शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बर्सेनि बाढी, आगलागी, हावाहुरी, लु र महामारी जस्ता विपद्बाट प्रभावित भइरहने जिल्ला हो, बाँके । जिल्लामा हरेक वर्ष खडेरी, डुबान र सडक दुर्घटनाजस्ता विपद् दोहोरिरहन्छन् । ती विभिन्न प्रकोपमध्ये शीतलहर पनि एक हो । जिल्लामा हिउँदको महिना मंसिरदेखि माघ–फागुनसम्म बाक्लो हुस्सु लाग्ने र अत्यधिक चिसो हुने गर्दछ ।
मुख्य विपद्को रूपमा रहेको शीतलहरको समस्या र यसको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ बाँके’ तयार गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको पुस ८ गते बसेको बैठकले योजना स्वीकृत गरेको समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार यसपटकको शीतलहरबाट बाँकेमा ३५ हजार घरधुरी प्रभावित हुुन सक्ने अनुमान गरिएको छ । यसैगरी, १ लाख ७८ हजार ९ सय २० जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको प्रजिअ रिजालले बताए । समितिले जिल्लाका आठवटै स्थानीय तहमा शीतलहरबाट प्रभावित हुन सक्ने घरधुरी र जनसङ्ख्यासमेत यकिन गरेको हो ।
तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाको ३५ हजार ५ सय १७ घरधुरीमध्ये ८ हजार ५ सय २४ परिवार शीतलहरबाट प्रभावित हुने अनुुमान छ । नेपालगन्जमा ४२ हजार ६ सय २० जनसङ्ख्या प्रभावित हुन सक्ने योजनामा उल्लेख छ । यस्तै, कोहलपुरमा ४ हजार १ सय ३८ घरधुरी र २० हजार ६ सय ९८ जनसङ्ख्या प्रभावित हुन सक्ने जनाइएको छ ।
यसैगरी, खजुुरा गाउँपालिकामा ३ हजार १ सय ९३ घरधुरी, १५ हजार ९ सय ६७ जनसङ्ख्या, जानकी गाउँपालिकामा १९ हजार ४ सय ४८ जनसङ्ख्या र ३ हजार ८ सय ८९ घरधुरी प्रभावित हुन सक्ने शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ ।
यस्तै, बैजनाथ गाउँपालिकामा ३ हजार ५ सय २० घरधुरी र १७ हजार ६ सय ३ जनसङ्ख्या, राप्ती सोनारी गाउँपालिकामा ३ हजार ८ सय ७२ घरधुरी र १९ हजार ६ सय ३६ जनसङ्ख्या प्रभावित हुने प्रक्षेपण छ । नरैनापुुर गाउँपालिकामा ४ हजार ४ सय २६ घरधुरी र २२ हजार १ सय ३४ जनसंख्या र डुडुवा गाउँपालिकामा ४ हजार २ सय १८ घरधुरी र २१ हजार ९१ जनसङ्ख्या शीतलहरबाट प्रभावित हुने जनाइएको छ ।
तीनवटै सुुरक्षा निकाय, आठ स्थानीय तह र अन्य सामाजिक संघसंस्था गरी ३ हजार ६ सय ३० जना जनशक्ति परिचालन गरिनेछ । यस्तै, सबै तहमा ४ सय ७५ स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ ।
शीतलहर पूर्वतयारीकै लागि जिल्ला विपद् व्यवस्थापन समितिले ८ लाख, नेपालगन्ज उपमहानगरपालिकाले २० लाख, कोहलपुर नगरपालिकाले १५ लाख रूपैयाँ आपतकालीन विपद् कोषबाट शीतलहरमा रकम उपलब्ध गराउनेछन् । जिल्लाका बैजनाथ, राप्ती सोनारी, खजुुरा, जानकी, डुडुुवा र नरैनापुुर गाउँपालिकाले १०÷१० लाखका दरले सहयोग गर्ने योजनामा उल्लेख छ ।
शीतलहर भएको समयमा शीतलहर व्यवस्थापनको अगुुवाइ गर्ने, न्यानो कपडा वितरण गर्ने, दाउरा संकलन, राहत वितरण, एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्य शिविर, विपद्सम्बन्धी सूचना तथा सचेतना र सूचना व्यवस्थापनलगायतका क्रियाकलाप गरिने उनको भनाइ छ ।
एक दशकमा शीतलहरले पारेको प्रभाव
बाँकेमा बर्सेनि शीतलहरका कारण यहाँका नागरिक प्रभावित हुने गरेका छन् । पछिल्लो दश वर्षको तथ्यांक हेर्दा बाँकेमा बर्सेनि शीतलहरको प्रकोप मध्यमदेखि उच्च स्तरमा हुने गरेको छ । विसं २०६९ देखि २०८० सालसम्मको तथ्यांक हेर्दा बाँकेमा मध्यम खालको शीतलहर लाग्ने गरेको छ ।
तथ्यांक अनुसार पछिल्ला पाँच वर्षदेखि बाँकेमा मध्यम खालको शीतलहरको प्रकोप देखिएको छ । विसं २०७५ सालमा बाँकेमा शीतलहरको उच्च प्रभाव परेको थियो । त्यतिबेला लगातार ३० दिन शीतलहर चलेको ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ बाँके’मा उल्लेख गरिएको छ ।
यस्तै, २०६९ सालमा ४५ दिनसम्म शीतलहरले प्रभाव पारेको योजनामा उल्लेख छ । जिल्लामा २०८० सालमा ७–१० दिन शीतलहरको मध्यम प्रभाव गरेको थियो भने २०७६–२०७९ सालसम्म हरेक १०–१५ दिन मध्यम खालको प्रभाव परेको जनाइएको छ । त्यसका अलावा २०७१ सालमा ७ दिन र २०७३ सालमा १० दिन मध्यम प्रभाव परेको हो । यसैगरी, २०७० मा केही दिन, २०७२ मा केही दिन र २०७४ सालमा सात दिन सामान्य प्रभाव परेको तथ्यांकमा उल्लेख छ ।
समितिले शीतलहर न्यूनीकरणको पूवतयारीस्वरूप समन्वय बैठक, स्थानीय तहमा रहेका समितिहरूलाई जनचेतनामूूलक काम गर्न लगाउने, कार्यशाला सञ्चालन, विषयगत समितिको बैठक, न्यानो कपडाका लागि सरोकारवाला निकायसँग पहल गर्ने, दाउरा व्यवस्थापन र सञ्चार माध्यमहरूमा जनचेतनामूूलक सन्देश प्रवाह गर्नेलगायतका काम सुुरु भइसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्