पुनर्निर्माण र पुनस्र्थापनाका लागि बागमतीले ६ अर्ब रूपैयाँँ व्यवस्थापन गर्ने



काठमाडौँ ।

बागमती प्रदेश सरकारले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि चालू आर्थिक वर्ष २०८३–०८४ मा रु. ६ अर्ब बराबरको स्रोत व्यवस्थापन गर्ने भएको छ । जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा सम्पन्न सरोकारवालासँगको छलफल तथा अन्तक्र्रिया बैठकले उक्त निर्णय गरेको हो । गत भदौ १० गते ल्हेन्दे–भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय, भौतिक, सामाजिक तथा सांस्कृतिक क्षति र त्यसपछिको राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका विषयमा बैठकमा विस्तृत छलफल भएको थियो ।

प्रदेश सरकारले हालसम्म गरेका कामको समीक्षा गर्दै बैठकले तत्काल सञ्चालन गर्नुपर्ने आयोजना तथा कार्यक्रम र दीर्घकालीन समाधानका उपायबारे निर्णय गरेको छ । बैठकको निर्णयअनुसार पुनर्निर्माण तथा पुनस्र्थापनाका आयोजना सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्य, स्थानीय तह तथा वडाको सिफारिस र सहभागितामा अघि बढाइनेछन् । आयोजना छनोट र कार्यान्वयन गर्दा काममा दोहोरोपना हुन नदिने तथा उपलब्ध स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्ने निर्णय भएको छ ।
तत्काल पुनर्निर्माण तथा पुनस्र्थापना गर्नुपर्ने आयोजनाको माग संकलन, विश्लेषण तथा उपलब्ध बजेट सीमाभित्र सम्पन्न गर्न सकिने आयोजना वा कार्यक्रमको सूची तयार गर्ने काम प्रदेश नीति तथा योजना आयोगको समन्वयमा गरिनेछ ।

छनोट भएका आयोजना तथा कार्यक्रम सम्बन्धित मन्त्रालय र निकायले कार्यान्वयन गर्नेछन् । बाढी प्रभावित क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन तथा गुरुयोजना तयार गर्ने भएको छ । यसमा जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको सहज जीविकोपार्जन सुनिश्चित गर्ने व्यवस्था तथा पूर्वाधार र सम्पदाको संरक्षणलगायतका विषय समेटिनेछन् । उक्त गुरुयोजनाका आधारमा संघ, प्रदेश र स्थानीय तहले आआफ्नो अधिकार र जिम्मेवारी भित्रका काम अघि बढाउने निर्णय भएको छ ।

बैठकले प्रदेश तथा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने पुनर्निर्माण र पुनस्र्थापनाका कामका लागि आवश्यक आर्थिक स्रोत उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । विपद् व्यवस्थापन तीनै तहका सरकारको जिम्मेवारीमा रहेको तर यससम्बन्धी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र जम्मा भएको सन्दर्भमा उक्त निर्णय गरिएको हो । बैठकमा प्रदेश सरकारले बाढीपछि गरेको तत्काल उद्धार तथा राहत, अवरुद्ध सडक र पुलको वैकल्पिक व्यवस्थासहित आवागमन सञ्चालन तथा खानेपानी र विद्यालय शिक्षालगायतका सेवा सुचारु गर्न गरेका प्रयास र उपलब्धिको समीक्षा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १० गते बुधबार