भोलिदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव



नेपालगन्ज (बाँके) ।

नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार नेपालगन्जमा आयोजना गरेकोे पत्रकार सम्मेलनमार्फत महोत्सवको उद्घाटन प्रचण्डबाट हुने जानकारी दिएको हो ।

संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । महोत्सवको पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

आयोजकका अनुसार महोत्सवमा १ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । करिव ५० लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । करिव ३ लाख जनाले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । सांस्कृतिक उपसमितिका संयोजक मख्खन धामीले महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यब्यङ्गसहितको सांस्कृतिक प्रस्तुती रहने बताए ।

महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सलका गरी ३५० वटा स्टल हुने रहने संघका प्रवक्ता तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक डम्बरबहादुर चन्दले बताए । महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ७० रूपैयाँ र सर्वसाधारणका लागि १०० रूपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले यही माघ १० गते बिहीबारदेखि नेपालगन्ज उप–महानगरपालिका–१८ सडक डिभिजन कार्यालय परिसरमा ‘उद्योग, व्यापार कृषि जडिबुटी, रोजगार सूचना प्रविधि र पर्यटन, व्यवसायीक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव– २०८१ आयोजना गर्न लागेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार