सुनसरी र सिरहा घटनाका मृतकलाई सहिद घोषणा



काठमाडौँ ।

सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई सहिद घोषणा गरिएको हो ।

बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ । सरकारले विद्युतीय एम्बुलेन्स र शववाहनमा मूल्य अभिवृद्धि कर तथा स्वच्छ पूर्वाधार लगानी शुल्क नलिने भएको छ ।चालू आर्थिक वर्षको बजेटमा सरकारले अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको थियो । यस्तै सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ ।

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा)लाई नियुक्ति गर्ने निर्णय गरिएको सरकारले जनाएको छ । सरकारका प्रवक्ता पोखरेलले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार