विश्व इतिहासमा ‘आइकोनिक’ बन्यो नेपालको ‘जेनजी रिभोलुुसन’



विश्वमा यसअघि जेनजीहरूले आन्दोलन नगरेका होइनन् । ती आन्दोलनहरूले थुप्रै देशमा सत्ता पलट गरिदिएका इतिहास छन् । पछिल्ला केही वर्षयता जेनजी पुस्ता र युवा आन्दोलनका कारण शासक सत्ताच्युत हुनुपरेको, देशै छोडेर भाग्नु परेका थुप्रै उदाहरण छन् । नेपालमा सुरु भएको जेनजी आन्दोलनको पृष्ठभूमि नेपालको वर्तमान राजनीतिक नेता र प्रणालीप्रतिको जेनजी वितृष्णा त हुँदै हो, हालैका वर्षमा विश्वमा विभिन्न देशमा भएका युवा आन्दोलनहरूको पछिल्लो संस्करणका रूपमा समेत हेर्न सकिन्छ ।

अछुत कोपिला

नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ २०८२ भदौ २३ र २४ गतेको दिन । अभूतपूर्व जेनजी आन्दोलनले मात्र दुई दिनमा सत्तापलट गरिदियो । भदौ २३ गते १२ वर्षदेखि २८ वर्षसम्मका असंगठित जेनजी (नयाँ पुस्ता)ले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थिए । २४ गते भने जेनजी आन्दोलनकै कारण नेपालका दुई पुराना राजनीतिक दलको सत्ता गठबन्धन सरकार ढालिदियो । त्यही आन्दोलनले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु गरिदिएको छ । उक्त आन्दोलनमा हालसम्म कम्तीमा ५१ जनाको ज्यान गएको छ । यही आन्दोलनको उपजका रूपमा देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ, शुशीला कार्की । योसँगै नेपालमा वर्षौँदेखि हजुरबा पुस्ताको अपहरणमा रहेको राजनीतिक बागडोर जेनजी पुस्ताको काँधमा आएको छ । विश्व इतिहासमा यो नै अभूतपूर्णरूपमा नेपाली जेनजीले आन्दोलनको बलमा प्राप्त गरेको दुर्लभ अवसर हो ।

विश्वमा यसअघि जेनजीहरूले आन्दोलन नगरेका होइनन् । ती आन्दोलनहरूले थुप्रै देशमा सत्ता पलट गरिदिएका इतिहास छन् । पछिल्ला केही वर्षयता जेनजी पुस्ता र युवा आन्दोलनका कारण शासक सत्ताच्युत हुनुपरेको, देशै छोडेर भाग्नु परेका थुप्रै उदाहरण छन् । नेपालमा सुरु भएको जेनजी आन्दोलनको पृष्ठभूमि नेपालको वर्तमान राजनीतिक नेता र प्रणालीप्रतिको जेनजी वितृष्णा त हुँदै हो, हालैका वर्षमा विश्वमा विभिन्न देशमा भएका युवा आन्दोलनहरूको पछिल्लो संस्करणका रूपमा समेत हेर्न सकिन्छ । जस्तो, २५ अगस्ट २०२५ मा इन्डोनेसियामामा जेनजी आन्दोलन सुरु भयो । त्यहाँका सांसदहरूले पाउने विलासितापूर्ण भत्ता, सुविधा, आर्थिक असमानताविरुद्ध आन्दोलन सुरु भएको थियो ।आन्दोलनका क्रममा हालसम्म कम्तीमा ११ जनाको मृत्यु भइसकेको छ । आन्दोलनकै कारण त्यहाँको सरकारले उक्त सुविधा कटौती गर्न बाध्य भएको छ । यस्तै सन् २०२५ को मार्च १४ देखि जुन ३ सम्म मंगोलियामा भएको युवा आन्दोलनका कारण त्यहाँका प्रधानमन्त्री ओयुन–एर्दनेले राजीनामा दिए ।

युरोपियन देश सर्बियामा ३ नोभेम्बर २०२४ देखि सुरु भएको आन्दोलन दश महिना एक हप्तासम्म चलेको थियो । त्यहाँ भएको रेल दुर्घटनाको विषयमा व्यापक विरोध हुँदै गएपछि देशभर अभूतपूर्वरूपमा असंगठित विद्यार्थी सडकमा आएका थिए । पूर्वी अफ्रिकी देश केन्यामा सन् २०२४ जुन १८ देखि अगस्ट ८ सम्म करिब दुई महिना लामो प्रदर्शन भयो । सरकारले कर वृद्धि गर्न ल्याएको आर्थिक ऐनविरुद्ध जेनजी युवाले आन्दोलन सुरु गरेका थिए । पछि सरकार ऐन फिर्तालिन बाध्य भयो । पछिल्लो समय त्यहाँका युवाहरूले देशमा व्याप्त भ्रष्टाचार र वेथितिविरुद्ध चरण आन्दोलन गरिरहेका छन् । दक्षिण एसियाली देश बंगलादेशमा सन् २०२४ जुन ६ देखि चलेको आन्दोलन अगस्ट ३ अर्थात् करिब दुई महिनासम्म जेनजीले आन्दोलन गरे । गत २३ जेठमा उच्च अदालतले स्वतन्त्रता सेनानीका सन्तानलाई निजामती सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने आदेश दिएसँगै बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री सेख हसिना भागेर भारतको शरणमा पुगिन् ।

श्रीलंकाको जेनजी आन्दोलन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीबाट भएको थियो । भ्रष्टाचार, नातावादबाट आक्रोशित मानिसले राष्ट्रपति गोटाबाया राजपाक्षे परिवार र उनीहरूले नेतृत्व गरेको सरकार जिम्मेवार रहेको भन्दै प्रदर्शन गरेका थिए । युवाहरूले सडक कब्जा गर्दै राष्ट्रपति भवनभित्रसमेत घुसेर प्रदर्शन गरे । सन् २०२२ मा ११३ दिनसम्म चलेको आन्दोलनपछि राजपाक्षे भागेर सिंगापुर पुगे । माथि उल्लेखित देशमा महिनौँदेखि वर्षौँसम्म आन्दोलन भएका छन् । तर, नेपालमा मात्र दुई दिनमात्रै चलेको आन्दोलनले सिंगो देशको राजनीतिक डिस्कोर्स नै बदलीदिएको छ । नेपालको जेनजी रिभोलुसन विश्व इतिहासमै आइकोनिक बनेको छ । जसको इतिहास नेपालमात्रै होइन विश्वमै स्वर्ण अक्षरले लेखिनेछ । विश्वमा हालसम्म जति आन्दोलन भए, ती आन्दोलनले यतिधेरै छिटो समयमै सत्ता परिवर्तन गरेका थिएनन् । त्यसैले नेपालको जेनजी आन्दोलनले क्रान्तिको रूपमा लिएको छ । यो नेपाली जेनजी रिभोलुसन (क्रान्ति) विश्व इतिहासमा प्रतिकात्मक (आइकोनिक) बनेको छ ।

‘चुप पुस्ता’ले मौनता तोड्दा सत्ता उपलपुलट

मुलुकमा अनेक बेथितिका चाङ छन् । भ्रष्टाचार व्याप्त छ । असमानताको ठूलो खाडल छ । विभेदको अग्लो पर्खाल छ । राजनीतिक अस्थिरता विद्यामान छ । युवा जनशक्ति पलायन बढ्दो छ । यो युवा पलायनको पहिरो रोकिने देखिँदैन । झन्झन् बढ्दैछ । देश विकासमा भूमिका खेल्नुपर्ने युवाशक्ति देशमै भविष्य देख्न छाडेका छन् । देशको राजनीति अझै हजुरबा पुस्ताद्वारा अपहरित छ । देशको राजनीति र राज्य व्यवस्थाप्रति जनआक्रोश छ । कर्मचारीतन्त्र जनमुखी हुन सकेको छैन । न्यायमूर्ति मानिने न्यायलयमै न्याय हराएको छ ।

राज्यको चौथो अंग भनिने मिडिया प्रश्नविहीन भएको छ । यस्तो लाग्छ, वर्तमान अव्यवस्थाले एउटा ठूलै राजनीतिक बाढी पहिरो पर्खिरहेको छ । फेरि, अर्को जनआन्दोलन पर्खिबसेको छ । एआई युगको ‘जेनेरेसन जेड’ भनिने नयाँ पुस्ता अब जुर्मुराएको छ । नेपालमा २००७ सालको परिवर्तनदेखि २०६२–०६३ को जनआन्दोलनसम्मको परिवर्तनलाई फर्केर हेर्दा हरेक एक दशकमा कुनै न कुनै रूपमा आन्दोलन र स्वरूपमा परिवर्तन भएको छ । २००७ सालमा जहाँनिया राणा शासन अन्य भएर नेपालमा प्रजातन्त्र प्राप्ति भयो । त्यसपछि नेपाली जनताले प्रत्यक्ष निर्वाचनमार्फत सरकार बनाए । तर, जननिर्वाचित सरकारमाथि ‘कु’ गरेर २०१७ सालमा राजा महेन्द्रले आफ्नो शासन सत्ता आफ्नो हातमा लिए । चाहे २०३६ सालको जनमत संग्रह होस्, २०४६ को परिवर्तन नै किन नहोस् ।

२०५२ सालमा माओवादीले सुरु गरेको दशवर्षे जनयुद्ध । २०६२–०६३ को जनआन्दोलनसम्म आइपुग्दा विभिन्न परिवर्तनहरू आए । यतिसम्म २४० वर्ष पुरानो राजतन्त्रसमेत जनताकै आन्दोलनमार्फत इतिहास भएको छ । राजतन्त्रको औपचारिक समाप्तिपछि देशमा २०६५ सालमा गणतन्त्र स्थापना भयो । २०७२ सालमा विश्व कै उत्कृष्ट दाबी गरिएको संविधान जारी भयो । संविधानको व्यवस्थाअनुसार उच्चतम् व्यवस्था मानिएको संघीय प्रणाली लागू गरियो । यो व्यवस्थाले जम्मा दोस्रो कार्यकाल तेस्रो वर्ष मात्रै पार गरेको छ । शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार गाउँगाउँमा सिंहदरबार पुग्यो । न त जनताले प्रत्यक्ष रूपमा अनुभूत गर्न पाए ।

न त कूनै परिवर्तन नै हुन सक्यो । यो आक्रोशको सन्देश नयाँ पुस्ताले २०७९ को निर्वाचनबाटै दिएको थियो, नयाँ अनुहारलाई रोजेर । त्यो पुस्ता अब मुखरित हुन थालेको छ । अहिलेसम्म सत्ता र राजनीतिदेखि बाहिरै रहेको ‘चुप पुस्ता’ले आफ्नो मौनता तोडेको छ । राजनीति र राज्य व्यवस्थाले अति नै गरेपछि त्यो पीडा सहन नसकेर चुप पुस्ता बोल्न थालेको हो । यसले देशमा ठूलै तरंग ल्यायो । राजनीतिक कोर्स नै परिवर्तन गरिदियो ।

के हो ‘नेपो बेबी’ अभियान ? कसरी सुरु भयो ?

‘नेपो बेबी’ अर्थात् ‘नेपो किड’ अभियान नेपोटिजम ‐परिवारवाद)सँग सम्बन्धित छ । यो ‘नेपो बेबी’ शब्द नेपोटिजम बेबीको संक्षिप्त रुप हो । यो शब्द आफ्नो क्षमताभन्दा बढी, केवल आफ्ना आमाबुबा वा परिवारको हैसियतको कारण पाउने असीमित मौकासँग लक्षित छ । खासगरी त्यस्ता व्यक्तिलाई सम्बोधन गर्न प्रयोग र चर्चामा आएको हो, ‘नेपो बेबी’ । आफ्नो परिवार, नातागोता वा सम्बन्ध भएकाले मात्रै अवसर पाउने प्रवृत्तिविरुद्धको आलोचना गर्ने अभियान हो । विशेषगरी मनोरञ्जन क्षेत्र ‐फिल्म, संगीत, फेसन) राजनीति र खेलकुदमा देखिने यो प्रवृत्तिलाई लिएर ‘नेपो बेबी’ भन्ने शब्द चर्चित भएको हो ।

तर यो अभियान जबदेखि सुरु भयो, जुन देशबाट सुरु भयो, राजनीतितर्फ बढी लक्षित देखिन्छ । ‘नेपो बेबी’ शब्द सन् २०२२–२०२३ तिर अमेरिकामा निकै चर्चित भयो । विशेषगरी न्यूयोर्क म्यागजिनले सन् २०२२ को अन्त्यतिर ‘इयर अफ द नेपो बेबी’ अर्थात् नेपो बेबीको वर्ष भन्ने कभर स्टोरी छापेपछि भाइरल भएको हो । त्यहाँ धेरै हलिउड कलाकारका छोराछोरीहरूलाई खुलेयाम चिनाइएको थियो । बिस्तारै सामाजिक सञ्जाल विशेषगरी टिकटक, इस्टाग्राम र एक्समार्फत विश्वर फैलियो । पछिल्लोपटक यो अभियान इन्डोनेसियामा व्यापक भयो । एन्डोनेसियामा यो शब्द राजनीतिक परिप्रेक्ष्यमा विशेष फैलियो । जब राष्ट्रपति जोको ‘जोकोवी’ विडोडोका छोरा ‘जिब्रान राकाबुमिङ राका’लाई उपराष्ट्रपति पदको उम्मेदवार बनाइयो ।

उनी राष्ट्र प्रमुखको छोरा हुनुका नाताले अनुचित लाभको पदमा उम्मेदवार बन्न पुगे । जसले पिताको प्रभावको आडमा त्यो अवसर प्राप्त गरेका थिए । कानुनमा गरिएको विशेष अपवर्जनको लाभ उठाउँदै राजनीतिक पथमा अघि बढेपछि त्यहाँ जेनजी पुस्ताले विरोध जनायो । देशैभरी आन्दोलन फैलियो । यो अभियानलाई चर्चामा ल्याउन मिडियाले समेत भूमिका खेलेका छन् । अल जजिरा जस्ता मिडियाले जिब्रानलाई नेपो बेबीका रूपमा उल्लेख गरे । त्यसपछि विश्वसनीय विश्लेषकहरू, राजनीतिक टिप्पणीकारहरू र स्थानीय सामाजिक सञ्जालले यो मुद्दालाई उठाउन थाले । उम्मेदवारीले राजनीतिक वंशवाद एवं लोकतन्त्रमा असर पु¥याउने सम्भावना छ । यसले अहिले यसले बेबी नेपोटिजमको स्वरूप प्रस्तुत गर्छ ।

नेपालमा ‘नेपो बेबी’ अभियान– भ्रष्टाचार र शीर्ष नेता केन्द्रित

नेपो बेबी अभियान नेपाल प्रवेश गरिसकेको छ । नेपालमा यो अभियान इन्डोनेसिया, फिलिपिन्स हुँदै प्रवेश गरेको हो । नेपालमा यो अभियान जेनजी पुस्ताले सतहमा ल्याएका हुन् । जसै सरकारले सामाजिक सञ्जाल बन्दको निर्णय ग¥यो । यो अभियान विशेषगरी टिकटकमा भुसको आगो झैँ फैलियो । उनीहरूले शीर्ष दलका छोराछोरी, नातेदारलाई केन्द्रमा राखेका छन् । उनीहरूको विलासी जीवनशैलीको भण्डाफोर गरेका छन् ।

सञ्जाल प्रयोगकर्ताहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाको छोरा जयबीर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी गंगा र रेनुसँगै उनीहरूका छोरीहरू, एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला खतिवडा, काँग्रेस गण्डकीका सांसद तथा मन्त्री विन्दुकुमार थापाको छोराको तस्बिर सार्वजनिक गरिरहेका छन् ।

यसैगरि, एमाले नेता महेश बस्नेतको छोरी, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको सन्तान, नेपाल टेलिकमकी महाप्रबन्धक संगीता पहाडीका सन्तान लगायतले सामाजिक सञ्जालमा राखेका वैभवशाली र सम्पन्न जीवनशैली र गतिविधिका भिडिओ र फोटो सार्वजनिक गरिरहेका छन् ।
उनीहरू वंशवाद वा पारिवारिक पहुँचबाट लाभ उठाउने सन्तानको रूपमा व्याख्या गरिएको छ । ‘नेपो बेबी’ अभियानमा संलग्नहरूले उनीहरूको यति महँगो जीवनशैलीको स्रोतबारे निरन्तर प्रश्न गरिरहेका छन् । आन्दोलनको क्रममा नेताहरूका आलिसान महलहरूलाई जसरी आगो झोँसियो । त्यो वर्षौँदेखि लुप्त अवस्थामा रहेको युवा आक्रोशको परिणाम हो । अब नेताहरू कि सच्चिनुपर्छ । कि त राजनीतिक रूपमा सन्यास दिनुको विकल्प छैन ।

अबको बाटो ?

भदौ २३ र २४ गतेको आन्दोलनले राजनीतिक रूपमा उथलपुथल ल्याइदियो । सत्ता परिवर्तन भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिसकेका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । केही दिनको राजनीतिक शून्यताबाट देश माथि उठिसकेको छ ।

अब जेनजीहरूले उठाएको मागमा केन्द्रित हुनुपर्छ । सबैभन्दा पहिलो भदौ २३ गतेको आन्दोलनमा राज्यस्तरबाट जे जती बर्बरता भयो । १९ जनाको विद्यार्थी र युवाको हत्या गरियो । उक्त घटनाको निष्पक्ष छानबिन र दोषिमाथि कारबाहीको लागि अधिकार सम्पन्न आयोग गठन गर्न विलम्भ गर्नुहुँदैन । २४ गतेको राज्यका संरचना आगजनी, तोडफोड र लुटपाटको समेत निष्पक्ष छानबिन हुनुपर्छ ।

जेनजीहरूले उठाएका मुद्दामध्ये २०४६ पछि मन्त्रीदेखि प्रधानमन्त्री भएका राजनीतिक दलका नेताहरूको सम्पत्तिको छानबिन र सम्पत्ति राष्ट्रियकरणका लागि उच्चस्तरीय आयोग बन्नुपर्छ । वर्तमान संविधान र प्रणालीमा रहेका त्रुटि सच्याउनुपर्छ । विद्यमान राजनीतिक दलको मुख्य नेतृत्व परिवर्तनको दबाब बढ्दो छ । राजनीतिक दलका युवा नेताहरूले हस्तक्षेपबाहेक अर्को विकल्प देखिँदैन । यो देशको युवाको काँधमा आइसकेको छ । अब जिम्मेवार ढंगले एकताबद्ध भएर अघि बढ्नुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार