आजबाट कोहलपुरमा यातायातको कार्यालय सञ्चालन हुँदै



कोहलपुरमा यातायात व्यवस्था शाखा कार्यालयको आज एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले उद्घाटन गर्दै छन् ।

कोहलपुर ।

लामो प्रतीक्षापछि कोहलपुरमा यातायात व्यवस्था शाखा कार्यालय उद्घाटन हुने भएको छ । आज एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले कार्यालय उद्घाटन गर्दै छन् ।

नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा स्थापना भएर आज उद्घाटन हुन लागेको हो । कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले यातायात शाखा कार्यालयको उद्घाटन मन्त्री न्यौपानेले गर्ने बताए । त्यसका लागि सबै तयारी पूरा भइसकेको उनले मिसन टुडेलाई जानकारी दिए ।

पुरानो बसपार्कस्थित भवनमा स्थापना भएको शाखा कार्यालयका लागि चाहिने सबै भौतिक पूर्वाधारहरू तयार पारिएका छन् । कार्यालयको रङरोगनदेखि विभिन्न कक्षहरू तयारी अवस्थामा छन् ।

शाखा कार्यालयमा तत्कालका लागि तीन जना कर्मचारीबाट सेवा सुचारु गरिने यातायात व्यवस्था कार्यालय नेपालगन्जका कम्प्युटर अधिकृत सतिशजंग शाहले बताए । उनका अनुसार शाखा कार्यालयले ब्लुबुक, लाइसेन्स नवीकरण र पटके सेवा प्रदान गर्नेछ ।

‘हाललाई तीन जना कर्मचारीबाट सेवा सुचारु गर्ने योजना छ,’ उनले भने, ‘पछि कामको चाप र आवश्यकताका आधारमा कर्मचारी थपघट हुनसक्छन् ।’ कोहलपुर शाखा कार्यालयका लागि को–को कर्मचारी खटिने भन्ने निर्णय नभए पनि छैटौँ तहका अधिकृतको नेतृत्वमा कर्मचारी टोली परिचालित हुने उनले जानकारी दिए ।

उनका अनुसार शाखा कार्यालयबाट आफूलाई पायक पर्ने सेवाग्राहीले सेवा लिन सक्नेछन् । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमलगायत पायक पर्ने जुनसुकै स्थानका सेवाग्राहीले पनि यहाँबाट सेवा लिन सक्ने उनले जानकारी दिए ।

कोहलपुरबाटै यातायातसम्बन्धी सेवा सुरु हुने भएपछि यसक्षेत्रका बासिन्दा हर्षित भएका छन् । विगतमा यातायातसम्बन्धी सानो कामका लागि पनि नेपालगन्ज धाउनुपर्ने यस क्षेत्रका बासिन्दाको बाध्यता अब अन्त्य हुने भएको छ ।

साथै कोहलपुरमा बनेको नयाँ बसपार्कबाट सबै सवारी साधन सञ्चालन हुन थालेपछि सुनसान बनेको पुरानो बसपार्क क्षेत्रमा यातायात कार्यालय स्थापनापछि यहाँ केही चहलपहल बढ्ने यहाँका व्यवसायीहरूको अपेक्षा छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार