सञ्जीवनीमा ‘आमा सुरक्षा कार्यक्रम’ पुनः सञ्चालन



नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित सञ्जीवनी अस्पताल (साविकको नेपालगन्ज मेडिकल कलेज)मा पुनः ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालन भएको छ । यसअघि मेडिकल कलेज हुँदा सञ्चालनमा रहेको कार्यक्रम बीचमा आएर मापदण्डअनुसार काम नगरेको भन्दै सरकारले अनुदान दिन रोकेपछि बन्द गरिएको थियो ।

अस्पतालमा पुनः आमा सुरक्षा कार्यक्रमको सेवा सुरु गरिएको अवसरमा नेपालगन्ज उपमहानरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । त्यसक्रममा उनले बाँकेमा मातृ शिशु मृत्युदरमा सुधार गर्न सहयोग पुग्ने बताए । जोखिमयुक्त गर्भावस्थाको निःशुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा सरकारी भेरी अस्पतालमाथि त्यसको भार परेको थियो ।

अब सञ्जीवनी अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ दिने अपेक्षा गरिएको छ । अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले बताएका छन् । कार्यक्रमअन्तर्गत गर्भवती महिलाहरूलाई नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, आवश्यक परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार