रुपैडिहा जाने नेपाली उपभोक्ता घटे, नेपाली व्यवसायी उत्साहित



नेपालगन्ज ।

बाँके नेपालगन्जको छिमेकी बजार भारतको रुपैडिहा पछिल्ला दुई दिनदेखि सुनसान बनेको छ । सरकारले सीमापारबाट खरिद गरी ल्याउने सामानमा एक सय रूपैयाँभन्दा बढी मूल्यको भएमा भन्सार नतिरिकन ल्याउन दिन बन्देज गरिएपछि रुपैडिहा बजार सुनसान हुन थालेको हो ।

उपभोक्ताहरू रुपैडिहा गएर किनमेल गर्ने र भन्सारमा पनि कडाइ नगरिने अवस्थाले हैरान नेपालगन्जसहित सीमा क्षेत्रका नेपाली व्यापारीहरू भने उत्साहित भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले आफूहरूले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरे ।

उनले भने, ‘हामीले वर्षाैँदेखि उठाउँदै आएको माग अहिले बालेन सरकारले सुनेको अवस्था छ । सीमाको सही व्यवस्थापन गर्ने, सय रूपैयाँभन्दा बढीको सामान भन्सार बिन्दुबाट आउन लागेको छ ।’ प्रायः बिदाको दिनमा रुपैडिहा बजारमा नेपाली ग्राहकहरूको घुइँचो लाग्ने गरेको थियो ।

नेपाली उपभोक्ताकै कारण चम्किएको मानिने रुपैडिहा बजारमा गएर खरिद गरी ल्याउँदा भन्सार तिर्नुपर्ने नियममा कडाइ गरिएसँगै त्यहाँको भिड घटेको हो । यसले नेपालगन्जमै उपभोक्ताहरू रोकिने र व्यपार बढ्ने आशामा नेपालगन्जका व्यापारी तथा व्यवसायीहरू उत्साहित भएका छन् ।

सीमापार गएर खरिद गरी ल्याउनेहरूबाट भन्सार असुली गर्ने नियमको पालनामा कडाइ गर्न लामो समयदेखि यहाँका व्यवसायीले आवाज उठाउँदै आएकोमा बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारले सीमा नाका कडाइ गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनपछि सीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा भन्सार कार्यान्वयनमा कडाइ गरेको छ ।

नेपालगन्जका व्यापारी तथा व्यवसायीहरू उपभोक्ताहरू भारत जाने अवस्थाले निकै प्रताडित थिए । नेपालगन्जको व्यावसायिक उत्थानका लागि सीमामा भन्सारको कार्यान्वयन कडाइ हुनुपर्ने उनीहरूले माग राख्दै आएका थिए । केही दिनअघि नेपालगन्जमा अर्थसचिवको उपस्थितिमा भएको एक सुझाव संकलन कार्यक्रममा पनि उक्त सुझाव सबैभन्दा बढी प्राथमिकताका साथ उठेको थियो ।

उक्त कार्यक्रम भएको केही दिनमै सीमा कडाइ हुन सुरु गरेको हो । नेपालगन्ज भन्सारका प्रमुख जनार्दन आचार्य नाकामा भन्सारको यात्रु शाखा पहिलेदेखि नै सक्रिय रहे पनि अहिले प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा भन्सार कार्यान्वयनको अभियान चलेपछि थप प्रभावकारी देखिएको बताए ।

उनले भन्सारको यात्रु शाखा हुँदै दैनिक १६ हजारसम्म मानिसहरू र औसतमा ६ सयभन्दा बढी गाडीहरू वारपार गर्ने गरेका बताए । ‘ती सबैलाई भन्सारको दायरामा ल्याउने काम पहिलेदेखि नै भइरहेको थियो । अहिले अझै कडाइ गरेका छौँ । यसले झन्झट हुने भएपछि उपभोक्ताहरू सीमापार किन जाने भन्नेमा हुनुहुन्छ होला । त्यो हाम्रो लागि सुखद नै हो । हाम्रो व्यापार व्यवसाय फस्टाउनका लागि यस्तो हुनुपर्ने आवाज पहिलेदेखि नै उठ्दै आएको थियो,’ आचार्यले भने ।

‘अब भन्सार घटाऔँ, उपभोक्तालाई सहुलियत दिऔँ’

भारतीय बजारमा जाने उपभोक्ताहरूलाई यसअघि पनि पटक पटक भन्सारमा कडाइ गरिने गरिएको थियो । तर उक्त कडाइ केही दिन भए पनि फेरि उस्तै अवस्था आउने गरेको थियो । त्यसो हुनुका पछाडि सुरक्षा निकाय तथा भन्सारको हेलचेक्र्याइँ मात्रै नभई नेपालगन्जको बजारमा उपभोग्य वस्तुको मूल्य भारतीय बजारमाभन्दा बढी हुनु पनि कारण हो ।

एक व्यापारी धिरेन्द्र शाही पनि एक सय रूपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लगाएर मात्रै नेपाली बजारमा परिवर्तन नआउने बताउँछन् । त्यसका लागि सबैखाले सामानको भन्सार शुल्कमा कटौती गर्नुपर्ने उनको भनाइ छ । ‘नभए भन्सार अनिवार्य गर्दैमा न त कस्टमर रोकिन्छ, न त नेपाली बजारको उभोगति लाग्छ । व्यवसायीले तिर्ने भन्सार जसले पनि तिर्न सक्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली पनि अत्यावश्यक उपभोग्य वस्तुको भन्सार समायोजन नगरी खुला सीमाको समस्या समाधान नहुने बताउँछन् । केही दिनअघि अर्थसचिवसँगको सुझाव दिने कार्यक्रममा पनि अधिकांश उद्योगी व्यवसायीले भन्सार दरलाई वैज्ञानिक बनाउनुपर्ने सुझाव दिएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामी अब उपभोक्तालाई सहुलियत दिने उपायतर्फ सोच्न व्यवसायीहरूलाई आग्रह गर्छन् । उनले भने, ‘व्यवसायी साथीहरूले जुनसुकै व्यापारमा पनि आआफ्नो ठाउँबाट सक्दो कम नाफामा धेरै सामान बेच्ने टारगेट गरौँ । जसरी कालोबजारीको उपनाम हामीले पाइरहेका छौँ, यसलाई चिर्नुपर्छ र सरकारलाई सहयोग गर्नुपर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार