नगरपालिकाको सिंगो बस्ती शौचालयविहीन



महोत्तरी ।

महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरूले शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय छैन । यहाँका सबै जना खुला स्थानमै शौच गर्दै आएका छन् ।

यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर ३ सय ७० जनाको जनसंख्या रहेको छ । यहाँ बसोबास गर्ने सबैले गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् ।

बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेका कारण बाबु, बाजेका पालादेखि नै सपरिवार खुला स्थानमै शौच गर्दै आएको बताए । स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरूका लागि गास, बास र कपासकै सधैँ अभाव भएकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताउँछिन् । ‘यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान त पाएका छैनन् कहाँबाट शौचालय निर्माण गर्नु ? उनले प्रश्न गर्दै भनिन् ।

सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामथ्र्य नरहेको बताइन् । शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैना देवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छी र अन्य जनावरको डर हुने गरेको दुखेसो गरिन् ।

उनका अनुसार ठूला पुरूष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन् तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनै कुनै बेला पिटाइ खानुपर्ने हुन्छ ।

प्रायः खर, पात, बाँस र बेतबाट बनाइएका घरभित्र जाडोले कठ्यांग्र्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन ।

चारैतिरै सबै कुराको अभावैअभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गा जमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेका कारण उनीहरूका लागि सार्वजनिक शौचालयसमेत निर्माण गर्न नसकिएको वडा अध्यक्ष अब्दुल गफार राइनले बताए ।

वडाध्यक्ष राईनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबै जनाको एकनासको बस्ने जग्गासमेत छैन । कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर जग्गा रहेका कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।

वडाध्यक्ष राइनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकांकमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुका साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए ।

यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकासमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद् भएको सरसफाइविज्ञ उमाशंकर यादवले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार