संघीयता खारेज हुन्छ : अध्यक्ष केसी



बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाली जनताले प्रदेश धान्न नसक्ने बताउँदै अध्यक्ष केसीले समयमा प्रदेश खारेज गर्न नसकिए प्रदेशले देश खारेज गर्न सक्ने बताए । संघीय प्रणाली आफैँमा बेठीक नभए पनि नेपालको हकमा संघीयता नचाहिने र अहिले संघीयता घाँडो भइसकेको बताए ।

आगामी चैत २४ गतेदेखि ३० गतेसम्म संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनबारे जानकारी गराउने उद्देश्यले राष्ट्रिय जनमोर्चा रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले संघीयताका कारण देश कमजोर भइसकेको दाबी गरे ।

सांसदसमेत रहेका अध्यक्ष केसीले प्रदेश चलाउन वार्षिक २ खर्ब खर्चले जनतालाई शिक्षा र स्वास्थ्यमा सेवा दिन सकिने बताउँदै संघीयता बोक्नेहरू अब संघीयता अनुसारको प्रदेश चलाउन सकिन्न भन्नेमा पुगेको र अहिले उनीहरू बोल्न मात्रै नसकेको बताए ।

हिमाल र पहाडलाई अलग गराउने गरी आएको एक मधेश एक प्रदेश र संघीयता नेपालको हितमा नभएको बताउँदै अन्तरिम संविधान बनाउने बेला नै राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गरेको उल्लेख गर्दै अध्यक्ष केसीले भने, ‘उतिखेर नेपाली जनताले बुझेनन् अहिले जनताले बुझ्दै गएकाले संघीयताको विरुद्ध अब जनता सडकमा आउँछन् ।’

जनताको बलमा राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै जनता सचेत भइसकेकाले संघीयता पनि खारेज गर्न सक्ने बताउँदै संघीयताविरुद्ध जनतालाई पत्रकारहरूको साथ चाहिने बताए ।

पत्रकारहरूको ठूलो योगदानले राणा शासन, पञ्चायत र राजतन्त्र फालेर यो व्यवस्था आएकाले अब संघीयता खारेजका लागि पनि पत्रकारहरूलाई सहयोग गर्न अध्यक्ष केसीले आग्रह गरे । आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँमा हुने संघीयता विरुद्धको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै आन्दोलन सफल पार्न सबैको सहयोग चाहिने उनले बताए ।

२०६६ सालमा काठमाडौँमा गरिएको संघीयताविरुद्धको आन्दोलनमा साथीहरूको नाक काटिएको भन्दै अब पनि संघीयताविरुद्धको आन्दोलनलाई कमजोर बनाउन खोजिए त्यसको प्रतिकार गरेर अघि बढ्ने चेतावनी दिए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले संघीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रियतामा आधारित एकात्मक व्यवस्था नै नेपालका लागि ठिक हुने बताए । अहिलेका प्रदेश सरकार खारेज गरेर मन्त्री, सांसदबिनाको केन्द्र र स्थानीय तहलाई समन्वयका लागि सानो प्रसाशनिक निकाय बनाउन सकिने उनको भनाइ छ ।

सक्ता र शक्तिमा बस्नेहरूले राजनीतिलाई कमाइखाने भाँडो बनाएकाले दलका नेता र राजनीतिप्रति जनतामा वितृष्णा बढेको अध्यक्ष केसीले बताए । ‘आफूलाई ठूलो पार्टी भन्नेहरूले सत्ता र शक्तिको आडमा भ्रष्टाचार गरेर पुस्तौँपुस्तालाई पुग्ने सम्पत्ति कमाए,’ अध्यक्ष केसीले भने, ‘अब सत्ता र शक्तिको आडमा मोजमस्ती गरेकालाई जनताले ठेगान लगाउन जरुरी छ ।’

सत्ता र शक्तिको आडमा सहकारी लुट्ने काम भएको भन्दै उनले आफूले गरेका अनियमितता जोगाउन नै रवि लामिछाने पटक–पटक गृहमन्त्री बनेको आरोप लगाए । राष्ट्रिय जनमोर्चाले काठमाडौँ केन्द्रित आन्दोलनका लागि जिल्ला–जिल्लामा संगठन विस्तार, भेला, गोष्ठी र पत्रकार सम्मेलनलगायतका कार्यक्रम गर्दै आएको छ ।

संघीयता विरुद्धको काठमाडौँ केन्द्रित आन्दोलन सफल पार्न सदस्यता वितरण, संगठन विस्तार, भित्तेलेखन, भेटघाट र अन्तक्र्रिया जस्ता कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चा रूपन्देही अध्यक्ष टानबहादुर केसीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार