वडाध्यक्ष धोबी र वडासचिव थापामगरमाथि भ्रष्टाचार मुद्दा



नेपालगन्ज ।

सम्पत्ति सुद्धीकरण मुद्दाका प्रतिवादीका लागि नक्कली प्रमाण बनाइदिइएको आरोपमा नेपालगन्जका एक वडाध्यक्ष र वडासचिवमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । नेपालगन्ज वडा नम्बर २० वडाध्यक्ष कौशलकुमार धोबी र वडासचिव वीरबहादुर थापामगरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

धोबी र थापामगरले सम्पत्ति सुद्धीकरणको मुद्दाका दुईजना प्रतिवादीका लागि वडा कार्यालयको छापको दुरुपयोग गरेको तथा लिखत प्रमाणित दर्ता किताबमा किर्ते गरेको अख्तियारको आरोप छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार धोबी र थापामगरले २०७९ साल साउन १० गते सम्पत्ति सुद्धीकरण मुद्दाका प्रतिवादीहरु रवीन्द्र लामिछाने र विकासकुमार चापागाईंको लागि भक्तपुरमा रहेको जग्गा खरिदबिक्री प्रयोजनार्थ ७० लाख लेनदेन भएको नक्कली तथा झुट्टा करारनामा गराइदिएका थिए ।

यसैगरी, उनीहरुले लिखत दर्ता किताबमा पनि २०८३ सालमा थपघट गरेको र चलानीको पनि झुट्टा विवरण तयार गरेका थिए । यसरी उनीहरुले लामछिाने र चापागाईंसँग मिलोमतो गरी गैरकानुनी लाभ लिएको पुष्टि भएको अख्तियारको चार्जसिटमा उल्लेख छ । मिलोमतो गर्ने लामिछाने र चापागाईंमाथि पनि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । धोबीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र ११ र थापालाई दफा ९ बमोजिम कैद र जरिबानाको सजाय मागदाबी गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार