
ध्रुव दाहाल,नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष पदका उम्मेदवार
नेपालगन्ज उद्योग वाणिज्य संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुन लागेको बेला तपाईँको उम्मेदवारीले सबै भताभुंग पारिदियो । सर्वसम्मतको प्रयासलाई किन नसघाउनुभएको?
कुन सर्वसम्मतको कुरा गर्नुभएको ? जुन विषयलाई उहाँहरूले सर्वसम्मति भनिराख्नुभएको छ त्यो त राजनीतिक भागबण्डा गरेर मिलाएको र मतदाताहरूलाई उनीहरूको मताधिकारबाट बन्चित गरिएको अवस्था हो । आफ्ना बेथिति र विसंगतिहरूलाई लुकाउनका लागि उहाँहरूले यो सबै प्रपन्च गर्नुभएको हो । उद्योग वाणिज्य संघमा मेला लगाउँदाखेरिको बेथितिदेखि थुप्र्रै कुराहरू रहेका छन् । यिनीहरूले व्यवसायी नभएका फर्जी फर्महरूलाई कलेक्सन गर्ने, त्यसको भागबण्डा गर्ने र सीमित व्यक्तिहरूको कब्जामा संघलाई राख्ने गरेका छन् । चुनाव कसरी जित्न सकिन्छ भनेर मात्रै त्यहाँ बसेर अनेक प्रपन्च गर्ने गरेका छन् । अहिले पनि कति फर्महरू प्यानमा दर्ता छैनन् । कसैको दर्ता छैन् । यो सबै बेथिति देखेपछि संघको पारदर्शिता र वास्तविक व्यवसायीहरूको छाता संगठन बनाउनुपर्छ भनेर हामीले उम्मेदवारी दिएका हौँ ।
आफ्नो नेतृत्व छान्ने अधिकार कुण्ठित गरेर केही अगुवा भनाउँदाहरूले, त्यसमा केही पूर्व अध्यक्ष र केही पूर्व कार्यसमितिकाहरूले सीमित व्यक्तिहरूको घेराबन्दी गरेर गठबन्धन भनेर टिम खडा गरे । त्यसको विरोधमा मैले स्वतन्त्र व्यवसायी समूह गठन गरेर उम्मेदवारी दिएको हुँ । उहाँहरूले त तपार्ईँहरूले सर्वसम्मतिको इतिाहस बन्न लागेको बेला त्यसलाई भाँड्नलाई मात्रै उम्मेदवारी दिनुभयो भन्ने आरोप लगाइरहनुभएको छ । मतदाताले तपाईँहरूलाई पत्याउन्न भन्ने दाबी पनि गरिएको छ । हैन त्यो कसरी सर्वसम्मति हुन्छ ? केही सिमित व्यक्तिहरू मिलेर बनाएको समूहलाई सर्वसम्मत भन्न मिल्छ ? उद्योग वाणिज्य संघका ३८ सय ६३ मतदाता छन् । उनीहरूले मत दिएर आफ्नो नयाँ नेतृत्व ल्याउने होला नि । त्यसबाट बन्चित गराएर जुन गलत अफवाह फैलाइएको छ, त्यसैका विरुद्ध हाम्रो उम्मेदवारी हो । जहाँसम्म मतदाताले हामीलाई पत्याउन्नन् भन्ने तर्क छ, त्यो त व्यवसायीहरूबीच सर्वेक्षण गरे पनि थाहा भइहाल्छ नि । अहिले सबै व्यवसायीहरूले यो अवस्थालाई गलत हो, संघमा बेथिति रहेको छ भन्ने कुरा बताइरहेका छन् । र मतदाताहरूले पत्याउँछन् कि पत्याउँदैनन् भन्ने कुरा त फेयर मतदान भयो भने थाहा भइहाल्छ नि । तर उहाँहरू मतदान पनि स्वच्छ हुन नदिने तयारीमा हुनुहुन्छ । मतदाताको परिचय पत्र फोटो नभएको छपाई गर्दै हुनुहुन्छ भन्ने सुनिएको छ । यदि त्यस्तो हो भने त, सडकमा हिड्दै गरेको जो सुकै व्यक्तिलाई पनि ल्याएर मत दिन लगाए पनि भयो । कुनै न कुनै भेरिफाई गर्ने कागजात हुनुपर्छ भन्ने भन्ने हाम्रो मागलाई उहाँहरूले सुन्नुभएको छैन । निर्वाचन समिति पनि निष्पक्ष नभएको हाम्रो बुझाइ छ ।
त्यस्ता के बेथितिहरू छन् जो लुकाउन खोजिएको भनेर यहाँहरूले आरोप लगाइरहनुभएको छ ?
धेरै कुराहरू छन् । पटक पटक महोत्सव लगाइन्छ तर त्यसको हिसाब पारदर्शी तरिकाले सार्वजनिक गरिँदैन । यसमा मिलोमतो गर्ने भएरै होला कसैले पनि यसको विरोध गरेको देखिँदैन । यतिमात्रै होइन संघका निर्णयहरू सार्वजनिक गरिँदैनन् । सामान्य व्यवसायीहरूको पहुँच नै छैन् संघमा । केही व्यक्तिहरूले मात्रै कब्जा गरेर राखेको देखिन्छ । त्यसै कारणले होला सदस्यहरूले आफैँले आफ्नो फर्म नवीकरण पनि गर्न छोडेका छन् । त्यस्ता फर्महरू नवीकरण गर्नका लागि भनेर अहिले सर्वसम्मत भनेर टिम बनाउँदा अध्यक्षले यति उठाउने, फलानो यति भनेर आएर लिस्ट पनि सबैले देखेकै छन् । यदि संघप्रति मतदाताहरूलाई अपनत्व गराउन सकिएको भए त्यसरी पैसाको ठेक्का दिएर नवीकरण गराउनु पथ्र्यो । अहिले त केही पैसा हुनेहरूले मात्रै संघमा रजगज गर्ने अवस्था आयो ।
तपाईँहरूले संघ कब्जा गर्न खोजियो भनिरहँदा त्यसरी संघलाई कब्जा गर्नुपर्ने विषय वा शक्ति के छ संघमा ?
त्यो त यकिन भन्न सकिएन । तर संघलाई राजनीतिक भ¥याङ बनाउन खोजिएकै छ । संघको नेतृत्वमा पुगेपछि मेयरको टिकट पाइन्छ कि, जनप्रतिनिधिको रूपमा टिकट पाइन्छ कि भन्ने लोभ रहेको देखिन्छ । यसबाहेक अरु अदृष्य कुराहरू पनि होलान् । केही आफ्ना कमी कमजोरीहरू लुकाउन पनि उनीहरू मिलेको नाटक गर्नुपर्ने अवस्था थियो कि । जसरी केही सीमित व्यक्तिहरूले संघलाई निश्चित घेरामा कब्जा गर्न खोजेका छन् त्यसलाई रोक्नैपर्नेछ भन्ने आवाज अहिले सबै व्यवसायीहरूले बोलिरहेका छन् । हामी उहाँहरूकै आवाज लिएर मैदानमा आएका हौँ ।
संघलाई राजनीतिक सिढी तपाईँहरूले पनि बनाउनुहुन्न भन्ने के ग्यारेन्टी छ ? तपाईँहरू पनि त उक्त टिममा नअटाएपछि अर्काे समूह बनाउनुभयो भन्ने आरोप छ नी ?
मेरो सन्दर्भमा संघलाई राजनीतिको लागि सिढी बनाउनुपर्ने आवश्यकता नै छैन । म एकपटक स्थानीय तहको जनप्रतिनिधि भइसकेको मान्छे हो । मेरो लागि राजनीति गर्न संघमै आउनुपर्छ भन्ने आवश्यकता नै छैन् । मैले आँखैअघि बेथिति देख्न नसकेपछि उम्मेदवारी दिएको हुँ । अब भागण्डाको कुरा गर्दा म आफैँ उपाध्यक्ष रहेको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ पनि उक्त भागबण्डामा गयो । तर, मैले त्यसलाई अस्वीकार गरेको हुँ । म चाहेको भए त्यस भागबण्डामा सहभागी हुन नसक्ने भन्ने कुरै छैन् । तर, मलाई त्यसको आवश्यकता नै छैन् ।
त्यसो भए तपाईँहरूको एजेण्डा नै वर्तमान कार्यसमितिको विरोध मात्रै हो त ?
मुख्य एजेण्डा त्यही हो । तर हामीले अरु एजेण्डा पनि सार्वजनिक गरिसकेका छौँ । हामीले हरेक सदस्यले अनावश्यक दबाब, विभेद वा असहजता बिना सम्मानपूर्वक र नैतिक रूपमा व्यवसाय गर्न पाउने वातावरण निर्माण गर्ने विषयमा आवाज उठाउने भनेका छौँ । व्यवसायी–व्यवसायीबीच उत्पन्न विवादमा प्रभावकारी मध्यस्थता र समाधानको संयन्त्र विकास गर्ने, व्यवसायीमाथि पर्ने कर, शुल्क तथा अन्य आर्थिक भारबबारेसंस्थागत दबाब सिर्जना गर्ने, सरकार र संघबीच प्रभावकारी समन्वयको वातावरण बनाउने विषयलाई अघि सारेका छौँ । यी सबै मुद्दाहरूमध्ये अहिले संघको बेथिति नै ठूलो समस्या बनेर आएको छ । हामीले संस्थागत पारदर्शिताका लागिसंघको आम्दानी, खर्च, कार्यक्रम र आर्थिक निर्णयबारे सदस्यलाई स्पष्ट जानकारी दिने, निर्वाचनलाई पारदर्शी, स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक बनाउने प्रतिबद्धता जनाएका छौँ । हामीले संघका विगतका आर्थिक तथा प्रशासनिक विषयहरूको निष्पक्ष समीक्षा तथा छानबिनका लागि समिति गठन गर्ने भनेका छौँ । सम्भव भएसम्म एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन सदस्यसमक्ष सार्वजनिक गर्ने हाम्रो प्रतिबद्धता छ ।व्यवसायिक समस्यामा व्यवसायीलाई प्रारम्भिक परामर्श र समाधानका विकल्प उपलब्ध गराउन विशेष सल्लाहकार संयन्त्र स्थापना गर्ने, प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने, संघको कार्यालयडिजिटल बनाउने र वडा–वडामा पुगेर संघको सदस्यता विस्तार गर्ने हाम्रो प्रतिबद्धता छ ।
अघि यहाँले अहिले निर्वाचन पनि स्वच्छ नहुने अवस्था देखियो भनेर गम्भीर आरोप लगाउनुभयो । यही अवस्थामा मतदानमा जानुहुन्छ त ?
होइन, हामीले कि त फोटोसहितको परिचय पत्र नभए पहिचान गर्ने कुनै न कुनै डकुमेन्टलाई आधारको रूपमा लिनुपर्ने माग राखेका छौँ । त्यसो भएन भने हामी आन्दोलनका कार्यक्रममा जान बाध्य हुनेछौँ ।
अन्तमा, तपाईँलाई अध्यक्षका लागि किन मत दिने ?
म संघको पूर्व कार्यसमिति सदस्य हुँ । सक्रिय रूपमा व्यवसायीहरूको समस्यामा सधैँ साथमा रहँदै आएको छु । चाहे जनप्रतिनिधिको रूपमा होस् या अन्य अभियानमा मलाई सबै व्यवसायीहरूले प्रष्टरूपमा चिन्नुहुन्छ म कस्तो मान्छे हँु भन्ने । धु्रव दाहाल खुला किताब हो । मैले प्रष्ट्याइरहनु पर्दैन । रह्यो कुरा म संघमा अध्यक्ष भइसकेपछि अहिले यिनिहरूले गरेका सबै बदमासी र बेथितिहरूलाई सार्वजनिक गरिदिन्छु । संघभित्रका बेथितिलाई उजागर गर्नेछु । उद्योगीहरूको छाता संस्था उद्योग वाणिज्य संघलाई छाता संस्थाकै रूपमा विकास गर्नेछु र व्यवसायीहरूको हकहितमा संघलाई केन्द्रित गर्नेछु । त्यसैका लागि मतदाताहरूले मलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।









प्रतिक्रिया दिनुहोस्