१६ वर्षपछि खुल्यो आमाको हत्या गर्ने छोराको फाइल



कैलाली ।

२८ पुस २०६७ सालको कुरा हो, कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ४२ वर्षीय प्रेमबहादुर शाहीले घरायसी विवादमा ६५ वर्षीया आमा सुनरुपा शाहीको टाउकोमा ढुंगाले प्रहार गरेका थिए । छोराको ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी सुनरुपाको भोलिपल्ट नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि भने शाही फरार भएका थिए । त्यही बेला शाहीकी श्रीमती जमुनाले श्रीमान्विरुद्ध सासुआमाको हत्या गरेको अभियोगमा कारबाहीको माग गर्दै उजुरीसमेत दिएकी थिइन् तर, शाही भने अहिलेसम्म पक्राउ परेका थिएनन् ।

विगत १६ वर्षदेखि उनी भारतमै लुकेर बसेका थिए । तीन छोरी र एक छोराका बुवासमेत रहेका शाही कहिलेकाहीँ सुटुक्क घर पनि आउने गरेका थिए । अहिलेसम्म प्रहरीको आँखाबाट छल्दै आएका शाहीले प्रहरीले एउटा गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार शाहीलाई भारतीय प्रहरीको सहयोगमा दिल्ली नजिकैको मेरठबाट नियन्त्रणमा लिइएको हो । उनी भारतमा बसेर जडीबुटीको व्यापार गर्दै आएका थिए । हिमाञ्चलबाट जडीबुटी संकलन गरेर ल्याएर गाउँ–गाउँ पुगेर बिक्री गर्दै आएको पाइएको छ ।

प्रहरीले सोही गोप्य सूचना पाएको थियो । त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई जडीबुटी बिक्री गरिरहेकै अवस्थामा निन्त्रणमा लिएको थियो । पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखिएको छ । घटनाबारे थप इलाका प्रहरी कार्यालय सुखडले अनुसन्धान गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार