‘खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने प्रदेशसभा कपको उद्देश्य हो’



खेलकुदका माध्यमबाट आफ्नो करिअर विकास गर्ने अवसरका रूपमा समेत लिइएको छ । म गाउँतिर जाँदा बालबालिकाहरूलाई खेतहरूमा खेलिरहेको देख्छु । उनीहरूलाई कम्तीमा अभ्यास गराउन सकियोस् । यस्ता प्रतियोगिताहरूमा सहभागिता जनाउन सकियो भने भोलि राम्रो खेलाडी उत्पादन हुन्छ । जसले सिंगो गाउँ, वडा र समाजको मात्रै नभएर देशको नै प्रतिनिधित्व गर्छ ।

                                               दुर्गाप्रसाद चौधरी ,प्रदेशसभा सदस्य लुम्बिनी प्रदेश

जनताको प्रतिनिधिको रूपमा तपाईँको दैनिकी कसरी बितिरहेको छ ?

जनप्रतिनिधिको रूपमा दैनिकी निकै व्यस्त हुन्छ । अहिले भने नयाँ आर्थिक वर्षको लागि योजना छनौट प्रक्रिया सुरु भइरहेको छ । योजनाका सम्बन्धमा बस्तीस्तरमा पुग्ने, योजना माग्ने र सुझाव लिने काम गरिरहेका छौँ । यसगैरी पुराना योजनाहरूको कार्यान्वयनका सम्बन्धमा बुझ्ने काम समेत गरिरहेका छौँ । जनताका गुनासाहरू सुन्ने पनि भइरहेको छ । अहिले योजना छनौटको बेला भएकोले आवश्यकता र मागका आधारमा योजना छनौटलाई प्राथमिकता दिने योजनामा छौँ । सदन चलेको बेलामा सदनमा सहभागिता जनाउने र खाली समयमा म जनतासँगै जोडिरहेको हुन्छु ।

तपाईँले आफ्नो क्षेत्रको विकासका लागि थुप्रै काम गर्नु भएको छ । सोहीअनुसार तपाईँको पहलमा खेलकुदमा समेत ठूलो लगानी भएको छ । प्रथम प्रदेशसभा कप किन आयोजना गर्न खोजिएको हो बताइदिनुहोस् न ?

हाम्रो पालामा वीरेन्द्र रनिङ शिल्ड प्रतियोगिता हुन्थ्यो । त्यसपछि राष्ट्रपति रनिङ शिल्ड भन्ने आयोे । अहिले स्थानीय सरकारहरूले मेयर÷उपमेयर कपका नाममा विभिन्न खेलकुदका गतिविधि गराउँदै आइरहेका छन् । यस्ता प्रतियोगिताहरूले खेलकुदको विकासका लागि ठूलो योगदान दिएका छन् । म आफैँ पनि खेलकुदमा रुची भएको मान्छे हुँ । खेलकुदको विकास हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । युवा अवस्थामा आफूले खेलाडीकै रूपमा खेल्न पाइएन । तर अहिले नीतिगत तहमा छु । खेलकुद विकासमा केही भूमिका खेल्न सकिन्छ कि भन्ने उद्देश्यले प्रथम प्रदेशसभा कप आयोजना गर्न खोजिएको हो । नेपालमा फुटबल क्रेज नभएको होइन । केही समय अघिसम्म फुटबलको राम्रो क्रेज थियो । अहिले भने राष्ट्रियदेखि स्थानीयस्तरमा फुटबलका प्रतियोगिता विरलै हुन्छन् । फुटबलप्रति मानिसहरूले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । विश्वमा फुटबल झन् विकास हुँदै जाँदा हामी किन पछाडि परियो र यसको प्रमुख कारण के हो ? भन्ने कुरा खोज्न जरुरी देखिन्छ । अहिले हामीले माध्यमिक तहमा अध्ययन विद्यार्थीहरूलाई लक्षित गरेर प्रतियोगिता सञ्चालन गर्न खोजेको हो । फुटबलमा उनीहरूको आकर्षण बढाउने हाम्रो उद्देश्य रहेको छ । मानव स्वास्थ्यका लागि समेत खेलकुद आवश्यक छ । अहिलेको युवापुस्ता विभिन्न कुलतमा फसेको छ ।मोबाइलको लत लागेको छ । फुटबलमा रुची भएका बालबालिकाहरूलाई राज्यस्तरबाट प्रोत्साहन गर्न सकिन्छ कि भन्ने पनि हो । अघिल्लोपटक ग्रासरुट अभ्यास भनेर बजेट विनियोजन गरेका थियौँ । त्यसले बृहत् रूपमा लिन नसक्दा अझै प्रभावकारी बनाउनको लागि विद्यालयस्तरमा प्रतियोगिता सञ्चालन गर्नुपर्छ भन्ने मान्यतासहित यो प्रतियोगिता हुन लागेको छ । आगामी वर्षमा प्रतियोगितालाई अझै परिस्कृत बनाएर छात्र र छात्राहरूको समेत प्रतियोगिता सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।

तपाईँले उल्लेख गरे जस्तो यस प्रतियोगितालाई सामाजिक विकृतिविरुद्ध सन्देश दिने र अभियानकै रूपमा सञ्चालन गर्न खोज्नु भएको हो ?

खेलकुद भन्नेबित्तिकै स्वास्थ्यसँग जोडिन्छ । नारा नै छ, स्वास्थ्यका लागि खेलकुद भन्ने । अर्कोतिर विद्यार्थी भन्नेबित्तिकै सधैँ पढाइमा मात्रै प्राथमिकता दिनुहुँदैन । अतिरिक्त क्रियाकलापमा समेत उनीहरूलाई प्रत्यक्ष संलग्न गराउनुपर्छ भन्ने हो । यसैगरी मानिसहरू दुव्र्यसनमा फँस्ने विभिन्न कारण हुन्छन् । यसलाई खेलकुदमार्फत सचेतनाका रूपमा समेत लिन सकिन्छ भन्ने हो ।खेलकुदका माध्यमबाट आफ्नो करिअर विकास गर्ने अवसरका रूपमा समेत लिइएको छ । म गाउँतिर जाँदा बालबालिकाहरूलाई खेतहरूमा खेलिरहेको देख्छु । उनीहरूलाई कम्तीमा अभ्यास गराउन सकियोस् । यस्ता प्रतियोगिताहरूमा सहभागिता जनाउन सकियो भने भोलि राम्रो खेलाडी उत्पादन हुन्छ । जसले सिंगो गाउँ, वडा र समाजको मात्रै नभएर देशको नै प्रतिनिधित्व गर्छ ।

समग्रमा खेलकुदको विकासका लागि प्रदेश र स्थानीय सरकारबीच कत्तिको समन्वय हुने गरेको छ ?

बाँकेमा आठ वटा पालिका छन् । हामी केही प्रदेशमा प्रतिनिधित्व गर्ने साथीहरू छौँ । मलाई लाग्छ, बाँके जिल्लाको खेलकुद क्षेत्रको विकासमा हामी योजनाबद्ध रूपमा एकताबद्ध भएर अघि बढ्नुपर्छ । गाउँपालिका र नगरस्तरमा प्रतियोगिताहरू भए भने भोलिका दिनमा जिल्ला तहमा पनि प्रतियोगिताहरू सञ्चालन गर्न सकिन्छ । स्थानीय सरकारसँग हामी सहकार्य गर्न तयार छौँ । व्यक्तिगत रूपमा यस्तो कार्यका लागि म सकारात्मक छु । प्रतियोगिता सञ्चालन गर्नका लागि मैले स्थानीय सरकारसँग आफैँ समन्वयको थालनी गर्ने पनि योजनामा छु । अहिले हामी सुरुवाती चरणमा छौँ । यस्ता प्रतियोगितालाई व्यावसायिक रूपमा अघि बढाउन जरुरी देखिन्छ । खेलकुदको माहौल सिर्जना गर्न सकिन्छ । भोलि प्रदेश सरकारबाटै यस्ता प्रतियोगिताका लागि आयोजना गरी तयारी गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

तपाईँ निर्वाचित भएदेखि हालसम्मको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

तपाईँले निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । प्रथमतः हाम्रो प्रमुख कर्तव्य भनेको नीति निर्माण गर्ने हो । जनप्रतिनिधिहरूको प्रमुख जिम्मेवारी नै हो । विभिन्न नियम, ऐन, कार्यविधि र कानुन निर्माणका प्रक्रियामा हामी सहभागिता जनाउँछौँ । त्यसमा बृहत् छलफल हुन्छ । सुझाव संकलन हुन्छ ।
अन्त्यमा निचोडमा पुगेपछि कानुनको रूपमा धारण गर्ने हो । यसमा मैले सकेसम्म ती ऐन, कानुनहरू जनमैत्री हुन् । जनताको आवश्यकतामा आधारित भएर कानुनहरू निर्माण गर्नुपर्छ भन्ने मेरो रहन्छ । अहिलेसम्मको मेरो अनुभवले कानुनी र नीतिगत रूपमा आफ्नो प्रतिनिधिले गरेका कामबारे जनताहरूलाई खास्सै चाँसो नहुने रहेछ । जनताहरूले हामीलाई आफ्ना गुनासो सरकारले सुनोस् र विकास होस् भन्ने विषयलाई प्राथमिकता दिनुहुन्छ । आफ्नो क्षेत्रको विकास र जनआकांक्षाअनुसार काम गर्नु हाम्रो अनिवार्य जस्तो बनेको छ । त्योसँगै जनताका अनेक सुझाव संकलन र समस्या समाधान र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने काम भइरहेको हुन्छ ।तथापि जनताले जुन रूपमा अपेक्षा गर्नुहुन्छ । एउटा जनप्रतिनिधिले काम गर्न सम्भव देखिँदैन । हामीले जनताका आकांक्षा पूरा गर्न अधिकतम प्रयास गरिरहेका हुन्छौँ । प्रदेश सरकारले आफैँ पनि स्रोतसाधनले युक्त नभएका कारण पनि अबै अपेक्षा पूरा हुँदैनन् । तर जनताको कामको लागि हाम्रो कोसशस निरन्तर रहन्छ ।

अन्त्यमा, प्रथम प्रदेशसभा कपमा सहभागिताका लागि के भन्नुहुन्छ ?

प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ सुरु हुँदैछ । यसमा बाँके क्षेत्र नम्बर १ ‘ख’का सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालय सहभागी हुँदैछन् । प्रतियोगितामा हामीले अपेक्षा गरेको भन्दा बढी विद्यालयहरूको सहभागिता हुँदैछ । यसले फुटबलप्रतिको आकर्षण दर्साउँछ । हामीले जुन उद्देश्यले प्रतियोगिता गर्न खोजिरहेका छौँ । सोहीअनुसार प्रतियोगिता सञ्चालन हुने मेरो अपेक्षा छ । खेलाडीहरूलाई आफ्नो क्षमताअनुसार खेल कौशल प्रदर्शन गर्न आग्रह गर्दछु । प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार