
सल्यान ।
दसैँतिहारको बिदा सकिएसँगै जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवाग्राहीको चाप अस्वाभाविक रूपमा बढेको छ । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनेदेखि विभिन्न प्रशासनिक सिफारिस तथा प्रमाणीकरणका लागि आउनेको सङ्ख्या दोब्बरभन्दा बढी पुगेपछि प्रशासनलाई नियमित कार्यालय समयले सेवा धान्न मुस्किल परेको छ ।
सेवाग्राहीको चाप व्यवस्थापन गर्न कर्मचारी बिहानदेखि राति अबेरसम्म खटिन थालेका छन् भने सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर सेवा दिनुपर्ने अवस्था आएको छ । दसैँअघि दैनिक औसत १५० जनासम्म सेवाग्राही आउने जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक ३५० देखि ४०० जनासम्म पुग्ने गरेका छन् । सीमित जनशक्ति र बढ्दो कार्यचापबीच सेवाग्राहीलाई सकेसम्म एउटै दिनमा सेवा दिएर घर फर्काउने उद्देश्यले प्रशासनले बिहान ८ बजेदेखि राति ९–१० बजेसम्म सेवा प्रवाह गरिरहेको छ । सेवाग्राहीको चाप बढ्नुमा दसैँतिहारपछि विदेश जाने तयारीमा रहेका व्य
क्तिले राहदानी बनाउन आउने गरेका छन् भने लोकसेवा आयोगका विज्ञापन खुलेपछि आवश्यक कागजात तथा सिफारिस लिन आउनेको सङ्ख्या बढेको छ ।
कालीमाटी गाउँपालिका–७ घुईयाबारीबाट एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही आउनु मुख्य कारण रहेको प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले बताइन् । उनका अनुसार पछिल्लो समय प्रशासनमा नागरिकता र राष्ट्रिय परिचयपत्रसम्बन्धी कामको चाप उल्लेख्य रूपमा बढेको छ । राहदानी बनाउने र वितरण गर्ने कामसँगै अन्य प्रशासनिक सेवा पनि उत्तिकै सञ्चालन गर्नुपर्दा कर्मचारीलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ ।
शुक्रबार मात्रै जिल्ला प्रशासन कार्यालयले विभिन्न प्रकृतिका सयौँ सेवा प्रवाह गरेको थियो । उक्त दिन ११८ जनालाई नयाँ नागरिकता वितरण गरिएको थियो भने ६५ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको थियो । राष्ट्रिय परिचयपत्रतर्फ ११० जनाको विवरण दर्ता, १५ जनालाई कार्ड वितरण, १६ जनाको विवरण अद्यावधिक र ७३ जनाको इन्क्वाइरी गरिएको थियो । त्यसैगरी ३५ जनाको राष्ट्रिय परिचयपत्रमा मोबाइल नम्बर परिवर्तन, २० जनाको अनलाइन फाराम, ३६ जनाको राहदानी सिफारिस र ४१ जनालाई राहदानी वितरण गरिएको केसीले जानकारी दिइन् । कार्यालयबाटै २५ जनाको राहदानीसम्बन्धी अनलाइन फाराम भरिएको थियो, भने ४३ जनालाई विभिन्न प्रशासनिक सिफारिस तथा प्रमाणीकरणको सेवा दिइएको थियो ।
तीन दिनको अवधिमा मात्रै ४०५ जनाले नयाँ नागरिकता लिएका छन् भने २३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । त्यस्तै, ४५० जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । अन्य सेवा लिने सेवाग्राहीको सङ्ख्या पनि उल्लेख्य रहेको प्रशासनले जनाएको छ । सेवाग्राहीको चापले नियमित कार्यालय समयमा काम सम्पन्न गर्न नसकिएपछि प्रशासनले शनिबारसमेत कार्यालय खोलेर सेवा दिएको छ । शुक्रबार कालीमाटी गाउँपालिका–७ घुईयाबारीबाट आएको ठूलो समूहको काम एकै दिनमा सम्पन्न गर्न नसकिएपछि उनीहरूलाई थप सास्ती नहोस् भन्ने उद्देश्यले शनिबार बिहान १० बजेदेखि कार्यालय सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताइन् ।
‘दुर्गम गाउँबस्तीबाट सदरमुकाम खलंगा पुग्ने सेवाग्राहीका लागि एक दिनको काम नसकिँदा अर्को दिनसम्म बस्नुपर्ने बाध्यता हुन्छ,’ उनले भनिन्, ‘त्यसैले यातायात खर्च, खानपिन र बासको अतिरिक्त आर्थिक भारसमेत व्यहोर्नुपर्ने भएकाले प्रशासनले कार्यालय समयपछि र सार्वजनिक बिदाका दिनमा पनि सेवा दिन थालेको हो ।’
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द विष्टका अनुसार कर्मचारीको सङ्ख्या सीमित भए पनि सेवाग्राहीको चाप अत्यधिक बढेकाले व्यवस्थापनमा चुनौती थपिएको छ । एउटै कर्मचारीले विभिन्न प्रकृतिका काम सम्हाल्नुपर्ने हुँदा बिहानदेखि बेलुकी अबेरसम्म निरन्तर खटिनुपर्ने अवस्था रहेको उनले बताए । कतिपय दिन कर्मचारीलाई दिउँसो खाजा खाने फुर्सदसमेत नहुने उनको भनाइ छ ।
प्रशासनको अतिरिक्त प्रयासले दुर्गम क्षेत्रबाट आएका सेवाग्राहीलाई केही राहत पुगेको छ । शुक्रबार बिहान नागरिकता बनाउन कालीमाटी गाउँपालिका–७ घुईयाबारीबाट सदरमुकाम आएका नवीन बोहोराले सेवाग्राहीको अत्यधिक भीडका कारण शुक्रबार काम सम्पन्न हुन नसकेपछि शनिबार नागरिकता बनाएको बताए ।
कार्यालयका कर्मचारीले नियमित समयपछि पनि राति अबेरसम्म बसेर सेवा दिएकोमा आफूलाई खुसी लागेको उनको भनाइ छ । उनका अनुसार एक दिनमै काम सम्पन्न नहुँदा दुर्गम क्षेत्रबाट आएका सेवाग्राहीलाई थप समय र खर्च व्यहोर्नुपर्ने अवस्था हुन्छ । कार्यालयमा सेवा लिन आएका अन्य सेवाग्राहीले पनि विगतको तुलनामा अहिले सेवा प्रवाह सहज भएको र पहिले जस्तो अनावश्यक दुःख भोग्न नपरेको बताएका छन् ।
तर, बढ्दो सेवाग्राहीको चाप धान्न कर्मचारीले नियमित समयभन्दा दोब्बर समय खटिनुपर्ने अवस्था देखिएको छ । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता अत्यावश्यक सेवामा नागरिकको निर्भरता बढ्दै जाँदा सीमित जनशक्तिबाटै सेवा प्रवाह गर्नुपर्ने प्रशासनको बाध्यता पनि उजागर भएको छ । तत्कालका लागि कर्मचारीको अतिरिक्त समय र बिदाको दिनको सेवाले सेवाग्राहीलाई राहत दिएको छ । तर, बढ्दो चापलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जनशक्ति तथा सेवा प्रवाहको क्षमता विस्तार आवश्यक देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्