नेपालको राजनीतिक इतिहासमा विस्तृत शान्ति सम्झौता एउटा ऐतिहासिक उपलब्धि हो । सशस्त्र द्वन्द्वको अन्त्य गर्दै मुलुकलाई शान्ति, स्थायित्व र लोकतान्त्रिक रूपान्तरणको बाटोमा अघि बढाउने उद्देश्यसहित २०६३ मङ्सिर ५ गते तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको थियो । यसले एक दशक लामो सशस्त्र द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्दै मुलुकमा नयाँ राजनीतिक यात्राको ढोका खोलेको थियो । आज मङ्सिर ५ गते उक्त सम्झौता भएको २० वर्ष पूरा भएको छ । दुई दशकको यो अवधिमा नेपालले राजनीतिक तथा संवैधानिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरे पनि शान्ति सम्झौताका कतिपय मूल प्रतिबद्धता अझै पूरा हुन सकेका छैनन् । शान्ति सम्झौता केवल तत्कालीन द्वन्द्वरत पक्षबीचको युद्धविराम थिएन । यो हिंसाको राजनीतिबाट शान्तिपूर्ण प्रतिस्पर्धा र लोकतान्त्रिक शासन व्यवस्थातर्फको ऐतिहासिक प्रस्थानविन्दु पनि थियो । सम्झौताले संविधानसभाको निर्वाचन, राज्यको पुनःसंरचना, लोकतान्त्रिक गणतन्त्रको स्थापना, मानव अधिकारको संरक्षण र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसैको जगमा संविधानसभाको निर्वाचन भयो, २४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भयो । संविधानसभाबाट २०७२ सालमा संविधान जारी हुनु पनि शान्ति प्रक्रियाकै महत्वपूर्ण उपलब्धि हो । दुई दशकको अवधिमा राजनीतिक व्यवस्था फेरिएको छ । राज्यका संरचनामा समावेशिता र सङ्घीयताको अभ्यास सुरु भएको छ । नागरिकले मौलिक हक तथा अधिकार प्राप्त गरेका छन् ।
शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा र आवधिक निर्वाचनमार्फत सरकार परिवर्तन हुने लोकतान्त्रिक अभ्यास स्थापित भएको छ । हिजो बन्दुक बोकेर राजनीतिक परिवर्तनको सपना देख्ने शक्ति आज संसदीय राजनीतिमा प्रतिस्पर्धा गरिरहेको छ । यी उपलब्धिलाई शान्ति सम्झौताले सिर्जना गरेको राजनीतिक वातावरणको परिणामका रूपमा लिनुपर्छ । तर, राजनीतिक उपलब्धि प्राप्त हुँदैमा शान्ति प्रक्रिया पूर्ण भएको मान्न सकिँदैन । शान्ति सम्झौताको सबैभन्दा महत्वपूर्ण तर अपूरो पक्ष सङ्क्रमणकालीन न्याय हो । द्वन्द्वका क्रममा भएका हत्या, बेपत्ता, यातना, यौन हिंसा तथा अन्य मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित नागरिकले अझै पूर्ण न्याय पाउन सकेका छैनन् । आफ्ना परिवारका सदस्यको अवस्था थाहा नपाएका बेपत्ता व्यक्तिका परिवारको पीडा उस्तै छ । आफन्त गुमाएका परिवारले सत्य, न्याय र परिपूरणको अपेक्षा गरिरहेका छन् । द्वन्द्वपीडितका घाउमा मलम लगाउने र उनीहरूलाई न्यायको अनुभूति गराउने जिम्मेवारी राज्य र राजनीतिक दलको हो । शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि पीडितले न्यायका लागि प्रतीक्षा गरिरहनुपर्ने अवस्था लोकतान्त्रिक व्यवस्थाका लागि सुहाउँदो विषय होइन । सङ्क्रमणकालीन न्यायलाई राजनीतिक स्वार्थ र सत्ता समीकरणको विषय बनाइनु हुँदैन । यसलाई कुनै दल वा पक्षको जितहारसँग जोडेर हेर्नु पनि उचित हुँदैन । पीडितको सहमति, सर्वोच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय मानव अधिकारका मान्यता र न्यायका स्थापित सिद्धान्तलाई आधार बनाएर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी प्रक्रियालाई निष्पक्ष, विश्वसनीय र परिणाममुखी बनाउन आवश्यक छ ।
पीडितलाई न्याय दिने नाममा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा उन्मुक्ति दिने अवस्था आउनु हुँदैन भने न्यायका नाममा अनावश्यक ढिलाइ गरेर पीडितलाई थप पीडा दिने काम पनि स्वीकार्य हुन सक्दैन । अर्कोतर्फ, शान्ति सम्झौताले परिकल्पना गरेको सामाजिक तथा आर्थिक रूपान्तरणको लक्ष्य पनि अपेक्षाअनुसार पूरा हुन सकेको छैन । द्वन्द्वका कारण विस्थापित भएका नागरिकको पुनःस्थापना, प्रभावित क्षेत्रको विकास, रोजगारी सिर्जना, सामाजिक विभेदको अन्त्य र राज्यका अवसरमा समान पहुँच सुनिश्चित गर्ने काम अझै चुनौतीपूर्ण छन् । राजनीतिक परिवर्तनले जनताको दैनिक जीवनमा अनुभूति हुने परिवर्तन ल्याउन सकेन भने शान्ति प्रक्रियाको उपलब्धि अधुरै रहन्छ । त्यसैले शान्तिलाई केवल युद्ध नहुनुको अवस्था नभई न्याय, समानता, अवसर र सम्मानसहितको जीवनका रूपमा बुझ्नुपर्छ । शान्ति सम्झौताको २० वर्ष पूरा भएको अवसरमा यसको उपलब्धिको प्रशंसा गरेर मात्र पुग्दैन, अपूरा प्रतिबद्धता पूरा गर्ने राष्ट्रिय सङ्कल्प पनि आवश्यक छ । राजनीतिक दलहरूले विगतका कमजोरी स्वीकार गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन इमानदार पहल गर्नुपर्छ । राज्यले पीडितको आवाज सुन्ने, उनीहरूको सम्मान र सुरक्षाको प्रत्याभूति गर्ने तथा न्यायिक प्रक्रियालाई निष्कर्षमा पु¥याउने जिम्मेवारीबाट पन्छिन मिल्दैन । इतिहासको घाउ बल्झाइराख्नु होइन, सत्यको स्वीकारोक्ति र न्यायको सुनिश्चिततामार्फत त्यसलाई निको पार्नु आवश्यक छ । बीस वर्षअघि बन्दुक बिसाएर शान्तिको बाटो रोजिएको थियो । अबको दायित्व शान्तिलाई संस्थागत गर्दै न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माण गर्नु हो । शान्ति सम्झौताको वास्तविक सफलता कागजमा लेखिएका प्रतिबद्धतामा होइन, द्वन्द्वपीडितले न्याय पाएको र आम नागरिकले शान्तिको अनुभूति गर्न सकेको अवस्थामा मात्र प्रमाणित हुनेछ ।









प्रतिक्रिया दिनुहोस्