥यो भन्ने प्रश्नको जवाफ पाउनु पनि न्याय हो । त्यसैले संक्रमणकालीन न्यायलाई राजनीतिक सहमति र प्रशासनिक प्रक्रियाको घेराभित्र सीमित राखेर पीडितको आवाजलाई बेवास्ता गरिरहन मिल्दैन । सत्य निरूपण, बेपत्ता व्यक्तिको खोजी, पीडितमैत्री परिपूरण, दोषीको जवाफदेहिता र संस्थागत सुधारलाई परिणाममुखी बनाउनु राज्यको दायित्व हो ।
कर्णालीका द्वन्द्वपीडितले अब आश्वासन होइन, परिणाम खोजिरहेका छन् । उनीहरूका लागि २० वर्षको प्रतीक्षा केवल समय बित्नु होइन, न्यायविहीन जीवन बिताउनुपरेको पीडादायी इतिहास हो । पीडितले सडक आन्दोलनको चेतावनी दिनु राज्यका लागि सामान्य राजनीतिक दबाबको विषय होइन । शान्ति प्रक्रियाको अधुरोपनप्रति व्यक्त भएको गम्भीर असन्तुष्टि हो ।
राज्यले अझै पनि उनीहरूको आवाज सुनेर न्यायको विश्वसनीय प्रक्रिया अघि बढाउन सकेन भने दुई दशकदेखि थामिएको पीडितको आक्रोश सडकमा पोखिन सक्ने देखिन्छ । शान्ति सम्झौताले अन्त्य गरेको सशस्त्र द्वन्द्वको राजनीतिक अध्याय सकिए पनि पीडितको न्यायको अध्याय अझै अधुरै छ ।









प्रतिक्रिया दिनुहोस्