सल्यान ।
जिल्लामा प्रहरीले सामुदायिक वनको ओढारमा लुकाइछिपाइ राखेका आठ नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० भवटीस्थित सामुदायिक वनको ओढारमा लुकाएर राखिएको अवस्थामा प्रहरीले आठ नाल भरुवा बन्दुक फेला पारेको हो । गोप्य सूचनाका आधारमा ओढारमा खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बरामद गरिएका आठ नाल भरुवा बन्दुकमध्ये सात नाल साबुत अवस्थामा रहेका छन् भने एउटा बन्दुक बेसाबुत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । बरामद गरिएका बन्दुक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको प्रहरीको भनाइ छ । सामुदायिक वनको ओढारमा बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्