‘खेलकुदको विकासमा उल्लेख्य भूमिका खेल्ने विश्वास छ’



कोहलपुरमा प्रतियोगिता सञ्चालन हुने भएकोले शिक्षक महासंघ कोहलपुर र राप्ती सोनारीले संयुक्त रूपमा सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिएको हो । यो प्रतियोगिता कोहलपुरमा दोस्रोपटक सञ्चालन हुँदैछ । अघिल्लोपटक पनि सञ्चालन भएको थियो । त्यतिबेला एउटा क्लबले प्रतियोगिता सञ्चालन गरेको थियो । अहिले भने विद्यालयहरूलाई लक्षित गरेर प्रतियोगिता सञ्चालन हुन लागेको छ । प्रतियोगिता व्यवस्थापनको जिम्मा शिक्षक महासंघले लिएको छ ।

                            निमप्रकाश थापा अध्यक्ष, शिक्षक महासंघ, कोहलपुर नगरपालिका

प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ बारे जानकारी गराइदिनुहोस् न ?

कोहलपुरमा एउटा राम्रो फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । यस प्रतियोगिताको नाम प्रदेशसभा कप राखिएको छ । यसको पृष्ठभूमि छ । बाँके क्षेत्र नम्बर १ ‘ख’का निर्वाचित प्रदेशसभा सदस्य दुर्गाबहादुर चौधरीको पहलमा खेलकुद प्रतियोगिता सञ्चालनको लागि बजेट विनियोजन भएको छ । प्रतियोगिताका लागि २४ लाख रूपैयाँँ विनियोजन गरिएको छ । बजेट सामाजिक विकास डिभिजन कार्यालय बाँकेले कार्यान्वयन गर्छ । यस प्रतियोगिताको आयोजक पनि सोही कार्यालय हो । कोहलपुरमा प्रतियोगिता सञ्चालन हुने भएकोले शिक्षक महासंघ कोहलपुर र राप्ती सोनारीले संयुक्त रूपमा सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिएको हो । यो प्रतियोगिता कोहलपुरमा दोस्रोपटक सञ्चालन हुँदैछ ।अघिल्लोपटक पनि सञ्चालन भएको थियो । त्यतिबेला एउटा क्लबले प्रतियोगिता सञ्चालन गरेको थियो । अहिले भने विद्यालयहरूलाई लक्षित गरेर प्रतियोगिता सञ्चालन हुन लागेको छ । प्रतियोगिता व्यवस्थापनको जिम्मा शिक्षक महासंघले लिएको छ ।

विद्यालयस्तरका खेलाडीहरूलाई सहभागी गराइने प्रथम प्रदेशसभा कपको उद्देश्य के हो ?

विद्यालय आफैँमा सिकाइको प्रमुख थलो हो । विद्यालयमा विद्यार्थीहरूले धेरै कुरा सिक्छन् । यो प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा रहेका बालबालिकाहरूको क्षमता विकास गर्ने हो । खेलकुदका माध्यमबाट उनीहरूलाई खेलमा प्रेरित गर्ने हो । विद्यालयस्तरका बालबालिकाहरूलाई फुटबल खेलप्रति आर्कषित गरेर खेलाडी उत्पादन गर्ने हो । कोहलपुर खेलकुदको सहरका रूपमा विकास भइरहेको छ । अब ग्रासरुट फुटबलमा लगानी गर्नुपर्ने देखिन्छ । जस्तो भर्खरै कोहलपुरमा चौथो कोहलपुर गोल्डकप सफलतापूर्वक सम्पन्न भएको छ ।गोल्डकपले कोहलपुरमा फुटबलमा राम्रो सम्भावना देखाएको छ । फुटबलप्रतिको क्रेज कोहलपुरमा राम्रो देखिएको छ । भोलिका कोहलपुर गोल्डकप खेल्ने खेलाडी उत्पादनका लागि पनि आज लगानी आवश्यक छ । यस्ता खालका प्रतियोगिता निरन्तर भइरहनुपर्छ भन्ने हाम्रो लक्ष्य रहेको छ । यस्ता प्रतियोगितामा सबैको सहयोग र साथ आवश्यक छ ।

बाँके क्षेत्र नम्बर १ ‘ख’मा कति विद्यालय छन् ? कहाँ सञ्चालन हुन्छ ? कस्ता विद्यालयले सहभागी जनाउँछन् बताइदिनुहोस् न ?

बाँके क्षेत्र नम्बर १ ‘ख’अन्तर्गत दुई वटा स्थानीय तह पर्छन् । जसमा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिका रहेका छन् । जसअन्तर्गत कोहलपुर नगरपालिकाका १ देखि १५ नम्बर वडा र राप्ती सोनारीका वडा नम्बर ८ र ९ रहेका छन् । यस क्षेत्रमा करिब चार दर्जनभन्दा बढी विद्यालयहरू रहेका छन् । माध्यमिक तह सञ्चालन भएका विद्यालयहरू यस प्रतियोगितामा सहभागिता जनाउँछन् ।सामुदायिक र संस्थागत दुवै विद्यालयले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । सकभर सबै विद्यालय सहभागी हुन् भन्ने हाम्रो चाहना रहेको छ । त्यसका लागि दुवै पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई सहभागिताका लागि पत्राचार गरिएको छ । प्रतियोगिता जेठ पहिलो साताबाट सञ्चालन हुनेछ ।

प्रथम प्रदेशसभा कपको पूर्वतयारी कसरी भइरहेको छ ?

प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता–२०८३ जेठ पहिलो सातादेखि सञ्चालन हुँदैछ । प्रतियोगिता सञ्चालनका लागि हामीले पूर्वतयारी गरिहेका छौँ । टिम दर्ताका लागि आह्वान गरिएको छ । टिम दर्ता निःशुल्क गरिएको छ । प्रतियोगिता दुई वटा विद्यालयमा सञ्चालन हुने भएको छ । कृष्ण माध्यमिक विद्यालय र गोरखा युनाइटेड पब्लिक स्कुलमा सञ्चालन हुने तय भएको छ । प्रतियोगिता सफल बनाउन विभिन्न समितिहरू गठन गरिएको छ । ती समितिले प्रतियोगिताको पूर्वतयारीका कामहरू गरिरहेका छन् । मूल आयोजक समिति भने सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुखको संयोजकत्वमा बनेको छ । त्यसको सदस्यमा विभिन्न सरोकारवाला कार्यालय रहेका छन् ।

अन्त्यमा, प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण खेलप्रेमीहरूलाई के आह्वान गर्नुहुन्छ ?

कुनै पनि खेल सफल बनाउनको लागि दर्शकहरूको आवश्यकता पर्छ । दर्शकबिनाको खेलकुदको कुनै अर्थ हुँदैन । हामीले प्रतियोगितामा बढीभन्दा बढीको सहभागिता होस् भन्ने चाहेका छौँ । सोहीअनुसार विद्यालयहरूलाई अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ ।
अभिभावकहरूलाई पनि तपाईँहरूका बालबालिकाहरूको खेल हेर्नका लागि आइदिन अनुरोध गर्न चाहन्छु । खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि पनि प्रतियोगितामा सहभागी भइदिन आग्रह छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार