नेपालगन्जमा चौथो मःम: फेस्टिभल हुँदैँ



नेपालगन्ज : नेपालगन्जमा चौथो मःमः फेस्टिभल हुने भएको छ । सिद्धार्थ कटेज नेपालगन्जको आयोजनमा चौथो मःमः फेस्टिबल हुने भएको हो । चार वर्षदेखि कटेजले नयाँ वर्षको अवसरमा हरेक वर्ष मःमः फेस्टिभल आयोजना गर्दै आएको छ । फेस्टिभल बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत फेस्टिभल तीन दिनसम्म सञ्चालन हुने सिद्धार्थ कटेज नेपालगन्जले जानकारी दिएको छ । कटेजका जनरल म्यानेजर बद्री कोइरालाअनुसार भेस्टिभल माघ ३,४ र ५ गतेसम्म सञ्चालन हुनेछ ।

फेस्टिभलमा २०० सय भन्दा बढी मःमःका परिकार समावेश गरिने उनले जानकारी दिए । स्थानीय समुदायमा लोकप्रिय रहेका विभिन्न खाद्य परिवारहरुको प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको जनाइएको छ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा प्रत्येक दिन फरक फरक कलाकारहरुको समेत प्रस्तुति रहने उनले बताए । फेस्टिभलको पहिलो दिन स्थानीय कलाकारहरु तथा ब्यान्डहरुको प्रस्तुति रहने क्षेत्रीय बिक्री तथा बजार प्रबन्धक नवीन भट्टले बताए । दोस्रो दिन चर्चित गायक खुमन अधिकारी र इब्सन सञ्ज्याल लगायतका कलाकारहरु र ब्यान्डहरुको प्रस्तुति रहनेछ ।

साथै सोही दिन सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एण्ड कुकिङ प्रतियोगितासमेत सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा जो सुकैले भाग लिन पाउनेछन् । भने दर्ता निःशुल्क गरिएको छ । ‘हामीले चौथौ फेस्टिभल आयोजना गर्न लागेका हौँ । हरेक दिन सांस्कृतिक प्रस्तुुतिसमेत रहनेछन् । प्रतियोगितासमेत सञ्चालन हुनेछ,’ सिद्धार्थ हस्पिटलिटी ग्रुपका कर्पोरेट सेफ एलबी कौशलले भने । उनका अनुसार विभिन्न स्थानीय उत्पादनहरुबाट बनाइएका मःमः विशेष आकर्षण रहेका छन् । सिद्धार्थ गु्रप अन्तगर्त नेपालगन्जको मुटुमै रहेको होटल सिद्धार्थ चारतारे लक्जरी होटलसमेत हो । यसका शाखाहरु देशका विभिन्न स्थानमा होटल,रिसोर्ट तथा रेन्टुुरेन्ट तथा क्याफेगरी ३३ वटा आउटलेटहरु सञ्चालनमा रहेको कार्यकारी क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार