
नेपालगन्ज ।
दशवर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले आफ्नो न्यायको मुद्दा ओझेलमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग र एड्भोकेसी फोेरमको आयोजनामा नेपालगन्जमा आयोजित संक्रमणकालीन न्यायको अवस्था र पीडितको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले सो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूले अहिले द्वन्द्वपीडितको न्यायका लागि गठित आयोग पदाधिकारीविहीन रहेको र सरकारले पनि उक्त मुद्दाबारे चासो नदिएको महसुस गरिरहेको बताए । उनीहरूले सम्झौता भएको दुई दशक पुग्दा पनि न्याय नपाइएको भन्दै दुःख व्यक्त गरे । साथै अधिकारकर्मी तथा सामाजिक अगुवाहरूलाई न्यायका लागि आवाज उठाउन उनीहरूले आग्रह पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी तथा कानुन व्यवसायीहरूले न्यायको प्रक्रियामा निकै ढिलाइ भएको भन्दै चाडो न्यायनिरुपणका लागि दबाबका कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए । मानवाधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारीले द्वन्द्वका प्रभावलाई न्यूनीकरण नगरेसम्म द्वन्द्वको जोखिम बाँकी नै रहने बताइन् । त्यही भएर अहिलेसम्म न्याय नपाएका पीडितहरूलाई न्याय दिनु राज्यको दायित्व हुने बताइन् । उनले कुनै पनि बाहनामा सरकार न्याय दिने दायित्वबाट भाग्न नमिल्ने पनि बताइन् । उनले भनिन्, ‘अहिलेको सरकारले पनि यस विषयलाई थाहा छैन भन्ने वा बेवास्ता गर्ने छुट छैन ।’
अधिकारीले नेपालगन्ज पनि द्वन्द्वको एक केन्द्र रहेको र त्यसको प्रभावकै कारण मानवअधिकार आयोगको कार्यालय नेपालगन्जमा स्थापना गरिएको बताइन् । आयोगले अहिलेसम्म पनि द्वन्द्वकै उजुरीहरूमाथि काम गर्नुपरिरहेको बताउँदै उनले चाँडो न्याय निरुपण गरी मानअधिकारको नयाँ मुद्दाहरूमा छलफलतर्फ जानुपर्ने बताइन् ।
उच्च अदालत बार नेपालगन्जका अध्यक्ष अधिवक्ता पवनकुमार गुप्ताले दुई दशक पुगिसक्दा पनि किन सुनुवाइ नभएको ? भन्ने विषयमा राज्यले उचित जवाफ दिनुपर्ने बताए । आयोगमा आयुक्त नभएको नयाँ सरकार पनि बनेको अवस्थामा अब के हुने हो भन्ने अन्यौल बाँकी रहे पनि आशा मार्न नहुनेमा उनको जोड थियो ।
अधिकारकर्मी सुरेश गौतमले द्वन्द्वका बेलामा पीडित भएकाहरूलाई सहायता गर्ने क्रममा आफूले देखेको पीडा बयान गर्न नसकिने खालको रहेको बताए । उनले पीडितहरूले अहिलेसम्म न्याय नपाउनु विडम्बनापूर्ण अवस्था रहेको भन्दै अब दबाबपूर्ण कार्यक्रमहरू गर्नु जरुरी रहेको बताए । त्यसका लागि पीडित तथा मानअधिकार रक्षकहरू एकजुट हुनुपर्ने बेला आएकोमा उनको जोड थियो । अर्का अधिकारकर्मी प्रभातसिंह ठकुरीले अहिलेको सरकारलाई पीडितहरूको पीडा बुझाउनु जरुरी रहेको बताए । द्वन्द्वको समय नभोगेका र पीडा महसुस नगरेकाहरू सरकारमा रहेकाले उनीहरूले पीडितहरूको अवस्था महसुस गर्न नसकेको हुनसक्ने उनको आशंका थियो । त्यसका लागि आन्दोलन र दबाबका कार्यक्रम गर्नु जरुरी रहेकोमा उनले पनि जोड दिए ।








प्रतिक्रिया दिनुहोस्