दाङ ।
दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो कार्यको थालनी गरेका हुन् । गत असोज ५ गतेदेखि सुरु भएको हेल्प डेस्क प्रभावकारी रहेको उनले बताए । अघिपछि पनि जनताका गुनासा सुन्ने र नागरिकलाई सहजीकरण गर्ने काम हुँदै डेस्क सञ्चालन गरेपछि बढी सेवाग्राही आउने र गुनासा राख्ने गरेका प्रजिअ लम्साल बताउछन् ।
‘हरेक दिन हेल्प डेस्कमा बस्छु’, उनले भने । गुनासा सम्बोधन गर्न आफैँ अग्रसर भई सेवाग्राहीका समस्या समाधान गर्ने गरेको प्रजिअ लम्सालले बताए । अन्य कार्यालयको सहयोग लिएर सहजीकरण गर्ने कामसमेत गर्दै आएको उनको भनाइ छ । प्रजिअ आफैँ हेल्प डेस्कमा उपस्थित हुँदा नागरिकले पनि सहज रूपमा आफ्नो कुरा राख्न पाएका छन् ।
लमही नगरपालिका–१ की सुमित्रादेवी जैशी हेल्प डेस्कमा प्रजिअलाई भेटेर आफ्नो समस्या राख्न पाएकामा खुशी लागेको बताउछिन् । ७६ वर्षीया जैशी घर परिवारबाट अपहेलित भएर आफ्नो समस्या सुनाउन गएकी थिइन् ।
‘ छोराको तीन वर्ष अघि मृत्यु भयो, अहिले बुहारीको साहाराबाट पनि वञ्चित भएँ, अहिले एक्लै बस्दै आएकी छु”, हेल्प डेस्कमा उनले समस्या प्रजिअलाई सुनाउँदै भनिन् ।
जैशी जस्तै घोराही उपमहानगरपालिका–१९ बोल्दीका रुपलाल खड्का पनि नागरिकता पाउनबाट वञ्चित भएको कुरा हेल्प डेस्कमा राख्दै थिए । आफ्नो समस्या समाधान हुनेमा उनी आशावादी देखिन्थे ।
जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा भेटिएका घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्थानीय नागरिकको समस्या लिएर आएको बताए । हेल्प डेस्कमा प्रजिअसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या सेवाग्राहीले राख्ने वातावरण बनेकामा नागरिकलाई सहज भएको उनको बुझाइ थियो । यसबाट भविष्यमा सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्