कर्णालीको हवाई पहुँच सुधार गर्र्न पहल



वीरेन्द्रनगर ।

कर्णालीमा आन्तरिक हवाई उडानलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच गहन छलफल भएको छ । भौगोलिक विकटता, सडक यातायातको कठिन पहुँच र सीमित हवाईसेवाका कारण वर्षौंदेखि आवागमनमा कर्णालीवासीले सास्ती खेप्दै आएका छन् । प्रदेश राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर विमानस्थलबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुलगायत हिमाली जिल्लामा हवाईसेवा विस्तार तथा नियमित सञ्चालन गर्ने विषयलाई छलफलमा ल्याइएको हो ।

कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या पहिचान गरी तिनको समाधान खोज्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’सँग छलफल गरिएको छ ।
छलफलमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाईसेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकहरू सहभागी थिए ।

छलफलमा कर्णालीका दुर्गम जिल्लामा हवाईसेवा सञ्चालनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, उडानको प्रभावकारिता अभिवृद्धि गर्ने उपाय र सेवा प्रदायकलाई प्रोत्साहन गर्ने विषयमा छलफल गरिएको छ । ‘आन्तरिक हवाई उडानलाई सहज र नियमित बनाउन प्रदेश तथा संघीय सरकार, नियामक निकाय र निजी वायुसेवा सञ्चालकबीच समन्वय आवश्यक थियो,’ मन्त्री खड्काले भनिन्, ‘विशेषगरी सडक सञ्जालको पहुँच कमजोर भएका हिमाली जिल्लामा तत्काल यात्रा गर्नुपर्ने नागरिक, उपचारका लागि बाहिर जानुपर्ने बिरामी तथा आकस्मिक कामले आवतजावत गर्नुपर्ने यात्रुका लागि हवाईसेवा अत्यन्त महत्वपूर्ण छ ।’

आवश्यकताअनुसार उडान उपलब्ध नहुँदा वा उडानको तालिका र सेवा नियमित नहुँदा नागरिकले समयमै गन्तव्यमा पुग्न कठिनाइ भोग्नुपरेको छ । सडकमार्गबाट लामो समय लाग्ने दूरी हवाई यातायातबाट छोटो समयमा पार गर्न सकिने भए पनि पर्याप्त र भरपर्दो उडान नहुँदा त्यसको लाभ सबै नागरिकले लिन सकेका छैनन् । बिरामीलाई उपचारका लागि सुर्खेत वा अन्य सुविधासम्पन्न सहरसम्म ल्याउनुपर्ने अवस्थामा हवाईसेवाको उपलब्धता महत्वपूर्ण छ ।

तर, हाल समयमै उडान नपाउँदा बिरामी र तिनका आफन्तले थप सास्ती बेहोर्नुपर्ने अवस्था छ ।  प्रदेश सरकारले हवाईसेवालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ । जसले कर्णालीमा आन्तरिक हवाई उडानलाई प्रोत्साहन गर्न बजेटसमेत विनियोजन गरिएको छ । छलफलमा विनियोजित बजेटको प्रभावकारी उपयोग गर्दै उडान आवश्यक पर्ने जिल्लालाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालिएको छ । साथै सेवा सञ्चालनका अवरोध पहिचान गर्ने र उडानको नियमितता अनुगमन गर्ने सहमति भएको छ ।

यसका लागि उडानको माग र आवश्यकता पहिचान गरी सेवा सञ्चालनको उपयुक्त ढाँचा बनाइने तयारी छ । संघीय सरकार, प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालकबीच भएको छलफलले कर्णालीको हवाईसेवा सुधारका लागि साझा पहलको आवश्यकता औँल्याएको छ । तर, यसको वास्तविक उपलब्धि छलफलमा उठेका विषयलाई कति छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गरिन्छ भन्नेमा निर्भर हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार