शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जबाट सल्किएको साम्प्रदायिक हिंसाले मधेशका केही जिल्ला आक्रान्त बनेका छन् । २०८३ साउन १० गते साँझतिरबाट हिन्दू–मुस्लिम समुदायको आवरणमा विस्तारित धार्मिक अतिवादले आगजनी र तोडफोडको रुप लियो । देवानगञ्जमा प्रहरीको गोली लागेका नौ युवामध्ये ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको छ । साउन १४ गते सिरहास्थित गोलबजारमा युवा गणेश यादवको मृत्यु भएपछि कोशी र मधेश प्रदेश राजधानीसहितका जिल्लाहरुमा तोडफोड, आगजनी र लुटपाट बढ्दो छ ।
हिंसा भड्किँदै गएपछि साउन १४ गते सिरहास्थित गोलबजारमा प्रहरीको गोली लागेर युवाको मृत्यु भएपछि त मधेश झन् अशान्त बन्यो । देवानगञ्जमा भएको झडपमा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । इनरुवामा लुटपाट बढेपछि मधेशका विभिन्न क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । सुनसरी, धनुषा, सिराहा र पर्सा लगायतका जिल्लामा कफ्र्यु र निषेधाज्ञा जारी गरिएको छ । कोशी प्रदेशको सुनसरीबाट सुरु भएको तनाव बिस्तारै मधेश प्रदेशका जिल्लाहरुमा फैलिन थालेपछि सरकार बल्ल सक्रिय हुन थालेको छ ।
संकटको समयमा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रुपमा नबोलेको भन्दै उनको चौतर्फी आचोलना भयो । जनताको सार्वभौम थलो संसद्प्रति उत्तरदायी नभएको भन्दै तीव्र आलोचना खेपिरहेका बालेनले देशमा साम्प्रदायिक हिंसाका कारण धार्मिक द्वन्द्व भड्किने अवस्था आउँदासमेत नेतृत्वदायी भूमिका खेल्न अग्रसर नभएको भन्दै झन् आचोलित बने । देशको कार्यकारी प्रमुखको रुपमा बालेनको ‘कछुवा गति’ उनको क्षमता र मानवीय संवेदनामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
साम्प्रदायिक हिंसाका कारण तीन युवाको ज्यान गइसकेको छ । दर्जनौँ घाइते भएका छन् । स्थिति झन् झन् असहज बन्दै गएपछि सरकारको तीव्र आलोचना भयो । सरकार नै रक्षात्मक अवस्थामा पुगेपछि घटना भएको चार दिनपछि बालेन बल्ल बोले । साउन ११ गते सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका बालेनले प्रधानमन्त्री भएपछि पहिलोपटक साउन १४ गते राति ४ः३० मिनेटको भिडिओ जारी गर्दै राष्ट्रका नाममा सम्बोधन गरे ।
सम्बनेधनमा सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने आह्वान गरे । अराजकता फैलाउने र सदियौँ पुरानो भाइचारा खल्बल्याउने तत्वहरूविरुद्ध सरकारले कडा कदम चाल्नेसमेत उनले बताए । सम्बोधनलगत्तै प्रधानमन्त्री बालेन शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटे । प्रधानमन्त्री भएपछि राष्ट्रपति पौडेलसँग उनले पहिलो औपचारिक भेटवार्ता गरे ।
राति ९ बजेट शीतल निवास पुगेका बालेनले पौडेलसँग १५ मिनेट भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री बालेनलाई सुझाव दिएका थिए । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए । लगत्तै प्रधानमन्त्री बालेन शाहले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बिहीबार टेलिफोन संवाद गरेका थिए ।
बिहीबार राति उनीहरुबीच सुनसरी, सिरहालगायत विभिन्न ठाउँमा भएका घटनाबारे र मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो । संवाद क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार–विमर्श भयो । त्यसअघि बिहीबार बिहान प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान गरेका थिए । दिउँसो गृहमन्त्री सुधन गुरुङसँग सुनसरी घटनाका विषयमा एक्लै छलफल गरेका थिए । प्रधानमन्त्री भएपछि उच्च राजनीतिक भेटवार्ता नगरेका बालेनले एकाएक सक्रिय हुन थालेका छन् ।
शुक्रबार भने प्रधानमन्त्री शाहले मधेशकेन्द्रित दलका नेता र तराई–मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग छलफल गरे । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल गरेका हुन् ।
गृहमन्त्रीको ‘म्याराथन दौड’

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जबाट सुरु भएको धार्मिक द्वन्द्वको आगो कोशी प्रदेश हुँदै मधेश प्रदेशतिर फैलिन थालेपछि सरकारले अचानक सक्रियता बढाएको छ । प्रभावित क्षेत्रमा सरकारको उपस्थिति हुन नसकेको व्यापक गुनासोपछि सुरक्षा निकायको सर्वोच्च कमाण्ड सम्हालेका गृहमन्त्री सुधन गुरुङ बिहीबार सुनसरी पुगेका थिए । त्यहाँ जानुअघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए । सुनसरी पुगेपछि उनी रातभर सक्रिय रहे ।
त्यसअघि गृहमन्त्री गुरुङ बिहीबार साँझ ७ बजे विराटनगर विमानस्थल अवतरण गरेका थिए । त्यहाँ उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग सुरक्षा प्रमुखहरुसँग सुरक्षाका सम्बन्धमा बिफ्रिङ लिए । लगत्तै गुरुङ विराटनगरस्थित न्युरो अस्पताल गए । त्यहाँ देवानगञ्ज झडपका घाइतेहरुलाई भेटे । तर अस्पतालबाहिर उनीविरुद्ध नाराबाजी भएको थियो । त्यसपछि उनी राति ११ः४५ मा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीयसँग वार्ता गरे । त्यहाँ उनले रातभर नै वार्ता र छलफल गरेका थिए ।
कप्तानगञ्जका स्थानीयले उठाएको माग सम्बोधन गर्ने गृहमन्त्रीले वचन दिएपछि बिहान करिब ४ बजे ६ बुँदे सहमतिको ड्राफ्ट तयार भयो भने पछि एक बुँदा थपेर मृतक परिवार र सरकारबीच सात बुँदे सहमति गरियो । मृतकद्वय ओमप्रकाश र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने, मृतक परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने, कप्तानगञ्जमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्ने, मदरसाको छानबिन गर्ने, मृतकका परिवारका सदस्यलाई रोजगारी, मृतकको सम्झनामा स्मृति पार्क बनाउने सम्झौतामा हस्ताक्षर गरियो ।
सम्झौतापश्चात् शुक्रबार बिहान गोली चलेको स्थानको निरीक्षण गरे भने सुरक्षाकर्मीसँग भेटघाट गरे । रातभर जाग्राम बसेर देवानगञ्ज घटना साम्य पार्न भूमिका निर्वाह गरेका गृहमन्त्री शुक्रबार दिउँसो सिरहामा मृत्यु भएका युवकको परिवारलाई पनि भेट्न पुगेका थिए । गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि रातभर सक्रिय रहिन् । सांसद बब्लु गुप्ता, लालविक्रम थापा, स्थानीय जनप्रतिनिधि, कप्तानगञ्जका स्थानीय र सुरक्षा निकायको टोलीले उनलाई साथ दिएको थियो ।
रास्वपा सभापतिको भूमिकाको चौतर्फी प्रशंसा

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जको विवादले उग्र रुप लिँदै जान थालेपछि सरकारभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रसरता देखाए । उनले साउन १२ गते नै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसहितको सर्वदलीय बैठक आह्वान गरे । ९ दल सम्मिलित सर्वदलीय बैठकले ७ बुँदे अपिल जारी गरेको थियो । सुनसरीको अवस्था झन् बिग्रिन थालेपछि उनले त्यसको दुई दिनपछि मधेश प्रदेशका संघीय सांसदहरुसँग छलफल गरे ।
लगत्तै मधेश र कोशी प्रदेशका सांसदहरुसँग पनि छलफल गरेका थिए । बैठकमा उनले सांसदहरुलाई सद्भावको सन्देशसहित सम्बन्धित निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका थिए ।सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।
त्यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् । पछि सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गरेका छन् । शुक्रबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपिल जारी गरेका हुन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साम्प्रदायिक हिंसाको विवाद समाधान गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । उनले यो अवस्था किन आयो भन्नेबारे समस्याको समाधान गरिएपछि समीक्षा गर्नुपर्ने बताए । उनका अनुसार अहिले आगो निभाउन सबै जिम्मेवार बन्नुपर्छ । लामिछानेले साम्प्रदायिक प्रदर्शनमा जानबाट रोक्नका लागि हरेक परिवारलाई आह्वान पनि गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय निर्वाह भूमिका सकारात्मक रहेको भन्दै निष्पक्ष रुपमा मूल्यांकन गर्दै उनीप्रति सराहना व्यक्त गरेका छन् । शाहीले भनेका छन्, ‘म पनि उहाँले निर्वाह गर्नुभएको उक्त भूमिकाको सम्मान गर्दै उहाँप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।’
टाइमलाइनमा प्रधानमन्त्री बालेन शाहको सक्रियता
साउन १२ – देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी भएको भन्दै सामाजिक सदभाव कायम अपिल ।
साउन १३–प्रधानमन्त्री र सभामुखबीच भेट । सभामुखले सदनबाट बोल्न आग्रह गर्दा सुनसरीजस्ता घटना दोहोरिन दिनु नहुनेमा जोड ।
साउन १४ – प्रतिनिधिसभा बैठकमा अनुपस्थित
–राष्ट्रिय सुरक्षा परिषदको बैठक आह्वान । सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल ।
– पहिलोपटक देशको नाममा सम्बोधन गर्दै सरकार गम्भीर रहेको भनाई
–राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता
–उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग टेलिफोनमा कुराकनी
साउन १५ – मधेश केन्द्रित दलका शीर्ष नेताहरुसँग सिंहदरबारमा छलफल
–तराई–मधेसका सांसदहरूसँगको छलफल, निर्वाचन क्षेत्रमा पुगेर थप हिंसा फैलिन नदिन निर्देशन ।









प्रतिक्रिया दिनुहोस्