कैलालीमा किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद



काठमाण्डौ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका ६ वटा खरिद उपकेन्द्रमार्फत किसानको १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ । कार्यालयका प्रमुख दीपक थापाकाअनुसार यही मंसिर १ गतेदेखि शुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत अहिलेसम्म झण्डै १६ हजार क्विन्टल धान खरिद गरिएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरेको छ । त्यही मूल्यमा किसानबाट धान खरिद भइरहेको कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो । यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गएको वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल कोटा घटेको हो ।

कम्पनीले कैलालीका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ । तर, यस वर्ष खरिद कोटा घटेकोमा गुनासो आइरहेको र कोटा बढाउन केन्द्रमा पहल भइरहेको कार्यालयका प्रमुख थापाले बताउनुभएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १० गते बुधबार