वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके जिल्लामा पछिल्ला केही वर्ष लगातार धान खरिदको कोटा घटिरहेको छ । यसवर्ष त १० हजार क्विन्टल मध्यम धान मात्रै खरिद गर्ने भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कोटा तोकेको छ । जुन हालसम्मकै न्यून कोटा हो । गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएको बाँकेको नेपालगन्जस्थित मुख्य कार्याललयले कोटामुताबिक नै धान खरिद गरेको थियो ।
यस वर्षका लागि पनि २० हजार क्विन्टल नै धान खरिदको कोटा माग गरी पठाइएकोमा मागभन्दा आधा मात्रै कोटा निर्धारण भएर आएको कम्पनीको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए । यसरी धान खरिदका लागि निकै कम कोटा निर्धारण भएर आएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल धान खरिदकै लागि माग गरेर पुनः कम्पनीको केन्द्रीय कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको लामिछानेको भनाइ छ ।
अहिले तोकिएको कोटाले बाँकेका किसानहरूले धान बिक्री गर्ने अवसर नपाउने र हानाथाप तथा खरिद व्यवस्थापन गर्न नै नसकिने अवस्था रहेको लामिछानेको भनाइ छ । उनले अब केन्द्रीय कार्यालयले कोटा बढाइदिएमा मात्रै धान खरिद गर्न सकिने अवस्था रहेको बताए । ‘१० हजार क्विन्टल मात्रै खरिदको व्यवस्थापन नै झन्झटिलो हुन्छ । कोटा बढेर आएपछि फेरि प्राथमिक खरिद समितिको बैठक बसेर निर्णय गरेपछि खरिद प्रक्रिया अघि बढ्छ । बढेर आएन भने पनि के गर्ने भन्ने सोच्नुपर्छ,’ लामिछानेले भने ।
बाँकेका धान खरिदका लागि पछिल्ला केही वर्षयता लगातार कोटा घट्दै आएको छ । गतवर्ष २०८२–०८३ मा पनि अघिल्लो आर्थिक वर्षको भन्दा आधामात्रै कोटा तोकिएको थियो । गतवर्ष १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान गरी २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा ४० हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएकोमा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । मु
ख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख लामिछानेले केन्द्रबाटै धान खरिदका लागि कम रकम छुट्याइएकोले कोटा पनि घटेको जानकारी पाएको बताउँछन् । अर्काेतिर खाद्यले समर्थन मूल्यमा धान किनेर तयार गर्ने चामल बजारमा सस्तोमा किनिएको धानबाट तयार भएका चामलसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा घाटा खानुपरिरहेकोले पनि कोटा नबढाइएको हुनसक्ने उनले बताए ।
व्यापारीहरूले भारतबाट सस्तोमा चामल आयात गरेर पहाडी तथा हिमाली जिल्लामा पु¥याएको बताए । तर, खाद्यको चामल तुलनात्मक रूपमा महँगो भएकोले उपभोक्ताले पनि खरिद नगर्ने गरेको उनको भनाइ छ । तर, कम्पनीले यसअघि दिएको कोटामुताबिक धान खरिद गर्न नसक्नु पनि धानको कोटा घटेर आउनुको कारण रहेको देखिएको छ । यस वर्ष बाँकेका लागि २० हजार क्विन्टल कोटा माग गरिएको थियो ।
उता, बर्दियास्थित कम्पनीको मुख्य शाखा कार्यालय राजापुरले यस वर्ष पनि ३० हजार क्विन्टल धान खरिदको लक्ष्य पाएको छ । शाखा प्रमुख कमलराज पाण्डेले २५ हजार मोटा धान र पाँच हजार मध्यम धान खरिदको लक्ष्य पाइएको र तिहारपछि खरिद कार्य सुरु गरिने उनले बताए । बर्दियामा गत वर्ष पनि ३० हजार क्विन्टल नै कोटा तोकिएको थियो भने कोटामुताबिक नै खरिद पनि भएको थियो ।
सरकारले यस वर्ष देशभरबाट १५ हजार मेट्रिकटन धान खरिद गर्ने लक्ष्य राखेको छ । त्यसका लागि ६७ करोड ५० लाख विनियोजन गरिएको छ । यस वर्ष वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ६० र मोटा मध्यम धानको प्रतिक्विन्टल तीन हजार आठ सय ६० रूपैयाँँ तोकिएको छ । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने दाबी सरकारको छ ।
तर, धान खरिद प्रक्रियामा हुने ढिलाइ र कोटाको कमीका कारण किसानहरूले समर्थन मूल्यभन्दा कम मूल्यमा बजारमै धान बेच्न बाध्य हुँदै आएका छन् । यस वर्ष पनि उक्त क्रम रोकिएको छैन । बाँकेमा धान खरिदको अन्यौलताका बीच किसानहरूले पाँच सयदेखि एक हजार रूपैयाँँ प्रतिक्विन्टल कम मूल्यमै बजारमा धान बेचिरहेका छन् । विशेषगरी चाडबाडको जोहो, घरखर्च तथा हिँउदे बालीका लागि चाहिने मल बीउ खरिद गर्न किसानहरूले चाँडै धान बेच्नुपर्ने बाध्यता रहेको बताउँछन् । झन् यस वर्ष बाँकेमा धानको कोटा नै कम निर्धारण भएर आएकोले किसानहरूले बिक्री गर्न पाउने अवसरबाट पनि वञ्चित हुनुपर्ने संकेत देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्