गणेश रावत । कोहलपुर ।
छोटो कदकाँठी । शिरमा भादगाउँले कालो टोपी । सेतै फुलेको कपाल । रातो सुइटरमाथि स्टकोट । हँसिलो र चम्किलो गोरो अनुहार । मिठो बोली । सबैका दाइ उनी हुन्, कोहलपुर साझा चोकस्थित सोर्मा पसलका सञ्चालक, रबिजंग शाह ।
उनी विगत लामो समयदेखि व्यवसायमा चुनौतीको सामना गर्दै संघर्ष गरिरहेका छन् । पसलका सञ्चालक र कामदार पनि उनी आफैँ हुन् । आफ्नै घरमा उनले सो सोर्मा सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
उनलाई सबैले रबि दाइ भनेर सम्बोधन गर्ने गर्छन् । कोहलपुरमा पहिलो सोर्मा भिœयाउने व्यक्ति शाह नै हुन् भन्दा फरक नपर्ला ।
बर्दियामा जन्मेका शाह सानै उमेरदेखि होटलमा काम गर्न रुचाउँथे । त्यसैका लागि उनी सरकारी मन्त्रालयलदेखि विदेशसमेत पुगे । तर, उनी होटल व्यवसायमा काम गरेर कहिले थाकेनन् । उनको व्यवसाय गर्ने इच्छा भने अहिलेसम्म रहेकोे उनी बताउँछन् ।
सामान्य परिवारमा जन्मेका उनी पारिवारिक विविध कारणले उच्च शिक्षा अध्ययन गर्न नसकेको बताउँछन् । उच्च शिक्षा पढ्ने वातावरण नभएपछि उनी भक्तपुरस्थित नगरकोट मामा घर गए । मामाको हिल होटलमा काम गर्ने मौका र रेखदेख गर्ने जिम्मा पाए ।
केही समय होटलमा काम गरेपछि उनले ‘स्थानीय विकास मन्त्रायल’मा समेत काम गर्ने अवसर पाए । मन्त्रालयमा पनि केही समय काम गरे पनि उनको मन त्यहाँ पनि अडिएन । त्यहाँ काम गर्न मन नलागेपछि उनी राजीनामा दिएर दुबईतिर हिँडे । ‘डेढ वर्ष मन्त्रालयमा सरकारी जागरी पनि गरेँ,’ उनले भने, ‘त्यहाँ पनि बस्ने मन लागेन ।’
साथीहरूको चिनजानबाटै दुबईमा असिस्टेन्ट स्टोर किपर पदमा काम गर्न सुरु गरे । सात वर्ष त्यही कम्पनीमा काम गरेर चित्त नबुझेपछि त्यो कम्पनी छाडेर अर्काे कम्पनीमा काम गर्न सुरु गरेको उनले बताए । ‘७ अर्काे कम्पनीमा म्यानेजरसम्म बनेर काम गरेपछि राजीनामा दिएर स्वदेश फिर्ता भएँ,’ उनले भने ।
करिब १८ वर्ष उनले दुबईमा बिताए । उनी अहिले स्वदेश फर्किएको ८ वर्ष भएको छ । सुरुवाती दिनमा कोहलपुरमा लिक्वयर अर्थात मदिरा पसल सञ्चालन गरेका रबि त्यसमा सफल हुन सकेनन् । ‘त्यो सफल भएन,’ उनले भने, ‘मैले कहिल्यै नगरेको काम गर्न जानिनँ ।’ त्यसपछि उनले स्वीट कर्नर खोले । चाट र चटपटे बेचे । तर यसमा पनि उनलाई घाटा लाग्यो । दुई वटा व्यवसायमा सफलता पाउन नसके पछि दुई वर्ष उनले ब्रेक लिए ।
अहिले उनी होटल व्यवसायमामै सक्रिय छन् । शाह अहिले कोहलपुरका स्थानीयलाई चिकेन सोर्माको स्वाद चखाइरहेका छन् । उनले सोर्मा सुरु गरेको दुई वर्ष भयो । अहिले सोर्माले बजार बिस्तारै लिँदै गएको छ ।
होटल व्यवसायमा नै काम गरेकाले उनलाई सबै कुराहरूको अनुभव छ । सोर्मा खोल्नुभन्दा पहिला नेपालगन्जमा एक हप्ता बजार र त्यसका पारखीबारे जानकारी लिएको उनको भनाइ छ । त्यसपछि उनले कोहलपुरमा सोर्मा पसल सञ्चालन गरे ।
मधेसी मुस्लिम समुदायको प्रख्यात नास्ता अर्थात खानाको रूपमा सोर्मालाई लिइन्छ । सुरुका दिनमा सोर्मा खान आउने ३÷४ जना मात्र हुने गर्थे । विस्तारै यसको प्रचारप्रसार भएपछि अहिले बजार पाउँदै गएको उनको भनाइ छ ।
सोर्मा बेचेरै अहिले दैनिक ८ हजारसम्म आम्दानी हुने गरेको उनले बताए । दिनमा ६० वटा सोर्मा बिक्री गर्ने गरेको जानकारी दिए । १ सय सोर्मा बेच्नु अहिले उनको टार्जेट रहेको छ । ‘त्यो अझै पूरा हुन सकेको छैन,’ उनले भने, ‘त्यो पुरा भए स्टाफ राखेर थप नयाँ र अझै गुणस्तरीय सोर्मा उपलब्ध गराउन सकिन्छ ।’
केही समयमा आफ्नो टार्जेट पुरा हुने उनको विश्वास छ । श्रीमती सरकारी जागिरे र त्यसैमा भेजिटेरियन रहेकाले एक्लै व्यवसाय सञ्चालन गरिरहेको उनले बताए । व्यवसाय राम्रो हुँदै गएकाले आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्