
बझाङ ।
बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । स्थानीयबाट प्राप्त जानकारीअनुसार से००१च ४३७६ नम्बरको जिप ब्रेक फेल भएर बुधबार बिहान दुर्घटनामा परेको हो । १५ जना काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन् । उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिए । जिपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको बताइएको छ । उक्त जिप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । अन्य ७ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्