श्वासप्रश्वास प्रणालीमा मात्र नभएर शीतलहरले गर्दा शरीरका विभिन्न अंगहरूमा समस्याहरू हुने गर्दछन् । बच्चाहरू, वृद्धहरू, गर्भवती एवम् सुत्केरी महिलाहरू तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा निमोनिया, दम रोग र श्वासप्रश्वास नली र फोक्सोमा किटाणुको संक्रमणको जोखिम बढ्ने गर्दछ ।
१. शीतलहर भनेको हे हो ?
– शीतलहर भनेको प्रदूषित हावा र पानी बाफ अथवा बरफको सानोसानो कणकोे समिश्रण हो ।
यसलाई जमिनको सतहसँग छुने बादलको रूपमा पनि मानिने गरिन्छ । तराईमा जाडोमा हुस्सु लाग्ने, घाम नलाग्ने, सिरसिर चिसो हावा चल्ने, बढी शीत पर्ने र नसुकेर ओसिलो भइराख्ने मौसमी अवस्था हुन्छ, यसलाई पनि शीतलहर भनिन्छ ।
२. शीतलहर किन र के कारणले पर्दछ ?
– शीतलहर जब वातावरणको हावाको तापक्रम र वातावरणमा रहेको पानीको बाफको बीचको तापक्रम २.५ डिग्रीभन्दा कम हुन जान्छ त्यसपछि पर्ने गर्दछ ।
विभिन्न अध्ययनका अनुसार भारत, बंगलादेश, नेपालका मैदानी भू–भागमा हुने शीतलहर वायु प्रदूषणका कारण भएको पाइन्छ भने नेपालमा हालसम्म यसको अध्ययन हुन सकेको छैन ।
३. शीतलहरमा के–के हुन्छ ?
– शीतलहरमा प्रदूषित हावा, धुलाका सानासाना कणहरू र पानीको बाफ मिसिएको हुन्छ ।
४. शीतलहरले मानिसको स्वास्थमा के कस्ता असरहरू गर्ने गर्दछ ?
क. शीतलहरले मानिसको स्वास्थमा निम्नलिखित असरहरू गर्ने गर्दछ
- श्वासप्रश्वास प्रणालीमा मात्र नभएर शीतलहरले गर्दा शरीरका विभिन्न अंगहरूमा समस्याहरू हुने गर्दछन् ।
- बच्चाहरू, वृद्धहरू, गर्भवती एवम् सुत्केरी महिलाहरू तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा निमोनिया, दम रोग र श्वासप्रश्वास नली र फोक्सोमा किटाणुको संक्रमणको जोखिम बढ्ने गर्दछ र जसको कारणले मृत्युसम्म हुने गर्दछ ।
- मानिसहरूमा नाक, मुख तथा आँखामा शीतलहर र चिसोका कारण एलर्जीहरू हुने गर्दछ ।
- शीतलहरसँगै बढेको चिसोका कारण मानिसहरूमा मौसमी फ्लु देखिएर लामो समयसम्म रुघाखोकी भइरहने गर्दछ ।
- शीतलहरसँगै बढेको चिसोको कारणले विशेषगरी उच्च रक्तचापका बिरामीहरूमा दिमागको पक्षघात र हृदयघातको जोखिम बढ्ने गर्दछ ।
- शीतलहरसँगै बढेको चिसोले गर्दा विभिन्न भाइरसहरूको संक्रमणले झाडापखला लाग्ने, पेट दुख्ने र पेट कटकटी खाने जस्ता पेटसम्बन्धी समस्याहरू देखिने गर्दछ ।
- छालमा फुस्रो पना बढ्नाले विभिन्न प्रकारका छालामा लाग्ने रोगहरू लाग्ने सम्भावना हुन्छ ।
५. शीतलहरले मानिसको स्वास्थमा असर गरेमा के–कस्ता लक्षयणहरु देखिन्छ ?
- नाक बन्द हुने र नाकबाट लगातार सिगान बगिरहने ।
- लामो खोकी लागिरहने र खोकीमा खकार पनि देखिने ।
- खोक्दा छाती दुख्ने ।
- टाउको दुखिरहने र मन्ध गतिमा भारी भइरहने ।
- ज्वरो आउने र हाछिउँ–हाछिउँ आइरहने ।
- श्वास फेर्दा गाह्रो हुने र आवाज आउने ।
- आँखाबाट पानी बग्ने र आँखा पोल्ने ।
- बच्चाहरूमा कोखा हान्ने र श्वास फेर्दा घ्यार् घ्यार् आवाज आउने ।
- छालामा फुस्रोपना देखिने ।
६. शीतलहरबाट कसरी बच्ने ?
- अत्यावश्यक कामबाहेक सकभर शीतलहरको बेला घर बाहिर ननिस्कने ।
- तातो झोलिलो पदार्थहरूको प्रयोग गरेर शरीरको तापक्रम कायम राख्ने ।
- शरीर ढाकिने गरी न्यानो कपडाको प्रयोग गर्ने ।
- घरबाट बाहिर निस्कनु परेमा टाउको र मुख ढाकिने गरी मास्क र टोपी अनिवार्य रूपमा प्रयोग गर्ने ।
- दीर्घरोगी, गर्भवती एवम् सुत्केरी महिलाहरू, बच्चाहरू र वृद्धवृद्धाले नियमित रूपमा लगाउने भ्याक्सिन र औषधीहरूको सेवन गरी विशेष ख्याल गर्ने ।
- सामान्यतय रुघाखोकी लागि हालेमा साझ सुत्नुपूर्व तातो पानीको बाफ अनिवार्य रूपमा लिने ।
- ताजा र तातो खाने कुराहरूको सेवन गर्ने र यस्ता खाने कुराहरूमा बढी प्रोत्साहन गर्ने ।
- छालालाई फुस्रोपनाबाट बचाउन छालामा नरिवलको तेल अथवा भ्यासलिनको प्रयोग गर्ने ।
- धुम्रपान र मध्यपानको प्रयोग नगर्ने ।
- घरभित्रै बसेर शरीरिक व्यायाम तथा कसरत गर्ने ।
- लगातार लामो समयसम्म रुघाखोकी लागेमा, हाछिउँ आएमा, ज्वरो नरोकिएमा तुरुन्तै नजिकैको चिकित्सकसँग परामर्श गरेर उपचार गर्ने ।
(लेखक भेरी अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक हुन् ।)
प्रतिक्रिया दिनुहोस्