गत आव २०८०/०८१ मा मात्रै कर्णालीबाट लुम्बिनीका दाङ र बाँकेमा ४२ करोड ९२ लाख ५० हजार रूपैयाँबराबरको दूध निर्यात भएको छ । सो आर्थिक वर्षमा लुम्बिनीका नेपालगन्ज र बर्दियाबाट भने १ करोड ३७ लाख रूपैयाँ बराबरको दूध कर्णालीमा आयात भएको देखिन्छ । तथ्यांकले समेत पछिल्लो समय कर्णाली प्रदेश दूध उत्पादनमा आत्मनिर्भर बन्दै जान थालेको देखिएको छ ।
नन्दराम जैशी । सुर्खेत ।
पछिल्लो समय कर्णाली प्रदेश दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । कर्णालीमा उत्पादन भएको गाई, भैंसीको दूधले यहाँको बजार माग धानेर पनि बाँकी दूध बिक्री हुनेक्रम बढेको हो । कर्णालीमा उत्पादन भएको दूध बिक्रीका लागि लुम्बिनी प्रदेशका दाङ र बाँके जिल्ला मुख्य बजार क्षेत्र हुन् । विगत केही वर्षयता आयातको तुलनामा कर्णालीबाट लुम्बिनीमा दूध निर्यात बढ्दो क्रममा रहेको कर्णाली प्रदेशको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै कर्णालीबाट लुम्बिनीका दाङ र बाँकेमा ४२ करोड ९२ लाख ५० हजार रूपैयाँबराबरको दूध निर्यात भएको छ । सो आर्थिक वर्षमा लुम्बिनीका नेपालगन्ज र बर्दियाबाट भने १ करोड ३७ लाख रूपैयाँबराबरको दूध कर्णालीमा आयात भएको छ । कर्णालीमा वैशाख, जेठ र असार तीन महिना दूध कम उत्पादन हुन्छ भने बाँकी महिनामा धेरै उत्पादन हुने गरेको छ ।
निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीले पछिल्लो समय दूध उत्पादनका लागि गाई, भैँसी पालनतर्फ कृषकहरू आकर्षित हुन थालेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका ३ हजार ७ सय ७६ जना दूग्ध उत्पादक कृषकलाई १ करोड २३ हजार रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।
कृषकलाई दूध उत्पादनतर्फ आकर्षित गर्न प्रदेश सरकारले प्रतिलिटरको ५ रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । जसमा ३७ लाख ९१ हजार ४ सय २९ लिटर दूधको प्रोत्साहन रकम वितरण गरिएको हो । उक्त आवमा विभिन्न पशुपन्छीजन्य उत्पादनको निर्यातबाट कर्णाली प्रदेशले १ अर्ब ८५ करोड २० लाख ५५ हजार रूपैयाँ रकम भित्र्याएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै, चालू आव २०८१/०८२ मा दूग्ध उत्पादक कृषकहरूलाई प्रोत्साहन अनुदान रकम वितरणका लागि प्रदेश सरकारले १ करोड २७ लाख ८ हजार रूपैयाँ रकम विनियोजन गरेको छ ।
कर्णालीमा आव २०८०/०८१ मा गाईको दूध उत्पादन २४ हजार ७ सय ६० मेट्रिक टन र भैँसीको दूध उत्पादन ४६ हजार ४ सय ५७ मेट्रिक टन गरी जम्मा ७१ हजार २ सय १७ मेट्रिक टन दूध उत्पादन भएको थियो । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरका दूग्ध व्यवसायी तथा सरोकारवालाबीच संवाद कार्यक्रमका अवसरमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
‘प्रदेश स्थापनापश्चात विभिन्न कार्यक्रममार्फत कृषकहरूले व्यावसायिक गाई/भैँसी पालन गरी दूध उत्पादन वृद्धि गरिरहेका छन्,’ निर्देशक पंगेनीले भने, ‘कर्णालीका पहाडी जिल्लाहरूमा दूध उत्पादन राम्रो रहेको छ । जसबाट बाहिरी प्रदेशहरूमा निर्यात भइरहेको छ । तर उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा दूध उत्पादन पर्याप्त नहँुदा अन्य जिल्ला वा बाहिरी प्रदेशबाट आयात गर्नुपर्ने अवस्था आएको हो ।’
कर्णालीमा दूध उत्पादक कृषकहरूका लागि उत्पादन प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेको प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले दाबी गरे । सबै साना ठूला कृषकहरूले उक्त प्रोत्साहन रकम सहज रूपमा प्राप्त गर्ने हुँदा दूध उत्पादनतर्फ कृषक आकर्षिक हुने उनको अपेक्षा रहेको छ ।
‘हामी काम गरिरहेका छौँ । तर प्रगति हासिल गर्न भने अझै बाँकी छ । प्रदेश सरकारलाई जस जाने गरी कृषकहरू काम गर्नुहोस्,’ उनले भने, ‘प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ । पशुपालनमा निर्भर भएर खेती प्रणाली पनि सुधार्ने गरी काम गरे पैसा कमाउनका लागि विदेशिनु पर्दैन ।’
तर कर्णालीका कृषकहरूलाई दूध उत्पादन प्रोत्साहन कार्यक्रममा सहभागी हुन बैंक खातामा दूग्ध संकलककर्ता, डेरी, सहकारीले रकम जम्मा गरेको स्टेटमेन्ट पेस गर्ने कार्यविधिमा व्यवस्था गरिएकाले समयमै प्रोत्साहनबापतको रकम भुक्तानी लिन भने असहज हुने गरेको छ ।
समस्यासँग जुध्दै दूग्ध कृषक
कर्णालीका दूग्ध कृषकहरू सम्भावनासँगै अनेक समस्यासँग जुध्दै पशुपालनमा होमिएका छन् । नारायण नगरपालिका–६ का दूग्ध कृषक शिवराज रेग्मीले पशुको आहारा व्यवस्थापनमा सकस पर्ने गरेको बताए । उनका अनुसार पशुहरूलाई आवश्यक पर्ने आहारा जस्तै ब्रान, पिना, साइलेज तथा सन्तुलित दाना जस्ता सामग्रीहरूको निम्ति बाहिरी प्रदेशमा निर्भर हुनुपर्ने बाध्यता छ ।
‘मेहनत अनुसार कर्म पनि राम्रै हुन्छ । तर पशुको आहारा व्यवस्थापनमा सकस पर्छ,’ उनले भने, ‘मैले दैनिक १० लिटर दूध बेच्दै आएको छु । यही कमाइबाट घरखर्च सजिलै चलेको छ ।’ पशु प्राविधिकको कमीले ग्रामीण क्षेत्रमा पशुपालन गर्ने कृषकहरूलाई आवश्यकता अनुसार पशु स्वास्थ्यसम्बन्धी सेवा नपुगेको उनले बताए ।
दूधको बजार व्यवस्थापनमा कुनै समस्या नरहेको भन्दै उत्पादन बृद्धिमा जोड दिनुपर्ने सुर्खेतका दूग्ध व्यवसायी दिनेशप्रसाद आचार्य बताउँछन् । व्यवसायी आचार्यले वीरेन्द्रनगर–७ इत्राममा नमुना डेरी उद्योग सञ्चालन गरी सेवा दिँदै आएका छन् ।
‘हाल सुर्खेतमा दूध उत्पादन राम्रो छ । तर प्राविधिक समस्या र उपकरणको अभाव छ,’ उनले भने, ‘सरकारको सहयोग पाए दूध बिक्री नभएको खण्डमा दूग्धजन्य पदार्थ घिउ, पनिर र छुर्पीजस्ता उत्पादनलाई वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न तयार छौँ ।’
दूध उत्पादन सामग्री तथा दूधको ढुवानी गर्नको निम्ति यातायात अपरिहार्य हो । तर गाउँमा यातायातको कमीले दूध उत्पादन र बजारको पहुँचमा कमी ल्याएको छ । दूध उत्पादन हुने क्षेत्रदेखि बजार क्षेत्रसम्म दूध पु¥याउन यातायात र चिस्यान केन्द्र तथा डेरी उद्योग जस्ता संरचनाको कर्णालीमा अभाव छ ।
प्रतिक्रिया दिनुहोस्