वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा मृत भेटिएकी सिर्जना बुढामगरको शव १८ दिनदेखि अस्पतालमै रहेको छ । सिर्जनाका आफन्तहरूले सिर्जनाको हत्या सम्बन्धमा प्रहरीले ठिक अनुसन्धान नगरिरहेको र दोषीलाई कारबाही नभएसम्म शव नबुझने अडानमा छन् ।
सिर्जनाका आफन्तहरूले आरोपित व्यक्ति सिर्जनासँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपाली र उनको परिवारका सदस्यहरू मिलेर नै हत्या गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएका छन् । साथै सञ्चारमाध्यम तथा सडक आन्दोलनका क्रममा पनि उनीहरूले ढपाली नै दोषी भएको बताउने गरेका छन् । तर प्रहरीले अहिले पनि उक्त घटना अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ ।
प्रहरीले आरिफसहित उनकी दिदी र आमालाई घटना भएको अर्काे दिन नै पक्राउ गरेको थियो । तर आफन्तहरूले फरार रहेका आरिफका बुवा र छोरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै आएका थिए । प्रहरीले मंगलबार आरिफका बुवा र छोरालाई पनि पक्राउ गरिसकेको छ । तर अझै पनि आफन्तहरूले शव बुझ्न मानिरहेका छैनन् । घटना भएको १८ दिन बितिसक्दा पनि सिर्जनाको शव अस्पतालमै रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार अहिले पनि प्रहरी उक्त घटनाको अनुसन्धानमै छ । आफन्तहरूले अहिले पनि शव बुझ्न नमानिरहेको र दोषीलाई ‘फाँसीको सजाय नभएसम्म’ शव नबुझ्ने बताइरहेका बिष्टले बताए ।
यसबीचमा सिर्जनाको न्यायका लागि भनेर सडकदेखि संसद्सम्म आवाजहरू उठाइए । सडकमा प्रदर्शनका क्रममा पनि आफन्तहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताउने गरेका छन् । सडक प्रदर्शनका क्रममा केही अधिकारकर्मी र सामाजिक अभियन्ता बताउन चाहनेहरूले उक्त घटनालाई धार्मिक रूपले भड्काउने अभिव्यक्ति दिएका थिए ।
सिर्जनाको मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानको माग लिएर सडकमा मात्रै नभई सदनसम्म पनि आवाज उठेको छ । प्रतिनिधिसभामा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने सांसद खगेन्द्र सुनारले अघिल्लो मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रहरीकहाँ जानकारी गराउँदा गराउँदै पनि घटना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भनेका छन्, ‘त्यसपूर्व उनले प्रहरीमा उजुरी गरेकी थिइन् । तर प्रहरीले गम्भीरतापूर्वक नलिँदाखेरि घटना घटेको छ । महिलाको हत्या र हिंसाका घटनामा राज्य गम्भीर बन्नलाई सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’
घटनालाई लिएर लुम्बिनी प्रदेशसभामा पनि प्रदेशसभा सदस्य सुशीला वादी र अम्बिका काफ्लेले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य वादीले सिर्जनामाथि पेट्रोल छर्केर जलाइएको घटनालाई अत्यन्तै जघन्य र अमानवीय भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
उनले महिला हिंसा नियन्त्रणमा कुनै पनि किसिमको ढिलासुस्ती हुन नहुने बताउँदै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताइन् । यसैगरी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले पनि यस्ता घटनालाई रोक्न कानुन संशोधन गरी अझ कडा सजायको व्यवस्था गर्नुपर्ने माग राखेकी छन् । त्यसैगरी चन्द्रकेश गुप्ताले पनि यस्ता जघन्य अपराध रोक्न सरकार थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
बाँके प्रहरीले भने मृतक सिर्जना र उनका प्रेमी आरिफ ढपालीको मोबाइल फोनलगायत सामग्री ल्याब परीक्षण भइरहेको र पक्राउ परेकाहरूमाथि म्याद थप गरी अनुसन्धान भइरहेको बताउँदै आएको छ । प्रहरीले आफन्तहरूसँगको छलफलमा निष्पक्ष रूपमा अनुसन्धान हुने आश्वासन दिए पनि आफन्तहरूले त्यसलाई विश्वास गरेका छैनन् ।
चैत १४ गते राति करिब १२ बजे आगोले जलेको अवस्थामा भेटिएकी सिर्जनालाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । तर चैत १५ गते बिहान १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनका कारण भएको उल्लेख छ ।
नेपालगन्ज–८ रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जनाको शरीर उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घरबाट करिब ५० मिटर टाढा भेटिएको थियो । मृतकका आफन्तहरूले सिर्जना र उनका प्रेमी भनिने ढपालीको लिभिङ टुगेदर सम्बन्ध खटपटपूर्ण रहँदै आएको र उनले नै हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
आरिफले पहिलेदेखि नै हिंस्रक व्यवहार देखाउने गरेकोमा आफन्तहरूको भनाइ छ । सिर्जनाको मृत्यु भएको अघिल्लो दिन पनि सिर्जना र ती व्यक्तिबीच खटपट भएको र सिर्जनामाथि कुटपिट भएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरीले ती व्यक्तिलाई हिरासतमा राखेको थियो । तर शनिबारै सिर्जनाले मिलापत्र गरी ती व्यक्तिलाई प्रहरीबाट छुटाएर लिएर आएकी थिइन् । तर मिलापत्र भएकै राति सिर्जना विभत्स अवस्थामा सडकमा मृत भेटिइन् ।









प्रतिक्रिया दिनुहोस्