गोपालप्रसाद भट्टराई । कात्तिक ।
खेलकुदलाई स्थानीय पर्यटन प्रवद्र्धनसँग जोड्ने उद्देश्यका साथ अर्घाखाँचीको भूमिकास्थान–१०, धनचौरस्थित पर्यटकीय स्थल आरिचौर खेलमैदानमा प्रथम धनचौर टी–१२ क्रिकेट प्रतियोगिता सुरु भएको छ । मुनलाइट युवा क्लबको आयोजना र धनचौर युवा समाजको सहआयोजनामा कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगिताको भूमिकास्थान नगरप्रमुख झविलाल थापाले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताले स्थानीय युवाको खेलप्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नुका साथै धनचौरका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
खेलकुदमार्फत स्थानीय क्षेत्रको पहिचान विस्तार गर्ने र युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उद्घाटन समारोहमा नगरप्रमुख थापा र भूमिकास्थान–१० का वडाध्यक्ष खगेश्वर पन्थीले खेलकुदले शारीरिक स्वास्थ्य, प्रतिभा विकास, सामाजिक एकता र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । खेल तथा खेलाडीको विकास र हितका लागि आफूहरूले काम गरिरहेको उल्लेख गर्दै उनीहरूले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खेलकुदको माध्यमबाट धनचौरका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटन विकासमा योगदान पु¥याउने आयोजकको प्रयासको उनीहरूले खुलेर प्रशंसा गरे । नगरप्रमुख थापाले सेङलेङ होमस्टे सञ्चालनका लागि नगरपालिकाले गरेको लगानी र अघि सारेका योजनालाई सफल बनाउन स्थानीयवासीको साथ आवश्यक रहेको बताए । उनले सेङलेङमा रहेको चिया बगानलाई समेत कृषि पर्यटनसँग जोड्न सकिने उल्लेख गर्दै स्थानीय सम्भावनाको सदुपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे ।
धनचौर तथा आसपासका क्षेत्रमा धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेका विभिन्न स्थल रहेका छन् । सेङलेङस्थित पाथीभरा मन्दिर, सेङलेङदह, आरिचौर, लक्ष्मीडाँडा गुम्बा, मृगस्थली झरना, सिद्धगुफा र नुवाकोट दरबार, पोखेडाँडा लगायतका स्थल हुँदै भूमेकाथान मन्दिर पुग्ने र त्यहीँबाट सन्धिखर्कसहित अन्तरपालिका भ्रमण गर्न सकिने बताए । यी पर्यटकीय स्थलमा व्यावसायिक पर्यटकीय गतिविधि विस्तार गर्न सकिने नगरप्रमुख थापाको तर्क छ ।
यी सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्न प्रचार–प्रसारसँगै पूर्वाधार विकास, स्थानीय सहभागिता र पर्यटकीय गन्तव्यबीचको समन्वय आवश्यक देखिन्छ । खेलकुद प्रतियोगिताजस्ता कार्यक्रमले स्थानीय क्षेत्रलाई चिनाउने अवसर प्रदान गर्ने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिन सके धनचौरको पर्यटन विकासमा समेत योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख रूपैयाँँ र उपविजेताले नगद ५० हजार रूपैयाँँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा भूमिकास्थान–१० का जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा, खेलप्रेमी युवा तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्