नेपाल प्रिमियर लिगः लुम्बिनीको उपाधि रक्षाको अभियान सुखद सुदूरपश्चिममाथि शानदार जित



नन्दराम जैशी । सुुर्खेत ।

साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै उपाधि रक्षाको अभियान सुखद बनाएको छ । बलिङमा सुदूरपश्चिमलाई कमजोर अवस्थामा पु¥याएको लुम्बिनीले ब्याटिङमा पनि आक्रामक प्रदर्शन गर्दै ८७ रनको सामान्य लक्ष्य १० ओभरभित्रै पूरा गरेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो ।

जितसँगै लुम्बिनीले प्रतियोगिताको सुरुवातमै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ । अर्कोतर्फ सुदूरपश्चिमका लागि भने पहिलो खेल नै निराशाजनक रहेको छ । लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आसिफ शेखको आक्रामक सुरुवात निर्णायक बन्यो । सर्टले १८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए । आसिफले ३२ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

लक्ष्य सानो भए पनि लुम्बिनीले सुरुवातदेखि नै रनको गति तीव्र राख्यो । सर्ट र आसिफको साझेदारीले सुदूरपश्चिमका बलरलाई दबाबमा राख्यो । पहिलो विकेटका लागि भएको ७१ रनको साझेदारी टुट्दा लुम्बिनी जितको निकै नजिक पुगिसकेको थियो । निरोशन डिक्वेला सात रनमा बोल्ड भए भने शमिम हुसेन एक रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पाँच रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । तर, लुम्बिनीको तीव्र रनगतिलाई रोक्न सुदूरपश्चिमका बलर सफल भएनन् ।

लुम्बिनीको जितको वास्तविक आधार भने पहिलो इनिङ्समा देखिएको उत्कृष्ट बलिङ प्रदर्शन थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै समेटियो । टोलीले निर्धारित २० ओभरसमेत पूरा गर्न सकेन । लुम्बिनीका किशोरी महतोले चार विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ क्रम ध्वस्त पारे । शेर मल्लले तीन विकेट लिएपछि सुदूरपश्चिम ठूलो संकटमा परेको थियो । शाड्ली भानले एक तथा तिलकराज भण्डारी र कप्तान रोहितकुमार पौडेलले एक–एक विकेट लिए ।

सुदूरपश्चिमका ब्याटरले भने सुरुदेखि नै लुम्बिनीका बलरको दबाब सामना गर्नुप¥यो । नियमित अन्तरालमा विकेट गुमाउँदा टोलीले ठूलो साझेदारी बनाउन सकेन । कुनै पनि ब्याटरले लामो समय क्रिजमा टिकेर इनिङ्स सम्हाल्न नसक्नु सुदूरपश्चिमको कमजोर स्कोरको प्रमुख कारण बनेको हो । चौथो ओभरको पहिलो बलमा शेर मल्लले विनोद भण्डारीलाई एलबीडब्ल्यू आउट गर्दै लुम्बिनीलाई पहिलो सफलता दिलाए । विनोदले नौ रन बनाए । त्यसपछि आरिफ शेख खाता नखोली आउट भए ।

सुरुआती विकेट गुमाएपछि सुदूरपश्चिममाथि दबाब बढ्दै गयो । २४ रन बनाउँदा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले ३४ रन पुग्दा चार विकेट गुमाइसकेको थियो । सैफ अली जैबले १३ रन बनाए भने ब्रान्डन म्याकमुलेन दुई र इशान पाण्डे सात रनमा आउट भए । त्यसपछि पनि विकेट पतन रोकिएन । शेर्फन रदरफोर्ड एक रनमा आउट भए भने स्कट कुगेलाइन र हेमन्त धामीले खाता खोल्न सकेनन् । अनिल खरेल सात रनमा आउट हुँदा अभिनास बोहरा अविजित रहे । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । उनले २३ बलको सामना गरे । तर, कप्तानको व्यक्तिगत प्रदर्शनले मात्र टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पु¥याउन सकेन । सैफ अली जैबको १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा दबदबा, ब्याटिङमा तीव्रता

लुम्बिनीको प्रदर्शनलाई हेर्दा टोलीले जितका लागि दुवै पक्षमा सन्तुलित खेल देखाएको छ । बलरहरूले सुदूरपश्चिमलाई कम स्कोरमा सीमित गरे भने ब्याटरले कुनै अनावश्यक दबाब नलिई तीव्र गतिमा लक्ष्य पछ्याए । विशेषगरी किशोरी महतो र शेर मल्लको प्रदर्शनले लुम्बिनीको जित सहज बनायो । उनीहरूले सुदूरपश्चिमको ब्याटिङ क्रमलाई लगातार दबाबमा राखे । अर्कोतर्फ, डार्सी सर्टको आक्रामक ब्याटिङले लक्ष्य पछ्याउने क्रममा आवश्यक रनरेटभन्दा निकै तीव्र गतिमा रन जुटायो ।

क्रिकेटमा सानो लक्ष्य पछ्याउँदा पनि सुरुवाती विकेटले खेलमा अनिश्चितता थप्ने गर्छ । तर, सर्ट र आसिफको साझेदारीले लुम्बिनीलाई त्यस्तो अवस्थाबाट टाढा राख्यो । पहिलो विकेटका लागि भएको साझेदारीले खेलको नतिजा चाँडै लुम्बिनीतर्फ मोडिदियो । तर, प्रतियोगिताको पहिलो खेलकै आधारमा कुनै टोलीको समग्र क्षमता वा उपाधि यात्राको निष्कर्ष निकाल्न नमिल्ने क्रिकेट प्रशिक्षक निश्चल रावल बताउँछन् । उनका अनुसार लुम्बिनीका लागि यो जितले आत्मविश्वास बढाउनेछ भने सुदूरपश्चिमले आगामी खेलमा ब्याटिङ सुधार गर्नुपर्ने छ ।

‘सुदूरपश्चिममाथिको जित लुम्बिनीका लागि अंकतालिकामा सुखद सुरुवात हो, यसले उपाधि रक्षाको यात्रामा आत्मविश्वास पनि बढाउने अवसर बनेको छ,’ उनले भने, ‘तर, लामो प्रतियोगितामा आफ्नो लय कायम राख्नु र बलियो प्रतिस्पर्धाबीच निरन्तर उत्कृष्ट प्रदर्शन गर्नु नै साविक विजेताका लागि वास्तविक चुनौती पनि छ ।’ नेपाल प्रिमियर लिगको तेस्रो संस्करण प्रधानमन्त्री बालेन शाहले उद्घाटन गरेका हुुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार प्रधानमन्त्री शाहले मैदानमा पुगेर अम्पायरलाई बल हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक उद्घाटन भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा आठ टोली सहभागी छन् । लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा आठवटै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ ।

एनपीएलबाट डेढ अर्ब आम्दानीको अपेक्षा

क्यानले यस संस्करणमा प्रायोजन, टिकट बिक्री र प्रसारण अधिकारबाट आम्दानी बढ्ने अपेक्षा गरेको छ । क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताबाट कूल एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । ‘प्रायोजनबाट २० करोड रुपैयाँ तथा टिकट बिक्री र प्रसारण अधिकारबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने क्यानको अपेक्षा छ,’ उनले भने, ‘प्रतियोगिताको बढ्दो व्यावसायिक आकर्षणसँगै पुरस्कार राशि वृद्धि गरिनुलाई पनि एनपीएलको आर्थिक विस्तारसँग जोडेर हेरिएको छ ।’

उनका अनुसार एनपीएलको तेस्रो संस्करणको सुरुवातसँगै नेपाली क्रिकेटमा प्रतिस्पर्धा, व्यावसायिकता र दर्शक आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा साविक विजेता लुम्बिनीको पहिलो खेलको प्रदर्शनले प्रतियोगितामा उसको सम्भावनाबारे सकारात्मक संकेत दिएको उनले बताए । यसैबीच, तेस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ । तेस्रो हुने टोलीलाई ४० लाख र चौथो हुने टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसअघिका पहिलो र दोस्रो संस्करणका विजेताले एक–एक करोड रुपैयाँ प्राप्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार