कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीका मुक्त कमैया तथा मुक्त कमलरी परिवारका लागि सुरक्षित आवास निर्माण अघि बढाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शुक्लाफाँटा नगरपालिकाको लागत साझेदारीमा १५ मुक्त कमैया परिवारका लागि घर निर्माण प्रक्रिया सुरु गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापना कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत आवास निर्माणको काम अघि बढाइएको छ । ‘मन्त्रालय, नगरपालिका र गैरसरकारी संस्थाबीच आवास निर्माणका लागि सम्झौताभैकार्य अगाडि बढेको छ,’ उनले भने ।
उनका अनुसार सुरक्षित आवास निर्माणका लागि मन्त्रालयले रु ५२ लाख ५० हजार बजेट उपलब्ध गराउने सहमती गरेको छ । प्रतिआवास रु तीन लाख ५० हजारका दरले रकम प्रदान गरिने सहमति भएको अधिकृत विष्टले जानकारी दिए । नगरपालिकाले ‘मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापनासम्बन्धी कार्यविधि, २०८०’अनुसार छनोट भएका लाभग्राहीका लागि आवास निर्माण गराउने जिम्मेवारी लिएको छ ।
वडा नं १० का अध्यक्ष लालबहादुर ऐरका अनुसार चालू आर्थिक वर्षको वडाका लागि विनियोजित स्वीकृत बजेट मध्येबाट रु २१ लाख ७५ हजार लागत साझेदारी गरिएको छ । ‘प्रतिआवास निर्माणका लागि रु एक लाख ४५ हजारका दरले रकम उपलब्ध गराइनेछ,’ उनले भने । निर्माण हुने प्रत्येक घरमा दुई सुत्ने कोठा, एक भान्सा, एक शौचालय तथा स्नानकक्ष रहनेछन् ।
हालसम्म सुरक्षित आवास नहुँदा मुक्त कमैया र कमलरी परिवार कच्ची झुपडीमा असुरक्षित रूपमा बस्दै आएका थिए । ‘विषालु सर्प, बिच्छीको डर, आगलागीको जोखिम र वर्षामा छाना चुहिने समस्या थियो,’ वडा अध्यक्ष ऐरले भने, ‘नयाँ आवास निर्माणसँगै यी समस्या समाधान हुने विश्वास लिएका छौँ ।’ आवास निर्माण तथा घर नक्सा पास गर्ने जिम्मेवारी नगरपालिकाको रहनेछ ।
कूल लागतको कम्तीमा १० प्रतिशत योगदान लाभग्राही स्वयंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भएपछि प्रगति प्रतिवेदन मन्त्रालयमा पेश गरिनेछ र मन्त्रालयकै समन्वयमा घर लाभग्राहीलाई हस्तान्तरण गरिनेछ । हस्तान्तरणपछि मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी लाभग्राहीकै बताइएको छ । यस कार्यक्रमले मुक्त कमैया तथा कमलरी समुदायको दीर्घकालीन आवास समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
यसैगरी, गत आवमा वडा कार्यालयकै पहलमा सिमलखेतका सुरक्षित आवासविहीन दलित समुदायका लागि निड्स नामक गैरसरकारी संस्थासँगको लागत साझेदारीमा ११ सुरक्षित आवास निर्माण गरिएका थिए । प्रति रु छ लाख ५० हजारमा निर्माण भएका आवास दलित समुदायलाई हस्तान्तरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्