विद्यार्थीलाई न्यानो कपडा वितरण



दैलेख ।

जिल्लाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको डाँडापराजुलस्थित पिपलचौतारा माध्यमिक विद्यालयका २४४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । लायन्स क्लब अफ दैलेख र लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संयुक्त आयोजनामा विद्यालयमा अध्ययनरत आधारभूत तहदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई कपडा दिइएको छ । उनीहरूलाई न्यानो कपडा र टोपी वितरण गरिएको हो । कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले शिक्षा क्षेत्रको विकास र विद्यार्थीको शैक्षिक उन्नयनका लागि सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

‘विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री र छात्रवृत्ति उपलब्ध गराउनु मानवीय सेवासँगै शिक्षामा लगानी गर्ने सराहनीय कार्य हो,’ उनले भने, ‘न्यानो कपडा वितरण गरिब, विपन्न, जेहेनदार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई सहयोग पुग्छ ।’ लायन्स क्लब अफ दैलेखका अध्यक्ष अभिषेक अनुरागले दुई जिल्लाका लायन्स क्लबबिचको आपसी सम्बन्ध र सहकार्यलाई सामाजिक सेवामार्फत थप प्रभावकारी बनाइएको बताए । विद्यार्थीको आवश्यकता र विद्यालयको शैक्षिक वातावरणलाई ध्यानमा राखेर सहयोगका कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।

आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने क्लबको प्रतिबद्धता छ । विद्यार्थीलाई न्यानो कपडा, छात्रवृत्ति तथा शैक्षिक प्रोत्साहन उपलब्ध गराएकोमा सहयोगी संस्थालाई विद्यालयका प्रधानाध्यापक नन्दबहादुर केसीले धन्यवाद व्यक्त गरे । विद्यार्थीका लागि गरिएको सहयोगले पठनपाठनमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार