रहस्य र अपेक्षाले घेरिएको प्रधानमन्त्रीको मुस्ताङ भ्रमण



काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेन हिमाली जिल्ला मुस्ताङ पुगेर त्यहाँ रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका छन् । श्रीमती र छोरीसहित भ्रमणमा निस्किएका प्रधानमन्त्रीको यो यात्रालाई सरकारले भने निजी भ्रमण भनेको छ । प्रधानमन्त्रीको कार्यालय र उनको सचिवालयले उनको भ्रमणको विवरण सार्वजनिक गरेका छैनन् । यद्यपि शनिबार दिउँसो करिब ३ बजे जोमसोम पुगेका प्रधानमन्त्री घरपझोङ–३ स्थित पुथाङ विमानस्थलको होटल ओम्स होममा बसेका थिए ।

करिब साढे तीन घण्टा आराम गरेर साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा पूजाआजा गरेका थिए । करिब आधा घण्टा पूजाआजा गरेपछि प्रधानमन्त्री जोमसोम नै फर्किएर बास बसेका थिए । प्रधानमन्त्रीको भ्रमण निजी भएकाले मुस्ताङ बसाइका क्रममा कुनै औपचारिक भेटघाट वा कार्यक्रम राखिएन । उनले मुक्तिनाथबाहेक अन्य धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन पनि नगरेका बताइएको छ । प्रधानमन्त्रीको भ्रमणको फोटो तथा भिडिओहरू नागरिकहरू र केही पत्रकारहरूले खिचेर सार्वजनिक गरेबाहेक उनको यो भ्रमण गोप्य राखिएको छ ।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमण उनी वरिष्ठ नेता रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसेका दिन नै भएको थियो । पार्टीले पनि प्रधानमन्त्रीको भ्रमणको विषयमा कुनै जानकारी दिएको छैन । प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे स्थानीय प्रशासन र प्रहरीसमेतसँग समन्वय नगरेका खबरहरू सार्वजनिक भए । हरेक क्षण सुरक्षा खतरामा रहने देशको प्रमुख कार्यकारीको भ्रमणमा पनि प्रहरी प्रशासनसँग समन्वय नहुनुलाई कतिपयले लापरवाही भनेका छन् भने कतिपयले यस्तो शैलीको पनि प्रशंसा गरेका छन् । मुस्ताङबासीले प्रधानमन्त्रीको भ्रमणलाई अपेक्षाको नजरबाट हेरेका छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल पनि सहभागी रहेकोले उनको यो भ्रमण पूर्णतया पारिवारिक नरहेको भन्दै कतिपयले टिप्पणी गरेका छन् । यद्यपि प्रधानमन्त्रीले मुस्ताङ पुगेर न कुनै आधिकारिक छलफल गरे, न स्थानीयवासीहरूसँग छलफल गरे । नितान्त सामान्य नागरिकले जस्तो देशको कार्यकारी प्रमुखको भ्रमण भएकोले पनि अनेक टीकाटिप्पणीहरू भएका देखिएका छन् ।

भ्रमणका लागि शुक्रबार काठमाडौँबाट सडकमार्ग हुँदै पोखरा पुगेका प्रधानमन्त्री शाह पोखराबाट पनि स्थलमार्ग भएरै मुस्ताङ गएका थिए । उनले भ्रमणमा आफैँले गाडी चलाएको भिडिओहरू सार्वजनिक भएका थिए । विगतमा प्रधानमन्त्रीको भ्रमणका क्रममा कार्यकर्ताहरूको लावालस्कर तथा तामझाम देखिने गरेकोमा प्रधानमन्त्री बालेनले भने त्यस्तो तामझाम देखाएनन् । कतिपयले प्रधानमन्त्रीले भ्रमणको विस्तृत विवरण दिँदा जताततै भिड लाग्ने र यातायात आवागमन प्रभावित हुनसक्ने भएकोले भ्रमण तालिका गोप्य राखिएको हुनसक्ने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा कहीँ पनि यातायात व्यवस्था प्रभावित भएको पाइएन । विगतमा भने प्रधानमन्त्रीको भ्रमणमा सडक नै खाली गराउने प्रचलन थियो ।शुक्रबार पोखरा पुगेर प्रधानमन्त्रीको टोली अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेको थियो । पोखराबाट मुस्ताङ पुगेका प्रधानमन्त्रीको भ्रमण मुक्तिनाथ दर्शन र पूजाआजामै सीमित भएको भनिए पनि कतिपयले यसलाई भूराजनीतिक विषयसँग पनि जोडेर हेरेका छन् भने कतिपयले पर्यटकीय सम्भावनाको अध्ययन र प्रचारका लागि प्रधानमन्त्रीले अपनाएको उनको निजी शैली मानेका छन् ।

मुस्ताङ जिल्ला युरेनियम तथा प्राचिन बौद्ध संस्कृतिका सम्पदा गुम्बाहरू रहेको जिल्ला हो । साथै यो जिल्लासँग सीमा जोडिएको छिमेकी देश चीनको सुरक्षाका दृष्टिकोणले पनि चासोमा रहेको जिल्ला मानिन्छ । भूराजनीतिक जानकारहरूले मनाङ र मुस्ताङको बहुआयामिक महत्वलाई लिएर अहिले चीन, भारत र अमेरिकाजस्ता देशकहरूकने चासोमा रहेको जिल्लामा रूपमा विश्लेषण गरिरहेका छन् ।

यसैगरी प्रधानमन्त्रीको भ्रमणसँग जोडिएर स्थानीयवासीहरूले त्यस क्षेत्रका स्थानीयहरूमा सडक, पर्यटन तथा पूर्वाधार सुधारको अपेक्षा बढेको खबरहरू पनि प्रकाशित छन् । कालीगण्डकी करिडोरअन्तर्गतको ७६ किलोमिटर बेनी–जोमसोम सडक २०७४ सालदेखि निर्माणाधीन छ । बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकखण्डमा साना–ठूला पहिरोका कारण बर्सेनि यातायात प्रभावित हुँदै आएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि पहिरोले अवरुद्ध भएको सडकको अवरोध पन्छाएर बाटो खुलाइएको थियो । यस्तो अवस्थामा प्रधानमन्त्रीको सडक यात्राले जोखिमयुक्त क्षेत्रको वास्तविक अवस्था बुझ्ने अवसर दिएको स्थानीयको बुझाइ छ ।

यसैगरी धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मुस्ताङले सडक, पर्यटन पूर्वाधार, यातायात, सरसफाइ र पर्यटक सेवाका क्षेत्रमा अझै थुप्रै चुनौती सामना गरिरहेको बेला प्रधानमन्त्रीको भ्रमणले ती समस्याहरू समाधानमा कदम चालिने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीले सडकमार्गबाटै यात्रा गरेर आफैँले अवस्थाको प्रत्यक्ष अनुभव गरेपछि त्यसको नीति निर्माणमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सेनाले हटायो पत्रकारको क्यामराबाट प्रधानमन्त्रीको भिडिओ

मुस्ताङबाट फर्किएर पोखरा पुगेका प्रधानमन्त्री वालेन्द्र शाहको भिडिओ उनको सुरक्षार्थ खटिएको नेपाली सेनाले पत्रकारको क्यामराबाट हटाएको छ । मुस्ताङबाट बागलुङ, पर्वत हुँदै पोखरा फर्किएर पोखरा–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका प्रधानमन्त्री शाहको भिडिओ मेरो साथी टीभी डटकमका पत्रकार सुरेश सुनारले आफ्नो क्यामेरामा कैद गरेकोमा उक्त भिडिओ सेनाले हटाउन लगाएको हो ।

मझेरी मन्जिल रिसोर्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको हो ।विजयपुर खोलानजिकै रहेको रिसोर्टको पारिपट्टिबाट आफूले भिडिओ खिचिरहेको देखेपछि सेना गाडी लिएर आएको र क्यामेराबाट भिडिओ हटाउन लगाएको सुनारले बताएका छन् । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सार्वजनिक पद धारणा गरेका व्यक्तिका बारेमा सुसूचित गर्ने उद्देश्यले भिडिओ खिच्दा नेपाली सेनाले नै हटाउनु प्रेस स्वतन्त्रताविरोधी कार्य भएको बताएका छन् ।

प्रधानमन्त्रीले प्रहरी र स्थानीय प्रशासनलाई भ्रमणबारे जानकारी नदिए पनि सेनाकै सुरक्षामा उनी मुस्ताङ पुगेर पर्किएका छन् । सेनाले लजका कर्मचारी र सञ्चालकलाई परिचयपत्रका आधारमा प्रवेश दिएको थियो भने अन्यलाई आउजाउ गर्न रोक लगाएको बताइएको छ । सञ्चारकर्मीहरूलाई लजभन्दा आधा किलोमिटर वरै रोकिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार