आजदेखि १०औँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा



वीरेन्द्रनगर ।

लामो प्रतीक्षा, पूर्वाधार निर्माणको ढिलाइ र व्यवस्थापकीय चुनौतीबीच कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको आयोजनालाई कर्णालीको खेलकुद विकाससँग जोडेर हेरिएको छ । प्रतियोगितालाई लक्षित गरेर निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला पनि औपचारिक रूपमा प्रदेश सरकारको मातहतमा आएको छ ।

निर्माण सम्पन्न भएको लामो समयसम्म हस्तान्तरण हुन नसकेको रंगशाला सोमबार एक समारोहबीच प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरेसँगै यसको स्वामित्व र सञ्चालन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारमा आएको छ । झण्डै एक अर्ब ५९ करोड ४७ लाख रूपैयाँँ लागतमा निर्माण गरिएको रंगशालामा १० हजार दर्शक अटाउने क्षमता छ । फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आट्र्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहलसहितका संरचना निर्माण गरिएका छन् ।

राष्ट्रिय खेलकुदका प्रमुख प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले तयार गरिएको यो संरचना कर्णालीको खेलकुद इतिहासमा महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । तर, रंगशाला निर्माणको यात्रा सहज रहेन । २०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेपछि निर्माण सुरु भएको रंगशाला सम्झौताअनुसार २०८१ जेठसम्म सम्पन्न हुनुपर्ने थियो । एमएसी–जीएसएल जेभीले निर्माणको जिम्मा पाए पनि निर्धारित समयभन्दा ढिलो गरी निर्माण प्रक्रिया टुंगिएको हो ।

निर्माण सम्पन्न भएपछि पनि प्राविधिक प्रतिवेदन, अन्तिम भुक्तानी र हस्तान्तरण प्रक्रियाका कारण रंगशाला प्रदेश सरकारको स्वामित्वमा आउन सकेको थिएन ।
विगतमा खेल पूर्वाधारको अभावका कारण कर्णालीका खेलाडीले नियमित प्रशिक्षण र प्रतिस्पर्धाका लागि अन्य प्रदेशका संरचनामा निर्भर हुनुपर्ने अवस्था थियो । प्रदेश राजधानी वीरेन्द्रनगरमा आधुनिक रंगशाला निर्माण भएपछि त्यो निर्भरता कम गर्ने सम्भावना खुलेको छ ।

तर, संरचना निर्माण हुँदैमा खेलाडी उत्पादन स्वतः हुँदैनन् । त्यसका लागि नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक, खेल सामग्री, विद्यालयस्तरबाट प्रतिभा पहिचान, स्थानीय प्रतियोगिता र खेलाडीलाई आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने हुन्छ । रंगशालालाई वर्षमा एकपटक ठूला प्रतियोगिता आयोजना गर्ने स्थलमा सीमित राख्ने कि वर्षभरि खेलाडीको अभ्यास र उत्पादन केन्द्र बनाउने भन्ने प्रश्न अब प्रदेश सरकारसामु छ ।

त्यस्तै, कर्णालीका दुर्गम जिल्लामा खेलकुद पूर्वाधार र प्रशिक्षणको पहुँच विस्तार गर्नु पनि उत्तिकै आवश्यक छ । दसौँ राष्ट्रिय खेलकुदले कर्णालीलाई राष्ट्रिय खेलकुदको नक्सामा स्थापित गर्ने अवसर दिएको छ । यसले खेलाडीलाई प्रतिस्पर्धाको मञ्च, प्रदेशलाई आफ्नो क्षमता देखाउने अवसर र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने सम्भावना प्रदान गरेको छ । राष्ट्रिय खेलकुद सुरु हुने चरणमा मात्रै औपचारिक हस्तान्तरण हुनुले आयोजना व्यवस्थापनका प्रक्रियागत चुनौती पनि उजागर गरेको छ ।

अब प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नुका साथै यति ठूलो लगानीमा बनेको संरचनाको नियमित सञ्चालन, मर्मतसम्भार र दीर्घकालीन उपयोग सुनिश्चित गर्नु प्रदेश सरकारका लागि अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ ।

३२ खेलमध्ये २३ खेल सुर्खेतमा

दसौँ राष्ट्रिय खेलकुदलाई सुर्खेतमा सीमित नराखी कर्णालीका विभिन्न जिल्लासम्म विस्तार गर्ने तयारी गरिएको छ । प्रतियोगिताका खेल सुर्खेत, जुम्ला, दैलेख, सल्यान, कालिकोट र पश्चिम रूकुमसहित लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन गर्ने योजना छ । कूल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । सल्यान, बाँके र बर्दियामा दुई–दुई तथा दैलेख, कालिकोट र पश्चिम रूकुममा एक–एक खेल सञ्चालन गर्ने तयारी छ ।

यसले सुर्खेतलाई प्रतियोगिताको मुख्य केन्द्र बनाएको छ भने अन्य जिल्लालाई पनि राष्ट्रिय खेलकुदसँग जोड्ने अवसर दिएको छ । सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी र साइक्लिङलगायतका खेल सञ्चालन हुनेछन् । बाँकेको नेपालगन्जमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र खोखो प्रतियोगिता आयोजना गर्ने तयारी छ ।

सल्यानमा जुडो र कुस्ती, दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल र पश्चिम रूकुममा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछन् । विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने निर्णयले राष्ट्रिय खेलकुदलाई भौगोलिक रूपमा विस्तार गर्ने अवसर दिएको छ । खेलाडी, प्रशिक्षक, निर्णायक र दर्शकको आवागमनले स्थानीय बजार, होटल, यातायात र पर्यटन क्षेत्रमा गतिविधि बढाउन सक्ने अपेक्षा गरिएको छ । तर, जिल्लाअनुसार खेलस्थलको तयारी, यातायात, आवास, स्वास्थ्य सेवा र प्राविधिक व्यवस्थापनको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।

३८४ स्वर्णका लागि ११ टोलीबीच प्रतिस्पर्धा 

राष्ट्रिय खेलकुद परिषद्ले तयार पारेको प्रस्तावित खेलतालिकाअनुसार प्रतियोगितामा कुल ३८४ इभेन्ट समावेश छन् । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । देशभरका खेलाडी एउटै राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दा नयाँ प्रतिभाको पहिचान, खेलाडीको क्षमता परीक्षण र राष्ट्रिय टोलीका सम्भावित खेलाडी छनोटका लागि समेत प्रतियोगिता महत्वपूर्ण बन्नेछ ।

प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई आठ हजार रूपैयाँँ पुरस्कार दिने व्यवस्था गरिएको छ । टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई आठ हजार रूपैयाँँ प्रदान गरिनेछ । यस्तै, प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष बनेको छ ।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार संघीय सरकारले प्रतियोगिता सञ्चालनका लागि ४५ करोड रूपैयाँँ बजेट व्यवस्थापन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता सञ्चालनका लागि ७२ करोड रूपैयाँँसम्म खर्च गर्ने सीमा निर्धारण गरेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ९ गते मंगलबार