चार महिनामा साढे चार प्रतिशत मात्रै विकास खर्च



जुम्ला ।

जिल्लामा विकास निर्मा गति सुस्त देखिएको छ । कर्णालीको विकास र पूर्वाधार विस्तारका लागि छुट्याइएको अर्बौँ रूपैयाँँ बजेट खर्च हुन नसक्दा जुुम्लामा पनि उही प्रवृति देखिएको छ । चालू आर्थिक वर्ष २०८३–०८४ को पहिलो चौमासिक सकिँदासमेत जिल्लामा पूँजीगत खर्च साढे चार प्रतिशतको हाराहारीमा सीमित छ । कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका अनुसार जिल्लामा चालू आर्थिक वर्षका लागि पूँजीगततर्फ तीन अर्ब ३३ करोड १६ लाख १९ हजार रूपैयाँँ बजेट विनियोजन भएको छ ।
तर, कात्तिक मसान्तसम्ममा जम्मा चार दशमलव ६७ प्रतिशत अर्थात् करिब १५ करोड ५५ लाख रूपैयाँँ मात्रै खर्च भएको छ । बाँकी ९५ प्रतिशतभन्दा बढी विकास बजेट खर्च हुन सकेको छैन । विकास निर्माणका लागि आर्थिक वर्षको सुरुमै बजेट विनियोजन भए पनि पहिलो चौमासिकमा खर्चको अवस्था कमजोर देखिएको हो ।

आर्थिक वर्षको एक तिहाइ समय बितिसक्दा पनि खर्चको अवस्था न्यून रहनुले बाँकी अवधिमा बजेट कार्यान्वयनको चाप बढ्ने देखिन्छ । जुम्लामा सबैभन्दा ठूलो पूँजीगत बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजना मातहत छ । यी दुई कार्यालयमा मात्रै अर्बौँ रूपैयाँँ बजेट रहे पनि खर्चको अवस्था भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालयमा चालू आर्थिक वर्ष एक अर्ब ७९ करोड ५० हजार रूपैयाँँ पूँजीगत बजेट विनियोजन गरिएको छ । तर, कात्तिक मसान्तसम्ममा कार्यालयले जम्मा ६ करोड ४८ लाख १२ हजार रूपैयाँँ खर्च गरेको छ । यो कूल विनियोजनको तीन दशमलव ६१ प्रतिशत मात्रै हो ।

त्यस्तै, सघन सहरी तथा भवन आयोजनामा एक अर्ब ३९ करोड दुई लाख पाँच हजार रूपैयाँँ पूँजीगत बजेट छ । तर, पहिलो चौमासिकमा उक्त कार्यालयले ६ करोड ८४ लाख २२ हजार रूपैयाँँ मात्रै खर्च गर्न सकेको छ । यो कूल बजेटको चार दशमलव ९२ प्रतिशत हो । दुवै कार्यालयको बजेट र खर्चको विवरणले जिल्लाको विकास बजेटको ठूलो हिस्सा ओगट्ने सडक, भवन तथा सहरी पूर्वाधार निर्माणको काम अपेक्षित गतिमा अघि नबढेको देखिन्छ ।
पहिलो चौमासिकमा विकास खर्च न्यून हुनुको प्रत्यक्ष असर आर्थिक वर्षको पछिल्लो अवधिमा देखिने गरेको छ । सुरुवाती महिनामा पर्याप्त खर्च हुन नसक्दा बाँकी आठ महिनामा विनियोजित बजेट कार्यान्वयन गर्नुपर्ने दबाब पनि बढेको छ । नेपालको सार्वजनिक खर्च प्रणालीमा आर्थिक वर्षको अन्त्यतिर खर्चको चाप बढ्ने प्रवृत्तिबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।

समयमै आयोजना सुरु नहुने, ठेक्का प्रक्रिया लम्बिने र निर्माण कार्यले गति लिन नसक्ने अवस्था कायम रहेमा अन्तिम समयमा खर्च बढाउने दबाब सिर्जना हुने गरेको हो । वर्षायाम, भौगोलिक कठिनाइ र सीमित निर्माण अवधिलाई ध्यानमा राखेर समयमै आयोजना कार्यान्वयन नगर्दा बजेट खर्चमा थप चुनौती आउने गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका अनुसार जिल्लामा संघीय सरकार मातहतका ३६ वटा कार्यालय र आठवटा स्थानीय तहका लागि पूँजीगत बजेट प्राप्त भएको छ । जिल्लाभरका विकास आयोजना तथा पूर्वाधार निर्माणमा खर्च हुनुपर्ने ठूलो रकम पहिलो चौमासिकमा न्यून मात्रामा परिचालन भएको छ ।

कोष नियन्त्रक मन्जित अछामीले कात्तिक मसान्तसम्मको पूँजीगत खर्च चार दशमलव ६७ प्रतिशत रहेको जानकारी दिएका छन् । उनका अनुुसार जुम्लामा तीन अर्बभन्दा बढी पूँजीगत बजेट विनियोजन हुनु विकास निर्माणका लागि महत्वपूर्ण अवसर हो । तर, विनियोजित बजेट समयमै खर्च भएर नागरिकले सडक, भवन, खानेपानी तथा अन्य पूर्वाधारको प्रत्यक्ष लाभ पाउन सकेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार