रंगमञ्चमा कर्णाली बोल्ने गोविन्दः भुइँमान्छेको पीडादेखि विद्रोहसम्म



एउटा कलाकारको यात्राको कथा बन्छ, जसले आफ्नो पीडालाई व्यक्तिगत गुनासो बनाएर थन्क्याएनन्,मञ्चमा पु¥याए । रंगमञ्चमा बत्ती बलिरहँदा गोविन्दको आवाजसँगै कर्णाली पनि बोलिरहन्छ । र त्यो आवाजले सोधिरहन्छ, जातले मानिस ठूलो–सानो बनाउँछ कि समाजको सोचले ? सायद गोविन्दको रंगयात्राको सबैभन्दा ठूलो अर्थ पनि यही प्रश्न हो । जुम्लाको विकट गाउँबाट संघर्ष गरेका गोविन्दको निरन्तरको संघर्ष,तपस्याले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद सदस्यसम्मको तहमा पुु¥याएको छ ।

नन्दराम जैशी । सुर्खेत ।

मञ्चमा बत्ती बल्छ । दर्शकको आँखा कलाकारतिर सोझिन्छ । पर्दा खुल्छ । अनि सुरु हुन्छ, कर्णालीको कथा । त्यो कथा सहरको चमकधमकको होइन । दुर्गम गाउँको हो। अभावको हो । जातीय विभेदले थिचिएका मानिसहरूको हो । अन्धविश्वास, गरिबी, सामाजिक बहिष्करण र पुस्तौँदेखि मनमा गढेर बसेको हीनताबोधको हो । त्यही कथा रंगमञ्चमा बोल्छन्, गोविन्द सुनार । केही दिनअघि मात्रै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्यमा नियुक्त भएका सुनार नेपाली रंगमञ्चमा उदाउँदै गरेका युवा रंगकर्मी, निर्देशक र अभिनेता हुन् ।

तर उनको पहिचान कलाकारको मात्रै होइन, उनी कर्णालीका भुइँमान्छेका कथा बोकेर हिँड्ने रंगकर्मी हुन् । उनको अभिनयमा कर्णालीको भूगोल देखिन्छ । संवादमा जुम्लाको लवज सुनिन्छ । पात्रमा गाउँको मान्छे भेटिन्छ । र कथाभित्र उनले आफैँ भोगेको जस्तो विभेद, अपमान र संघर्ष देखिन्छ । गोविन्दका लागि रंगमञ्च मनोरञ्जनको माध्यम मात्र होइन, समाजसँग प्रश्न गर्ने ठाउँ पनि हो । उनी कलालाई विद्रोहको भाषा मान्छन् ।

जन्म कथा नै संघर्षबाट

गोविन्दको जन्म जुम्लामा २०५० वैशाख २२ गते भएको मानिन्छ । उनको जन्ममिति पनि अनुमानमै तय भएको हो । उनी जन्मिनुअघि उनकी आमा कला सुनार वनमा दाउरा लिन गएकी थिइन् । त्यही क्रममा बञ्चरो पेटमा लागेपछि प्रसव व्यथा सुरु भयो । त्यसपछि उनले गोविन्दलाई जन्म दिइन् । तर त्यो समय जन्मदर्ता, जन्ममिति र कागजी अभिलेखलाई आजजस्तो महत्त्व दिने अवस्था थिएन । त्यसैले आमाले छोराको जन्ममिति ठ्याक्कै सम्झिन सकिनन् ।

त्यसपछि सबैको अनुुमानका आधारमा गोविन्दको जन्ममिति तोकियो । त्यतिबेला उनका बुबा डम्बरबहादुर सुनार प्रहरी हवल्दार थिए । तर गोविन्द पाँच वर्षको हुँदा बुबाको निधन भयो । त्यसपछि उनकी एकल आमाको संघर्ष सुरु भयो । कला सुनारले छोरालाई हुर्काइन् । अभाव, घाम, पानी र दुःखसँग जुध्दै उनले छोराको भविष्य बनाइन् । गोविन्द आज आफू जहाँ पुगेका छन्, त्यसको सबैभन्दा ठूलो श्रेय आमालाई दिन्छन् ।

उनी भन्छन्, ‘आमाले कष्ट नगरेको भए म यहाँसम्म आइपुग्ने थिइनँ । आमाले सन्तानका लागि आफूलाई बिर्सिनुभयो । घामपानी केही भन्नुभएन । आमाको यो ऋण म कहिल्यै तिर्न सक्दिन ।’ गोविन्दको बाल्यकाल जुम्लाको चन्दननाथ–५, खलंगा बजारमा बित्यो । जुम्लामै कक्षा १२ सम्म पढे । त्यसपछि स्नातक अध्ययनका लागि काठमाडौँ गए । तर उनको बाल्यकाल पढाइमै बितेन । त्यही उमेरमा उनले जातीय विभेदको स्वाद चाखे ।

घरको आँगनमा दाजुभाइ भकुन्डो खेल्थे । छिमेकी गैरदलित थिए । खेल्दाखेल्दै भकुन्डो कहिलेकाहीँ उनीहरूको आँगनमा पुग्थ्यो । भकुन्डो लिन जानु उनका लागि सामान्य काम थिएन । गाली खानुपथ्र्यो । कतिपय अवस्थामा कुटाइसमेत खानुपथ्र्यो । त्यतिबेला उनी बालक थिए । विभेदको सामाजिक संरचना बुझ्ने उमेर थिएन । तर घटना दोहोरिँदै गएपछि उनले आफूहरू दलित भएकै कारण यस्तो व्यवहार भएको बुझ्न थाले ।

जुम्लाको चन्दननाथ मन्दिरसँग जोडिएको एउटा घटनाले उनको मनमा अझ गहिरो प्रश्न जन्मायो । बाल्यकालमा त्यहाँ उनले विभेद भोगेका थिए । पछि त्यही मन्दिरको मूर्ति आफ्नै हजुरबुबाले बनाएको थाहा पाए । उनले भने, ‘जसको हातले मूर्ति बन्यो, त्यही समुदायका मानिसलाई मन्दिरमा किन विभेद गरिन्छ ? यस्तो प्रश्नले झन् मेरो मनमा विद्रोहको चेत पलाउँदै गयो ।’ र पछि यही प्रश्न उनका सिर्जनाको आधार बन्यो ।

कालीकोट घटनाले चर्किएको मुटु

माध्यमिक शिक्षा पूरा गरेपछि गोविन्द दलित समुदायमाथिको विभेदविरुद्ध कुनै न कुनै किसिमको विद्रोह गर्न चाहन्थे । तर विद्रोह कसरी गर्ने भन्ने स्पष्ट थिएन । उच्च सामाजिक चेतना आवश्यक छ भन्ने उनलाई लाग्यो । त्यसैले स्नातक तहमा समाजसेवा अर्थात् बीएसडब्लु पढ्ने सोच बनाएर काठमाडौँ गए । गाउँमा उनले सानैदेखि नाटक हेरेका थिए । उनले थपे, ‘गाउँमा नाटक देखाइन्थ्यो । नाटक गर्दा पैसा मिल्थ्यो । मैले पनि नाटक गर्न चाहेको थिएँ तर मौका पाइनँ, दर्शक मात्रै भएँ ।’

काठमाडौँ पुगेपछि भने उनले नाटकघर देखे । नाटक सिक्ने ठाउँ रहेछ भन्ने थाहा पाए । त्यही समयमा कालीकोटमा चुलो छोएको निहुँमा एक दलित युवकको हत्या भयो । त्यो घटनाले उनलाई भित्रैदेखि हल्लायो । उनी भन्छन्, ‘कालीकोटको घटनाले मेरो मुटु चर्कियो । त्यही घटनालाई जोडेर बिस मिनेटको सांगीतिक नाटक गरेँ । यसपछि कलामार्फत आफ्नो कथा भन्न सक्छु भन्ने आँट पलायो ।’ त्यो उनको रंगयात्राको निर्णायक मोड थियो भने स्नातक तहको फिल्डवर्कमा घटनाका कथा लेख्नुपथ्र्यो । गोविन्दले केही कथालाई नाटकमा रूपान्तरण गरे ।

साथीहरूलाई अभिनय गराए । त्यसपछि सडकमा नाटक हेरेर हुर्किएको एउटा युवक अब आफैँ नाटक बनाउन थालेको थियो । ‘सानो छँदा सडक नाटक हेरेको भरमा मैले नाटक बनाउने आँट गरेँ । बीएसडब्लु पढेपछि कलामार्फत सामाजिक रूपान्तरणको काम गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘काठमाडौँमा मण्डला नाटकघरमा नाटक हेर्न थाले । अभिनय सिक्न थाले । आर्थिक अभाव थियो । जसोतसो खर्च जुटाएर एक महिनासम्म अभिनय पनि सिके ।’

तर अभिनय सिक्दैमा कलाकार बन्ने अवसर कहाँ सजिलै आउँथ्यो र ! उनी सहयोगीका रूपमा नाटकको टिममा प्रवेश गरे । मञ्च व्यवस्थापनदेखि प्रकाश, संगीत र आवाजसम्मका प्राविधिक पक्ष सिके । पर्दापछाडि काम गर्दै उनले रंगमञ्चको संसार बुझ्दै गए । र नेपाली रंगमञ्चका वरिष्ठ रंगकर्मी सुनिल पोखरेलसँग पनि उनले निरन्तर काम पनि सिके । तीन वर्षको संघर्षपछि सन् २०१७ मा ‘मेटासिड’ नामको नाटकमा अभिनय गर्ने अवसर पाए । उनको अभिनय रुचाइयो । तर अवसरको ढोका त्यसपछि पनि लगातार खुलेन ।

जागिर र रंगमञ्चको एक वर्ष

रंगमञ्चमा संघर्ष गरिरहँदा जीविका चलाउन उनले एक कम्पनीमा करिब एक वर्ष जागिर गरे । तर जागिरमा बितेको एक वर्ष उनलाई एक युगजस्तो लाग्यो । रंगमञ्चमा काम गर्दा भने वर्ष दिन पनि एक दिनजस्तो लाग्थ्यो । यही अनुभूतिले उनलाई आफ्नो बाटो स्पष्ट बनाइदियो । उनले जागिर छाडे । रंगमञ्च रोजे । आर्थिक हिसाबले कठिन भए पनि उनको मन त्यहीँ थियो । तर स्नातक तहको पढाइ सकेपछि उनी जुम्ला फर्किए । त्यहाँ ‘पम्फाफूल’ नामको नाटकमा काम गर्ने अवसर पाए । नाटक तयार पार्ने क्रममा उनी आफैँ सक्रिय भए ।

मुख्य पात्रको भूमिका पनि निभाए । दुई महिनासम्म रिहर्सल भयो । एउटा सरकारी कार्यालयको हल खाली थियो । नाटक त्यहीँ मञ्चन गर्ने तयारी भयो । प्राविधिक व्यवस्थापनसमेत उनले आफैँ गरे । नाटक प्रदर्शन भयो । दर्शकदीर्घामा उनकी आमा कला सुनार पनि थिइन् । छोरालाई मञ्चमा देखेपछि आमाले दंग पर्दै भनिन, ‘वा भाउअ, तोइले क्या गरिस् ।’ आमाको त्यो प्रतिक्रिया गोविन्दका लागि कुनै पुरस्कारभन्दा कम थिएन । पछि ‘पम्फाफूल’ काठमाडौँमा आयोजित महोत्सवमा पनि मञ्चन भयो ।

गोविन्द फेरि गाउँ फर्किए । गाउँमै नाटक गर्ने सपना देखिरहे । तर जीविका चलाउन उनले खलंगामा सानो क्याफे खोले । मःमः, चाउमिन र चिया बेच्न थाले । तर उनलाई एउटा सामाजिक यथार्थ राम्ररी थाहा थियो, कि ग्रामीण समाजमा दलित समुदायका व्यक्तिले सञ्चालन गरेको क्याफे पनि सहजै चल्दैन भन्ने । त्यसैले खाना पकाउने र ग्राहकलाई खुवाउने कामका लागि गैरदलित सहयोगी राखे । आफू बाहिरको काम गर्थे । क्याफे चल्दै थियो ।

एक दिन काठमाडौँका साथीको फोन आयो । त्यो कल ‘चारदुना नौ’ नामको टेलिशृंखलामा काम गर्ने प्रस्ताव थियो । गोविन्दले त्यसलाई अवसरका रूपमा लिए । क्याफे बेचेर काठमाडौँ लागे । त्यो बेला कोरोनाको लहर चलिरहेको थियो । अनेक कठिनाइ पार गर्दै उनी काठमाडौँ पुगे । छायांकनका क्रममा रारा तालसम्म पुगे । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘चारदुना नौ’का १० वटा शृंखलामा उनले कर्णालीको पात्रका रूपमा अभिनय गरे । त्यसपछि उनको अभिनय यात्रा फिल्मतर्फ मोडियो ।

‘प्रकाश’ले फराकिलो बनाएको पर्दा

गोविन्दले फिल्म ‘प्रकाश’मा अभिनय गरे । त्यहाँ पनि उनले जुम्ली पात्रकै भूमिका निभाए । तर उनको योगदान अभिनयमा मात्र सीमित थिएन । जुम्ली कलाकार खोज्नेदेखि भाषाशैली, स्थान छनोट र जुम्ली संस्कृतिसम्बन्धी आवश्यक जानकारी दिनेसम्म उनले निर्माण टिमलाई सहयोग गरे । कोभिड–१९ का कारण फिल्म प्रदर्शन ढिलो भयो । तर फिल्म प्रदर्शनमा आएपछि उनको अभिनयले चर्चा पायो ।

सकारात्मक प्रतिक्रियाले उनको आत्मविश्वास बढायो । त्यसपछि अन्तर्राष्ट्रिय वेबसिरिज ‘त्रास’, ‘क्राइमफाइन’ र ‘शक्ति’मा समेत अभिनय गर्ने अवसर पाए । तर नाटकबाट फिल्म र अन्तर्राष्ट्रिय पर्दासम्मको यात्रा उनका लागि सहज थिएन । उनी भन्छन्, ‘नाटकबाट फिल्मसम्मको यात्रा कर्णालीको तिखो चट्टानमा हिँड्नुसरह थियो ।’ तर कलाकार भएपछि पनि जातीय विभेदबाट भने उनले मुक्ति पाएनन् । बरु नयाँ ठाउँ र नयाँ परिवेशमा विभेदका नयाँ रूप देखे । दलित समुदायको हुनुले अवसरबाट वञ्चित हुनुपरेको उनीसँग तीतो अनुभव पनि छ ।

उनी नाटकका क्रममा उनी देशका विभिन्न ठाउँ पुगे । ग्रामीण क्षेत्रमा बस्नुप¥यो । त्यहाँ पनि जातीय विभेदको सामना गर्नुप¥यो । काठमाडौँको रंगमञ्चसमेत यसबाट अछुतो रहेन । नाटक सकेर बाहिर निस्किँदा कतिपय दर्शकले उनलाई ‘तिमी शाही हो ?’ भनेर सोध्थे, ‘म सुनार हुँ भन्थेँ । कोही दर्शक नाक खुम्चाएर अचम्म मानेजस्तो गर्थे’ उनी सम्झन्छन् ।

‘अछेता’ ः कर्णालीको अँध्यारो यथार्थ

गोविन्द सुनारको रंगमञ्चीय यात्रामा ‘अछेता’ महत्वपूर्ण कृति हो । उनले निर्देशन गरेको यो नाटक काठमाडाँंको शिल्पी थिएटरमा मञ्चन भएको थियो । नाटकले कर्णालीको दुर्गम गाउँमा बस्ने एक दम्पतीको कथा भन्छ । कथामार्फत ग्रामीण स्वास्थ्यको अवस्था, अन्धविश्वास र जातीय विभेदको कठोर यथार्थ उजागर हुन्छ ।
‘अछेता’मा कर्णाली पृष्ठभूमि मात्रै होइन । कर्णाली आफैँ एउटा पात्रजस्तो उपस्थित हुन्छ ।

त्यहाँको भूगोलसँगै सामाजिक संरचना, गरिबी, स्वास्थ्य सेवाको अभाव, अन्धविश्वास र जातीय विभेद मञ्चमा देखिन्छ । गोविन्दको रंगचेतनाको खास विशेषता यही हो, उनी कर्णालीको कथा बाहिरबाट हेरेर लेख्दैनन् । उनले आफूले भोगेको, देखेको र सुनेको जीवनबाट कथा निकाल्छन् । गोविन्दको दृष्टिमा कर्णालीमा कथा छैन भन्ने होइन । कथा धेरै छन् । समस्या ती कथा मञ्चसम्म पुग्न नसक्नु हो ।

कर्णालीका भाषा, कला, संस्कृति, पर्यटन, जातीयता, खानपान र जीवनशैलीका धेरै पक्ष अझै पर्याप्त रूपमा उजागर हुन नसकेको उनी बताउँछन् । यसको मूल कारण राज्यको न्यून लगानी रहेको उनको बुझाइ छ । उनका अनुसार कलाकार र रंगकर्मीलाई राज्यले पर्याप्त प्रोत्साहन दिन सकेको छैन । रंगमञ्चमा अहिले काम गरिरहेका कलाकारलाई टिकाइराख्न र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न राज्यले बजेट विनियोजन गर्नुपर्ने उनको माग छ ।

‘जुम्ली पात्र’मै सीमित हुन चाहँदैनन्

गोविन्द प्रायः कर्णालीकै पात्रको भूमिकामा देखिन्छन् । निर्देशकहरूले उनलाई कर्णालीको पात्रका लागि रोज्छन् । उनको जुम्ली लवज र शारीरिक हाउभाउले त्यस्ता पात्रलाई स्वाभाविक बनाउँछ । तर उनी यही पहिचानमा सीमित हुन चाहँदैनन् । ‘जुम्लाको पात्रमा म बढी राम्रो गर्न सक्छु तर जुनसुकै भूमिकामा काम गर्न सक्छु । मलाई जुम्लाको पात्रमा मात्रै रोज्नु पनि न्यायपूर्ण लाग्दैन,’ उनले भने, ‘कलाकारलाई उसको भूगोल वा जातले होइन, अभिनय क्षमताले मूल्यांकन गर्नुपर्छ ।’

उनको यो भनाइ एउटा कलाकारको चाहना मात्रै होइन । नेपाली फिल्म र रंगमञ्चमा सीमान्तकृत भूगोल र समुदायबाट आएका कलाकारलाई प्रायः निश्चित चरित्रमा सीमित गरिने प्रवृत्तिमाथिको प्रश्न पनि हो । गोविन्द अभिनेता र निर्देशक मात्र होइनन् । उनी मञ्चको प्रकाश, आवाज र संगीत संयोजनमा समेत दक्ष छन् । रंगमञ्चमा उनको यात्रा पर्दाअगाडि मात्र भएन । पर्दापछाडि पनि लामो समय बित्यो । यही कारण उनी नाटकको समग्र संरचना बुझ्छन् ।

मञ्चमा कलाकारले कसरी अभिनय गर्छ भन्ने मात्र होइन, प्रकाश कहाँबाट पर्नुपर्छ, आवाज कसरी आउनुपर्छ, संगीतले दृश्यलाई कसरी अर्थ दिन्छ ? यी सबै पक्षमा उनको रुचि र अनुभव छ । मण्डला थिएटरमा मञ्चन भएको चर्चित नाटक ‘हिउँभन्दा चिसो’ लगायतका विभिन्न नाटकमा उनले अभिनय तथा ब्याकस्टेजमा काम गरिसकेका छन्। अन्तर्राष्ट्रिय कार्यशालामा पनि सहभागी भएका छन् । डेनिस रंगकर्मीको प्रशिक्षणपछि गरिएको ‘क्लाउन शो’ जस्ता प्रयोगात्मक प्रस्तुतिमा समेत उनले काम गरेका छन् ।

रंगमञ्च छोड्न नसक्ने मान्छे

गोविन्दको कथा संघर्षको कथा हो । अभावको कथा हो । जातीय विभेदसँग जुधेको कथा हो । तर सबैभन्दा बढी यो आफ्नो ठाउँ र आफ्नो कथाप्रतिको अडानको कथा हो। उनले जागिर गरे । क्याफे खोले । गाउँ फर्किए । फेरि काठमाडौँ गए । फिल्म गरे । नाटक गरे । पर्दापछाडि काम गरे । अभिनय गरे । निर्देशन गरे । तर रंगमञ्च छाडेनन् । किनकी उनले रंगमञ्चमा आफ्नो आवाज भेटेका थिए । आफ्नो समुदायको कथा भेटेका थिए । आफ्नो बाल्यकालको अपमान भेटेका थिए । र त्यो अपमानविरुद्ध प्रश्न गर्ने ठाउँ पनि भेटेका थिए ।

अहिले उनको अगाडि नयाँ सपना पनि छ, त्यो हो आफ्नै गाउँमा नाटकघर बनाउने । काठमाडौंमा रंगमञ्चको अनुभव बटुलेर उनी फेरि कर्णालीतिर फर्किन चाहन्छन् । गाउँका कथा गाउँमै मञ्चन गर्न चाहन्छन् । र स्थानीय कलाकार पनि जन्माउन चाहन्छन् । रंगमञ्चलाई कर्णालीको सामाजिक रूपान्तरणसँग जोड्न चाहन्छन् । सबैभन्दा महत्वपूर्ण—जातीय विभेदविरुद्ध चेतना फैलाउन चाहन्छन् । गोविन्द सुनारको कथा यहीँ आएर एउटा कलाकारको व्यक्तिगत यात्राभन्दा ठूलो बन्छ । यो कर्णालीका ती आवाजहरूको कथा बन्छ, जो लामो समयदेखि सुनिएनन् ।

यो ती भुइँमान्छेको कथा बन्छ, जसको जीवन समाजको मूलधारमा आएन । र यो एउटा कलाकारको यात्राको कथा बन्छ, जसले आफ्नो पीडालाई व्यक्तिगत गुनासो बनाएर थन्क्याएनन्, मञ्चमा पु¥याए । रंगमञ्चमा बत्ती बलिरहँदा गोविन्दको आवाजसँगै कर्णाली पनि बोलिरहन्छ । र त्यो आवाजले सोधिरहन्छ, जातले मानिस ठूलो–सानो बनाउँछ कि समाजको सोचले ? सायद गोविन्दको रंगयात्राको सबैभन्दा ठूलो अर्थ पनि यही प्रश्न हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार