‘म गल्ली गल्ली रुँदै हिँडेकी छु । मेरो छोराको हत्यारालाई सजाय दिन अल्लाहसँग प्रार्थना गरिरहेकी छु,’ आमा रावियाले भनिन् । अहिले छोरालाई न्याय माग्न जाँदा प्रहरीले उल्टै हप्काएर पठाउने गरेको भन्दै राविया झन् विक्षिप्त बनेकी छन् । १० महिना बित्दा पनि दोषी समात्न नसक्नु, आशंका लागेका व्यक्तिलाई समातेर छोडिदिनु, न्याय माग्न जाँदा उल्टै प्रहरीले हप्काउनुले परिवार र स्थानीयहरू चितिन्त बनेका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
२०८० साल चैत १८ गते हत्या गरिएका नेपालगन्ज उपमहानगरपालिका–२१ विर्ताका अरबी खाँकी आमा राविया खाँ मंगलबार नेपालगन्जको धम्बोझी चोकमा सडकमै बसेर भक्कानिएर रोइरहेकी थिइन् । पछिल्ला १० महिनायता रावियाका आँखा ओभाना छैनन् । ‘म गल्ली गल्ली रुँदै हिँडेकी छु । मेरो छोराको हत्यारालाई सजाय दिन अल्लाहसँग प्राथना गरिरहेकी छु,’ राविया भन्दै थिइन् ।
भर्खर २० वर्ष पुगेका छोरा अरबी रमजानको रोजा तोडेर साँझ ११ बजेतिर घरबाट साथीसँग जान्छु भनी निस्केका थिए । तर, त्यसयता उनी घर फर्किएनन् । बिहानपख उनको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घरबाट केही पर सडक छेउमा शव फेला परेको थियो ।
यसबीचमा राविया छोराको न्यायका लागि प्रहरीकहाँ धाएको धायै छिन् । परिवारले हत्या भएको दिन छोरासँगै रहेका एक व्यक्तिमाथि आशंकामा प्रहरी कार्यालयमा जाहेरी दिए । तर, ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले समातेर पनि छोडिदियो । अर्काेतिर दोषी को हो ? भन्ने पनि बाँके प्रहरीले सार्वजनिक गर्न सकेन । अहिले छोरालाई न्याय माग्न जाँदा प्रहरीले उल्टै हप्काएर पठाउने गरेको भन्दै राविया झन् विक्षिप्त बनेकी छन् ।
उनले भनिन्, ‘हत्यारा छिटो समाइदिनुप¥यो भन्दा एसपीले धेरै बोल्यौ भने यो केशलाई यस्तरी दबाइदिन्छु कि तिमीहरूले कहिल्यै न्याय पाउन सक्दैनौ भन्दै धम्काए ।’ १० महिना बित्दा पनि दोषी समात्न नसक्नु, आशंका लागेका व्यक्तिलाई समातेर छोडिदिनु, न्याय माग्दा जाँदा उल्टै आफूहरूलाई हप्काउनुले प्रहरी दोषीसँग मिलेको, पैसा वा पावर (राजनीतिक संरक्षण) को प्रभावमा परेको आशंका रावियाको छ ।
‘यति मात्रै होइन आशंका लागेका व्यक्तिले गाउँमा कसैले मेरो विरुद्व बोलेमा ठिक हुँदैन । झुटा मुद्दामा फसाइदिन्छु भनेर धम्की दिँदै हिँडेका छन्,’ रावियाका छिमेकी अब्दु्ल वाहिद खानले भने ।
अरबीका पिता करम खाँ पनि केही दिनअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाँदा एसपीले आफूलाई अपमानित तवरले हप्काएको बताए । ‘अस्ति मात्रै म एक्लै एसपी सरलाई भेट्न गएको थिएँ । माथि छतमा हुनुहुन्थ्यो । मैले नमस्कार गरेँ । उहाँले मलाई देख्नेबित्तिकै उता जाउ उता भन्दै हप्काउनुभयो,’ करमले भने ।
मंगलबार अरबीको गाउँ विर्ताका स्थानीयहरू प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरिरहेको, पैसा र शक्तिको प्रभावमा परेर पीडितलाई नै पीडा दिइरहेको र दोषीलाई संरक्षण गरिरहेको आरोप लगाउँदै नेपालगन्जमा सडकमै उत्रिएका थिए । उनीहरूले केहीबेर सडकमा सवारी साधन आवतजावत बन्द गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरे । प्रदर्शनमा उत्रिएका स्थानीयहरूको एक स्वर थियो, ‘हामीलाई सद्धन भनिने मेराज खाँ नै दोषी हो भन्ने आशंका छ । तर, उसलाई प्रहरीले समातेर पनि छोडिदिएको छ ।’
अरबीका साथी तथा छिमेकीहरू पनि हत्या भएको दिन अरबी सद्धन भनिने मेराज खाँको साथमा रहेको बताउँछन् । छिमेकी अब्दुल वाहिदले मेराज हत्या भएको दिन अरबीसँगै रहेको र प्रहरीले समात्न खोज्दा भाग्दाभाग्दै पक्राउ परेको बताए । तर मेराजलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा दायर गरेर केही दिनमै छोडिदिएको उनले बताए ।
केही दिनअघि स्थानीय एक गर्भवती महिलामाथि आक्रमण गर्न लगाउने व्यक्ति पनि मेराज नै रहेको र उनको बदमासीका कारण विर्ता गाउँ नै आतंकित अवस्थामा रहेको आन्दोलनमा उत्रिएका स्थानीयहरू बताउँछन् । ती व्यक्तिले आफ्नो विरुद्वमा बोले नराम्रो हुने भन्दै धम्क्याउँदै आए पनि प्रहरीले भने उनलाई पक्राउ गर्न नचाहिरहेको उनले आरोप लगाए । ‘नभए दोषी को हो ? सार्वजनिक गर’ भन्ने आफूहरूको मागमा प्रहरी उदासीन बनेको स्थानीयहरूको आरोप छ ।
प्रहरी भन्छ, ‘उक्त केशमा राजनीति भयो’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की उक्त केश (घटना) मा राजनीति भएको बताउँछन् । दुईवटा राजनीतिक खेमामा बाँडिएर एकले अर्कोलाई आरोप लगाउने काम भइरहेको उनले बताए । ‘एउटा पक्षले अर्काेको पक्षकालाई थुन्नुपर्छ भन्ने, प्रमाणले नपुगेको अवस्थामा छोडिदिँदा प्रहरीलाई नै प्रभावमा परेको आरोप लगाउने काम भइरहेको छ,’ एसपी कार्कीले मिसन टुडेसँग भने ।
यसबीचमा प्रहरीले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्राविधिक सहयोग पनि लिएको थियो । तर, सीआईबीको अनुसन्धानबाट पनि दोषी यकिन हुन नसकेपछि मुद्दा अदालतमा लैजान नसकिएको एसपी कार्कीले बताए । उनले भने, ‘सीआईबी नै आएर, अनुसन्धान गरेर पनि दोषी यकिन गर्न सकिएन ।’
एसपी कार्कीका अनुसार पीडित पक्षले आरोप लगाइरहेका व्यक्तिको पनि पोलिग्राफ टेस्टसमेत भएको थियो । त्यसबाट पनि दोषी नै हो भनेर भन्न नसकिएको कार्कीको भनाइ छ । कार्कीले भने, ‘प्रमाण नपु¥याएरै यदि अदालतमा लैजाने हो भने भोलि अदालतले प्रमाणका आधारमा फैसला गर्छ । प्रमाणले पुगेन भने दोषी प्रमाणित नै नहुन सक्छ । वास्तविक दोषी उम्किन सक्छ । त्यसकारण हामी यसमा गम्भीर भएर अनुसन्धान गरिरहेका छौँ ।’
एसपी कार्कीले पीडितहरूले पैसा र पावरको प्रभावमा परेको भनेर लगाएको आरोप पनि ठाडै अस्वीकार गरे । उनले भने, ‘प्रहरीको काम नै अपराधीलाई अदालतमा पु¥याएपछि देखिने हो । त्यसमा पनि प्रभावमा परेर अपराधी समातेन भन्नु आफैँमा गलत छ ।’
अहिले पनि बाँके प्रहरीले सीआईबीको प्राविधिक सहयोग लिएर उक्त घटनाका विषयमा अनुसन्धान गरिरहेको एसपी कार्कीले बताए । यसबीचमा सयाँै व्यक्तिलाई समातेर अनुसन्धान गर्ने, बयान लिने काम भएको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्