लघु समीक्षाः बुँदा कवितामा भोटिया



प्रा.डा. कपिल लामिछाने

बुँदा कविता सुन्दै नौलो लाग्छ । यो नौलो प्रयोग नै हो । यसका प्रयोगकर्ता हुन्– निमा छिरिङ भोटिया । भोटियाले यसअधि टुक्का कविता र तत्काल कविताको पनि सिर्जना गरेका छन् । बुँदा कविता (सन् २०२४) शीर्षकको यो बुँदा कविताको सँगालो उनको पहिलो प्रकाशित कृति पनि हो । बुँदा कविता कविताको एउटा सूक्ष्म विधा हो । विचार, भावना, अनुभव र अनुभूतिलाई अत्यन्त छोटो वा सङ्क्षेपमा प्रभावकारी तरिकाले प्रस्तुत गरिने विधालाई सूक्ष्म विधा भनिन्छ । बुँदा कविता एउटा यस्तै सूक्ष्म विधाका रूपमा प्रयोग र प्रस्ताव गरिएको विधा हो । साइनो, झर, शीत, बाछिटा, कोपिला, डाली, झिल्का, टुक्का, अणु कविता, गेडी, सुसेली, छेस्का आदि नेपाली कविताका सूक्ष्म रूपका रूपमा प्रयोग हुँदै आएका छन् । यही लाममा बुँदा आइपुगेको छ, निमा छिरिङ भोटियालाई जनक बनाएर ।

कालेबुङको जलढका, कमला बगानमा सन् १९७५ अक्टोबर १८ मा जन्मेका निमा छिरिङ भोटिया शिक्षक र साहित्य साधक हुन् । बुँदा भनेको कुनै विषयको मुख्य कुरा हो भने मुख्य मुख्य बुँदा टिपेर गरिने अभिव्यक्तिलाई बुँदाटिपोट भनिन्छ । यहाँ भने कुनै एउटै विषयका पाँच मुख्य मुख्य बुँदामा गरिएको काव्यिक अभिव्यक्तिलाई बुँदा कविता भन्ने सिद्धान्त अघि सारेर सोही आधारमा कविता प्रस्तुत गरिएको छ । यसलाई भोटियाले नेपाली कविता साहित्यमा नभएको एउटा नौलो उप विधाको रूपमा आफूले बुँदा कविताहरूको सिर्जना गरेको दाबी गरेका छन् ।

उनका अनुसार बुँदा कविता मुख्य एक विषयशीर्षकमा हुन्छ र शीर्षक एकशब्दे हुन्छ, यो पाँच हरफको मात्र हुन्छ र हरेक हरफले कवितालाई मुख्य रूपमा स्पष्ट पार्दछ, कविताको पहिलो हरफमा दुई शब्द हुन्छन्, तीमध्ये पहिलो शब्दमा ‘को’ प्रत्यय लागेको हुन्छ, दोस्रो हरफमा तीन र तेस्रो हरफमा चार शब्द हुन्छन्, चौथो हरफमा तीन या चार या पाँच शब्दहरू हुन सक्छन् भने पाँचौँ हरफमा पाँच शब्दहरू मात्र हुन्छन् । हरेक हरफले शीर्षकको मुख्य कुरा बोकेको हुनुपर्दछ । यसबाट छन्द कवितामा गण या मात्राको तथा हाइकु आदिमा अक्षरको गणना भए झैँ यसमा शब्दको गणना हुने देखिन्छ । गण, मात्रा र अक्षरको गणनाभन्दा शब्द र हरफको गणना धेरै सरल देखिन्छ । लय र तुक वा अनुप्रासको कुनै आग्रह देखिँदैन । यहाँ यस मान्यताअनुसार लेखिएका ‘भोलि’ र ‘अधिकार’ शीर्षकका उनका दुई बुँदाको नमुना दिइएको छ ।

भोलि

आजको विपरीत ।
कहिले नहुने पल ।
भन्नु सजिलो कहिले नभेट्ने ।
भोलि भन्ने लक्ष्यमा कहिले नपुग्ने ।
भन्नुमा स्वादिलो तर भेट्न असम्भव ।

अधिकार

हकको नाम ।
संविधानमा लेखेको नियम ।
कर्तव्य गर अधिकार खोज ।
समान अधिकार सबैले पाएको छ ।
अधिकार खोज्न अघि कर्तव्य गर ।

यहाँ क्रमशः दुई, तीन, चार, पाँच र पाँच शब्द रहेका छन् र हरेक हरफले मुख्य विषयशीर्षक भोलि र अधिकारका बारेमा अभिव्यक्ति दिएका छन् । यहाँ यस्ता १०२ विषयशीर्षकका बुँदा कविता प्रस्तुत गरिएको छ । समग्रमा यी बुँदाले समसामयिक जीवन भोगाइलाई चोटिलो अभिव्यक्ति दिएका छन् । भन्न र टिकाटिप्पणी गर्न जति सजिलो छ, गर्न र त्यसमा पनि नयाँ सिर्जना गर्न त्यत्तिकै कठिन छ । उही सगरमाथा पुग्न सक्छ, जसले नयाँ सोचका साथ कठिन कार्य गर्छ । मैले भोटियालाई यस्तै एक साहसी यात्रीका रूपमा लिएको छु । विचार, भावना र अनुभवलाई बुँदात्मक तथा उत्तरोत्तर लम्बित सूक्ष्म कविता बुँदा कविताको अवधारणा र प्रथम प्रयोग भोटियाबाट भएको छ । सबै प्रयोग चिरस्थायी र सफल नहुन सक्छन् । त्यो पछिको कुरा हो । अहिले भने नेपाली कवितामा एउटा नयाँ स्वाद पाइएको छ र एउटा इँटा थपिएकै छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार