नेपालगन्ज ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सञ्चालन हुने पौडी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगन्जस्थित नेपालगन्ज पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए)सहित ११ टोलीका करिब दुई सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ४६ स्पर्धा समावेश गरिएका छन् ।
प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न नेपाल पौडी संघ र नेपालगन्ज स्विमिङ क्लबले आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरेका छन् । प्रतियोगिता सञ्चालन, खेल व्यवस्थापन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउन दुवै संस्थाले समन्वय गरिरहेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विशेष आकर्षणका रूपमा पदक विजेता खेलाडीले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
यसले राष्ट्रिय प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट र प्रतिभा पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नेपालगन्जमा हुने प्रतियोगिताले नेपाली पौडी खेलको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्