१० वर्षदेखि अलमलिएको नाक्चेलाग्ना सडक बन्ने आशा



मुगु ।

नेपाल–चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडकको सबैभन्दा कठिन खण्ड मानिएको माग्री भीरको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने उक्त भीरमा नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम अन्तिम चरणमा छ । यसले दुर्गम उत्तरी क्षेत्रका बासिन्दाको सडक पहुँचको वर्षौँदेखिको प्रतीक्षा केही हदसम्म सकिने आशा बढेको छ ।

वर्षौँदेखि सडक निर्माणको मुख्य अवरोधका रूपमा रहँदै आएको यो भीर कडा र चुनौतीपूर्ण चट्टानले भरिएको छ । चट्टान नकाटी माथिल्लो क्षेत्रमा सडक खन्न सम्भव थिएन । अब त्यो बाधा हटेपछि माथिल्लो भागमा सडक निर्माण सहज हुने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार सेनाको सहयोगमा चट्टान काट्ने काम सकिएसँगै माथिल्लो क्षेत्रमा सडक बनाउन सजिलो भएको छ । यसलाई चीनसँग सीमा जोडिएको नाक्चेलाग्नासम्म सडक पु¥याउने अभियानको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

उनका अनुसार माग्री क्षेत्र पहिलेदेखि नै जोखिमयुक्त मानिँदै आएको हो । गत भदौको अविरल वर्षापछि गमगढी–नाक्चेनाङ्ला सडकखण्डका करिब १२ ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको थियो । सालीम गार्ड, अल्कासाँधु, भियालबाडामा, तरासीपाखा र माग्रीगाउँलगायतका ठाउँमा पहिरो खसेको उल्लेख छ । त्यसबेला गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले डोजर लगाएर पहिरो नपन्छाएसम्म सवारीसाधन नचल्ने र स्थानीयलाई हिँडडुल गर्नसमेत कठिन हुने बताएका थिए ।
‘यस्तो भौगोलिक अवस्थामा ३०० मिटर कडा चट्टान काट्नु निर्माणको दृष्टिले मात्र नभई स्थानीयको मनोबलका लागि पनि ठूलो कुरा हो,’ महताराले भने, ‘चालू आर्थिक वर्षभित्रै पुलुसम्म सडक खन्ने लक्ष्यका साथ काम भइरहेको छ । यस सडक निर्माणका लागि १५ करोड रूपैयाँँको ठेक्का लगाएर काम अघि बढाइएको छ ।

सरकारले यो सडकलाई बजेटमा प्राथमिकता दिएको दाबी पनि गरेको छ । अघिल्लो वर्षहरूमा प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाप्चा–गमगढी–नाक्चेलाग्ना सडकका लागि चालू आर्थिक वर्षमा अन्य सडकमा बजेट घट्दासमेत उच्च प्राथमिकतामा बजेट विनियोजन भएको बताएका थिए । कर्णालीले क्षतिपूर्तिसहितको न्याय पाउनुपर्ने भन्दै मुगु कर्णालीजस्ता ठूला जलविद्युत् आयोजना सरकारी कम्पनीमार्फत अघि बढाइएको पनि उनले जानकारी दिएका थिए ।

तर, आयोजनाको सुस्त गति पनि उत्तिकै चर्चामा छ । नेपाल सरकारले २०६२ सालदेखि औपचारिक रूपमा सुरु गरेको यो सडक निर्माणको १० वर्ष बितिसक्दा पनि जम्मा १८ किलोमिटरमात्र ट्र्याक खुलेको छ । गमगढी बजारदेखि नाक्चेलाग्नासम्मको दूरी करिब ९६ किलोमिटर भनिएकाले हिसाब गर्दा कूल दूरीको करिब १९ प्रतिशतमात्र काम भएको देखिन्छ ।

आर्थिक वर्ष २०६२–०६३ मा विस्तृत सर्भे गरिएको यो सडक २०७२–०७३ सालबाट निर्माण सुरु भएको थियो । अर्थात्, २०६२ मा सर्भे र योजना सुरु भए पनि वास्तविक खनजोत अलि पछि मात्र सुरु भएको देखिन्छ । त्यसैगरी २०७३ सालबाट सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको उल्लेख छ ।

सरकारको उच्च प्राथमिकतामा नपरेपछि आवश्यक बजेट विनियोजन नभएर सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । बजेट अभावमा लामो समयदेखि अलपत्र हुँदा मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा सडक सुविधाबाट वञ्चित भएको उल्लेख छ । गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाका अनुसार यो कर्णालीबाट चीन जोडिने सबैभन्दा छोटो दूरीको सडक हो ।

एकातिर मुगु सदरमुकाम गमगढीलाई नाक्चेलाग्ना नाकासँग जोड्ने सडकले अपेक्षित गति लिन सकेको छैन् भने अर्कोतिर मुगुम कार्मारोङ गाउँपालिका अझै सडक सञ्जालबाहिर रहेको छ । गमगढीबाट सडकको दूरी करिब ९६ किलोमिटर छ । नेपाल र चीन जोड्ने १४ वटा परम्परागत नाकामध्ये जिल्ला सदरमुकामदेखि सीमासम्मको दूरीका हिसाबले नाक्चेलाग्ना नाका छोटो मानिन्छ । नाक्चेलाग्ना सडक सञ्जालमा जोडिएमा मुगुमात्र नभई सिंगो कर्णाली प्रदेशले नै फाइदा पाउने विश्वास गरिएको छ ।

यो सडक सम्पन्न भएमा मुगुको उत्तरी क्षेत्रका बासिन्दाको आवागमन सहज हुनेछ । भने स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सजिलो हुनेछ । यस्तै सीमावर्ती क्षेत्रसँगको सम्पर्क विस्तार, मुगुवासीको चीनसँग व्यापार गर्ने सपनालाई टेवा पुग्ने र कर्णाली प्रदेशको समग्र व्यापार र पर्यटनमा सकारात्मक प्रभाव पर्ने जनाइएको छ ।
यो सडकको सफलता मुगुको भित्री सडकमात्र नभई यसभन्दा तल रहेको कर्णाली क्षेत्रको सडक सञ्जालमा पनि भर पर्छ । मुगु पुग्ने मुख्य बाटो नाग्म–गमगढी सडक हो, जुन हिउँद र बर्खा दुवै मौसममा जोखिममा पर्दै आएको छ । उत्तरी सीमासम्म सडक पुगे पनि त्यसलाई वर्षभरि सञ्चालनयोग्य राख्नु अर्को ठूलो चुनौती छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार