सन्दर्भः विस्तृत शान्ति सम्झौताको २० वर्ष अपुरो संक्रमणकालीन न्याय, पीडितको अनवरत न्यायको प्रतीक्षा र राज्यको जवाफदेहिता



अधिवक्ता वसन्त गौतम

सन् १९९६ (विसं २०५२)मा सुरु भएको सशस्त्र द्वन्द्वले करिब १७ हजारभन्दा बढी नागरिकको ज्यान लियो, हजारौँलाई बेपत्ता बनायो, गैरन्यायिक हत्या, यातना र यौनजन्य हिंशाको सिकार हुने पीडितको संख्या पनि उल्लेख्य रहेको छ । लाखौँलाई विस्थापित ग¥यो र भौतिक तथा सामाजिक संरचनामा अपूरणीय क्षति पु¥यायो । राज्यपक्ष र विद्रोही पक्षबीचको आमने सामनेको संघर्षले नेपाली समाजलाई गहिरो रूपमा विभाजित र त्रसित बनाएको थियो । लामो वार्ता, मध्यस्थता र जनआन्दोलन २०६२–६३ को पृष्ठभूमिमा २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने ऐतिहासिक ढोका खोल्यो । विसं २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी)बीच ऐतिहासिक ‘विस्तृत शान्ति सम्झौता’मा हस्ताक्षर भएसँगै मुलुकमा एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भएको थियो । २०८३ मंसिर ५ गते त्यो ऐतिहासिक सम्झौता भएको ठिक २० वर्ष पूरा भएको छ । दुई दशकको यो लामो कालखण्डमा नेपाली समाज र राजनीतिले असाधारण उथलपुथल र रूपान्तरण देखेको छ । संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, नयाँ संविधानको निर्माण, स्थानीय तथा प्रादेशिक संरचनाको अभ्यास र हजारौँ पूर्वलडाकुको समायोजन जस्ता जटिल राजनीतिक तथा प्राविधिक कार्यभारहरू शान्ति सम्झौताकै जगमा सम्पन्न गरिए । बाहिरी रूपमा हेर्दा नेपालको शान्ति प्रक्रियालाई विश्वका कतिपय मुलुकहरूले तुलनात्मक रूपमा सफल उदाहरणका रूपमा समेत चर्चा गर्ने गरेका छन् । तर, यथार्थको कसीमा घोटेर हेर्दा शान्ति सम्झौताको सबैभन्दा संवेदनशील, नैतिक र मानवीय पाटो—अर्थात् ‘संक्रमणकालीन न्याय’ र द्वन्द्वपीडितलाई न्याय दिने कार्य—अझै पनि अपुरो, अधुरो र अलपत्र अवस्थामा छ । द्वन्द्वको घाउ समयसँगै आफैँ पुरिँदैन, बरु न्याय र सत्यको मलहम नलागेसम्म त्यो भित्रभित्रै बल्झिरहन्छ । २० वर्षको यो लामो यात्रामा द्वन्द्वपीडितहरूले न्यायका लागि गरेको अनवरत संघर्ष, धैर्य र पीडाको कथा आज पनि उत्तिकै मार्मिक छ । शान्ति सम्झौताले परिकल्पना गरेको दिगो शान्ति र वास्तविक मेलमिलाप पीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित नगरी सम्भव हुँदैन । त्यसैले विस्तृत शान्ति सम्झौताको २०औँ वार्षिकोत्सवको यो सन्दर्भ केवल स्मरण गर्ने दिन मात्र होइन, राज्य र सरोकारवाला निकायलाई आफ्नो अधुरो दायित्व पूरा गर्न घच्घच्याउने र पीडितलाई न्यायको प्रत्याभूति दिलाउन अब ढिलाइ गर्न नहुने गम्भीर चेतावनीको घडी पनि हो ।

विस्तृत शान्ति सम्झौताको सन्दर्भ र मूल प्रतिबद्धताहरू

सन् १९९६ (विसं २०५२)मा सुरु भएको सशस्त्र द्वन्द्वले करिब १७ हजारभन्दा बढी नागरिकको ज्यान लियो, हजारौँलाई बेपत्ता बनायो, गैरन्यायिक हत्या, यातना र यौनजन्य हिंशाको सिकार हुने पीडितको संख्या पनि उल्लेख्य रहेको छ । लाखौँलाई विस्थापित ग¥यो र भौतिक तथा सामाजिक संरचनामा अपूरणीय क्षति पु¥यायो । राज्यपक्ष र विद्रोही पक्षबीचको आमने सामनेको संघर्षले नेपाली समाजलाई गहिरो रूपमा विभाजित र त्रसित बनाएको थियो । लामो वार्ता, मध्यस्थता र जनआन्दोलन २०६२–६३ को पृष्ठभूमिमा २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने ऐतिहासिक ढोका खोल्यो । विस्तृत शान्ति सम्झौता केवल हतियार बिसाउने वा सत्ता साझेदारीको प्राविधिक सम्झौता मात्र थिएन; यो नेपाली नागरिकसँग गरिएको शान्ति, मानव अधिकार, विधिको शासन र न्यायको बृहत् सामाजिक अनुबन्ध थियो । सम्झौतामा दुवै पक्षले मानव अधिकारका विश्वव्यापी मान्यता, अन्तर्राष्ट्रिय मानवीय कानुन तथा आधारभूत सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने र पालना गर्ने प्रतिबद्धता जनाएका थिए । सम्झौताका मुख्य बुँदाहरूले द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको सत्यतथ्य पत्ता लगाउने, पीडितलाई न्याय तथा परिपूरण प्रदान गर्ने र समाजमा दिगो मेलमिलाप कायम गर्ने स्पष्ट मार्गचित्र कोरेका थिए । विशेष गरी सम्झौताको दफा ५.२.३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका तथा युद्धको समयमा मारिएका व्यक्तिहरूको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउने स्पष्ट व्यवस्था गरिएको थियो । त्यस्तै, दफा ५.२.५ मा दुवै पक्षले आपसी सहमतिबाट मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्नहरूको बारेमा सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने उल्लेख थियो । यसबाहेक, द्वन्द्वका कारण विस्थापित भएका व्यक्तिहरूलाई आ–आफ्नो मूल घरजग्गामा ससम्मान फर्किन दिने, पुनस्र्थापना तथा पुनः निर्माणमा सहयोग गर्ने र कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति फिर्ता गर्ने प्रतिबद्धता पनि सम्झौताका अभिन्न अंग थिए ।

अधुरो कार्यान्वयनः बेपत्ता, विस्थापन र कब्जा सम्पत्ति

सम्झौतामा लेखिएका अक्षर र व्यवहारमा देखिएको यथार्थबीचको खाडल २० वर्ष बितिसक्दा पनि कहालीलाग्दो छ । सम्झौता भएको ६० दिनभित्र सार्वजनिक गर्ने भनिएका बेपत्ता नागरिकहरूको अवस्था आज दुई दशक पुग्दा पनि अज्ञात छ । परिवारका सदस्यहरूले आफ्ना आफन्तलाई राज्य वा विद्रोही पक्षले कहाँ, कहिले र किन लगे भन्ने सामान्य जानकारी समेत पाउन सकेका छैनन् । कतिपय परिवारमा कमाउने वा घरको मुख्य आधार गुमेपछि बालबालिकाको शिक्षा, वृद्ध आमाबुबाको हेरचाह र दैनिक जीविकोपार्जन नै संकटमा परेको छ । द्वन्द्वका क्रममा गाउँघर छोडेर सदरमुकाम, सहर वा विदेश पलायन हुन बाध्य भएका हजारौँ विस्थापित परिवारको पुनस्र्थापनाको सवाल पनि पूर्ण रूपमा टुंगिएको छैन । कतिपय स्थानमा विस्थापितहरू फर्किए पनि उनीहरूले गुमाएको जीविकाको स्रोत, सामाजिक सुरक्षा र मानसिक त्रास अझै हटेको छैन । त्यसैगरी, द्वन्द्वकालमा कब्जा गरिएका घर, जग्गा र अन्य सम्पत्तिको पूर्ण फिर्ता तथा उचित क्षतिपूर्तिको व्यवस्था अझै पनि अपुरो छ । कतिपय ठाउँमा जग्गा कागजी रूपमा फिर्ता भए पनि भोगचलनमा समस्या रहेको, कतिपय ठाउँमा अझै विवाद कायमै रहेको र उचित मुआब्जा वा परिपूरणको अभावमा पीडितहरू भौँतारिरहेका दृश्यहरू आज पनि देख्न सकिन्छ ।

गम्भीर मानव अधिकार उल्लंघन र पीडितको अनवरत संघर्ष

सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गैरन्यायिक हत्या, बलपूर्वक बेपत्ता, अमानवीय यातना, र बलात्कार तथा यौनजन्य हिंसाजस्ता गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरू घटे । ती घटनाका पीडितहरू आज पनि न्यायको खोजीमा भौँतारिरहेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र संक्रमणकालीन न्यायका स्थापित मान्यताअनुसार प्रत्येक द्वन्द्वपीडितलाई सत्य जान्न पाउने अधिकार, न्याय पाउने अधिकार, परिपूरणको अधिकार र घटना नदोहोरिने सुनिश्चितता प्राप्त हुनुपर्दछ ।
तर, विडम्बनापूर्ण कुरा के छ भने पीडित परिवारले यी कुनै पनि अधिकारको वास्तविक प्रत्याभूति गर्न पाएका छैनन् । हत्या गरिएका परिवारका सदस्यहरूले दोषीको पहिचान र कानुनी कारबाहीको अनुभूति गर्न सकेका छैनन् । बेपत्ता पारिएका व्यक्तिका परिवारहरू आज पनि आफ्ना प्रियजनको सास कि लासको टुंगो लाग्ने आशामा आँखा ओभाउन सकेका छैनन् । यातना र यौनजन्य हिंसा भोगेका पीडितहरूका पीडा झनै संवेदनशील र जटिल छन् । शारीरिक चोटपटक र गहिरो मनोवैज्ञानिक आघातसँगै सामाजिक लाञ्छना र बहिष्करणको पीडा सहेर बाँच्न बाध्य ती पीडितहरूका लागि राज्यले संवेदनशील, गोपनीय र पीडितमैत्री न्याय तथा उपचारको व्यवस्था गर्न सकेको छैन । न्यायको प्रतीक्षा गर्दागर्दै कतिपय पीडित आमाबुबा र आफन्तहरू न्यायको एक झलक समेत नदेखिकनै यो संसारबाट बिदा भइसकेका छन् । बाँचेका पीडितहरू कहिले काठमाडौँका सडकमा धर्ना दिँदै त कहिले सरोकारवाला निकायको ढोका ढकढक्याउँदै आफ्नो आवाज सुनाउने अनवरत लडाइँ लडिरहेका छन् । तर, पीडितको न्याय पाउने नैसर्गिक अधिकारमाथि राज्यले आफ्नो संवैधानिक, कानुनी र नैतिक जिम्मेवारी तथा जवाफदेहिता बहन गर्न सकेको छैन । सत्तामा पुग्ने जो–कोहीले पीडितको पीडालाई चुनावी नारा वा राजनीतिक सौदाबाजीको विषय मात्र बनाएको अनुभूति पीडित समुदायमा गहिरो रूपमा बसेको छ ।

अविश्वासका आयोग र सर्वोच्च अदालतको आदेशको अवज्ञा

सरकारले एकातिर संक्रमणकालीन न्याय प्रक्रियामार्फत पीडितलाई न्याय दिने दाबी गरिरह्यो, तर अर्कोतिर पीडितलाई विश्वासमा लिएर निष्पक्ष र प्रभावकारी संयन्त्र निर्माण गर्न सधैँ चुक्यो । विगतमा दुई–दुई पटक ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ गठन गरिए । ती आयोगहरूमा ६० हजारभन्दा बढी उजुरीहरू दर्ता पनि भए, जसले द्वन्द्वका पीडितहरूमा न्याय पाउने सानो आशा जगाएको थियो। तर, ती आयोगहरू पीडितमैत्री बन्नुको सट्टा दलीय भागबन्डा, राजनीतिक हस्तक्षेप र असक्षमताको सिकार बने । संक्रमणकालीन न्यायको मूल मान्यताअनुसार गम्भीर मानव अधिकार उल्लंघनका घटनामा संलग्न दोषीलाई आममाफी दिन मिल्दैन । यही सिद्धान्तलाई आत्मसात् गर्दै नेपालको सर्वोच्च अदालतले विगतमा पटक–पटक स्पष्ट आदेश र परमादेश जारी ग¥यो । अदालतले पीडितको अधिकारलाई केन्द्रमा राख्न, गम्भीर अपराधमा माफी नदिने व्यवस्था गर्न, पीडितमैत्री कानुन बनाउन र आयोगहरूलाई स्वतन्त्र तथा निष्पक्ष ढंगले काम गर्न सक्ने वातावरण मिलाउन सरकारलाई निर्देश ग¥यो । तर, सरकारले सर्वोच्च अदालतको आदेश, संक्रमणकालीन न्यायका स्थापित अन्तर्राष्ट्रिय मान्यता र पीडितको आवाजलाई बेवास्ता गर्दै आयोगहरूलाई प्रभावहीन र पङ्गु बनाएर राख्यो । परिणाम स्वरूप, दुई–दुई पटक आयोग गठन गरिए, वर्षौँसम्म कार्यकाल लम्ब्याइयो र राज्यको ठूलो धनराशि खर्च गरियो, तर उजुरीहरूको छानबिन, सत्यको उजागर, दोषी माथिको कारबाही र पीडितको परिपूरणको काम अधुरै रह्यो । आयोगका पदाधिकारीहरूको नियुक्तिमा समेत दलीय कोटा हाबी हुँदा पीडितहरूले आयोगप्रति विश्वास गर्न सकेनन् र अन्ततः ती आयोगहरू असफलताको इतिहास रचेर बिदा भए ।

नयाँ सरकार बनेको सन्दर्भः प्राथमिकतामा नपरेको पीडितको न्याय

मुलुकमा नयाँ सरकार बनेको छ । नयाँ राजनीतिक परिस्थिति र नयाँ नेतृत्व आउँदा जनतामा स्वाभाविक रूपमा केही नयाँ आशा र अपेक्षा पलाउँछन् । तर, दुःखद् यथार्थ के छ भने विगतका सरकारहरूजस्तै वर्तमान नयाँ सरकारको प्राथमिकतामा पनि संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवाल पर्न सकेका छैनन् । सरकारको नीति, कार्यक्रम, कार्यसम्पादन र राजनीतिक व्यस्ततामा सत्ता समीकरण, प्रशासनिक फेरबदल र अन्य तात्कालिक मुद्दाहरूले प्राथमिकता पाउँदा शान्ति प्रक्रियाको सबैभन्दा संवेदनशील र अपुरो पाटो फेरि पनि छायामा परेको छ । नयाँ सरकार बन्नासाथ संक्रमणकालीन न्यायलाई तीव्रता दिने र पीडितलाई न्यायको अनुभूति गराउने ठोस प्रतिबद्धता र कार्ययोजना आउनु पर्नेमा उल्टै उदासीनता देखिनु चिन्ताजनक छ । संक्रमणकालीन न्याय कुनै एउटा दल वा नेताको सरोकारको विषय मात्र होइन; यो राज्यको समग्र विश्वसनीयता, कानुनी शासन र मानवीय संवेदनशीलताको परीक्षा हो । यदि नयाँ सरकारले पनि यसलाई पुरानै ढर्रामा अलमल्याइरह्यो भने विगतका सरकारको गैरजिम्मेवारीको निरन्तरता मात्र हुनेछ ।

नयाँ सरकारलाई तत्काल ध्यानाकर्षण र चाल्नुपर्ने कदमहरू

विस्तृत शान्ति सम्झौताको २०औँ वर्ष पूरा भएको यस ऐतिहासिक तथा संवेदनशील घडीमा हामी नयाँ सरकार, राजनीतिक दलहरू, संसद्, मानव अधिकार आयोग तथा सरोकारवाला सबै निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । अब पीडितलाई आश्वासनको पोको बाँडेर थप प्रतीक्षा गराउने समय सकिएको छ । पीडितलाई न्यायको प्रत्याभूति गराउन अब ढिलाइ गरिनु हुँदैन । नयाँ सरकारले संक्रमणकालीन न्याय प्रक्रियालाई सही बाटोमा हिँडाइ शीघ्र तार्किक निष्कर्षमा पु¥याउन सर्वोच्च अदालतको आदेश र संक्रमणकालीन न्यायका स्थापित मान्यताबमोजिम पीडितमैत्री र विश्वसनीय सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अविलम्ब गठन गर्नुपर्दछ । राजनीतिक भागबन्डा र दलीय स्वार्थभन्दा माथि उठेर पीडित समुदायको अर्थपूर्ण सहभागिता र विश्वासमा आयोगहरू गठन गरिनुपर्छ, जसमा नियुक्त हुने पदाधिकारीहरू इमानदार, निष्पक्ष, सक्षम र मानव अधिकार तथा संक्रमणकालीन न्यायको मर्म बुझेका हुनुपर्दछ । यसैगरी, हत्या, बलपूर्वक बेपत्ता, यातना र बलात्कार तथा यौनजन्य हिंसाजस्ता गम्भीर मानव अधिकार उल्लंघनका घटनामा कुनै पनि बहानामा आममाफी नदिई सत्य अन्वेषण गर्ने र दोषीलाई कानुन बमोजिम जवाफदेही बनाउने स्पष्ट व्यवस्था सुनिश्चित गरिनुपर्दछ । सम्झौताको मर्मअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको स्थिति छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गरिनुपर्दछ र पीडित परिवारलाई सत्य थाहा पाउने अधिकारको सम्मान गरिनुपर्दछ । साथै, पीडितको परिपूरणको अधिकारलाई कागजमा सीमित नराखी शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, मनोसामाजिक परामर्श र सामाजिक सम्मानसहितको समग्र परिपूरण प्याकेज लागू गरिनुपर्दछ । विस्थापितहरूको ससम्मान पुनस्र्थापना र कब्जा गरिएका सम्पत्तिको पूर्ण फिर्ता तथा क्षतिपूर्तिको कार्यलाई प्रभावकारी ढंगले सम्पन्न गर्दै न्याय प्रक्रियाका हरेक चरणमा पीडित तथा साक्षीहरूको सुरक्षा, गोपनीयता र मर्यादाको पूर्ण प्रत्याभूति गरिनुपर्दछ ।

निष्कर्ष ः विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसकेको छ । दुई दशक लामो यो अवधिमा पीडितहरूले सहनुपरेको पीडा र न्यायका लागि गरेको संघर्षलाई राज्यले अब थप उपेक्षा गर्न सक्दैन । न्यायमा हुने ढिलाइले पीडितको घाउ झनै गहिरो बनाउँछ र समाजमा अविश्वास तथा असन्तोषको बीउ रोप्छ । पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई सुनिश्चित नगरी शान्ति सम्झौताको यात्रा कहिल्यै पूर्ण हुन सक्दैन । तसर्थ, पीडितलाई न्यायको प्रत्याभूति गराउने कार्यमा अब एक क्षण पनि ढिलाइ गरिनु हुँदैन । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा उल्लेखित बाँकी कार्यभारहरू इमानदारीपूर्वक कार्यान्वयन गर्दै संक्रमणकालीन न्याय प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पु¥याउन वर्तमान नयाँ सरकार र सम्बद्ध सबै सरोकारवालाहरूको तत्काल र गम्भीर ध्यानाकर्षण हुन अपरिहार्य छ । पीडितले न्याय पाए मात्र शान्ति सम्झौताले सार्थकता पाउनेछ र देशले साँचो अर्थमा दिगो शान्ति र न्यायपूर्ण समाजको बाटो समात्न सक्नेछ ।

(लेखक गौतम संक्रमणकालीन न्यायको क्षेत्रमा कार्यरत छन् ।)

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार