‘काँग्रेसले नयाँ नीति र नेतृत्वलाई आत्मसात् गरेको छ’



वीरेन्द्रनगर ।

सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार नारायण कोइरालाले नयाँ नीति, नयाँ नेतृत्व र नयाँ सोचलाई काँग्रेसले आत्मसात् गरेको बताए । विशेष महाधिवेशनबाट नयाँ नीति, नयाँ नेतृत्व र नयाँ सोचका साथ काँग्रेस अघि बढिरहेको भन्दै काँग्रेसलाई नयाँ पार्टीका रूपमा समेत हेरेर मतदान गर्न उनको आग्रह छ ।

चुनावी भेटघाटका क्रममा पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै उनले अहिलेको काँग्रेस विगतको अनुभव र वर्तमानको आवश्यकता जोडेर अघि बढिरहेको उल्लेख गरे । बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक अवस्थाअनुसार पार्टीले आफूलाई परिमार्जन गर्दै लगेको उनको दाबी छ । ‘जेनजी पुस्ता र युवाहरूको मागलाई ध्यानमा राखी काँग्रेस अघि बढेको छ ।

रोजगारी, शिक्षा, सीप विकास, उद्यमशीलता र पारदर्शी शासनप्रति प्रतिबद्ध छौँ,’ उनले भने, ‘युवाका यी मागहरूलाई केन्द्रमा राखेर काँग्रेसले स्पष्ट नीति बनाएको छ । स्वदेशमै रोजगारी सिर्जना, स्टार्टअप तथा कृषि पर्यटनमा युवाको सहभागिता बढाउने योजना छ ।’ युवाले पनि देशभित्रै सम्भावना देख्न सक्नुपर्ने भन्दै त्यसका लागि नीति, नेतृत्व र सोच सबै परिवर्तन भएको उनको तर्क छ ।

‘काँग्रेस अब केवल पुरानो इतिहास होइन, नयाँ पुस्ताको भविष्य निर्माण गर्ने प्लेटफर्म हो,’ कोइरालाले थपे, ‘शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार, डिजिटल प्रविधिको प्रयोग, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग तथा सुशासनमार्फत युवाको भरोसा जित्ने लक्ष्य काँग्रेसले स्पष्ट रूपमा अघि बढाएको छ ।’

उनका अनुसार युवाको ऊर्जा र सोचलाई राज्यको नीति निर्माणमा जोड्न सके मात्र दिगो विकास सम्भव हुन्छ । कार्यक्रममा सहभागी पत्रकारहरूले पनि अब भाषणभन्दा काम देखिनुपर्ने धारणा राख्दै नयाँ सोचसहित अघि बढ्ने उम्मेदवारलाई मतदाताले समर्थन गर्ने संकेत रहेको जानकारी दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार